
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो झोलुङ्गे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ।
उक्त पुल निर्माणको गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेका थिए। बिहीबार उनले नै उक्त पुलको उद्घाटन गरेका हुन्।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण भएको ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएकाले अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयबासीले बताएका छन्।
थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो।
२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो।
थप तस्बिरहरू: