
लेख सुरु गर्दै गर्दा सुरुवातमै म आफ्नो परिचय दिन चाहन्छु। म प्रश्न हुँ। र अचेल तपाईँले मलाई धेरैजसो भेट्नु हुन्न। आजभोलि म घाइते छु। अर्धमृत छु। मैले बिर्सिसकेँ मेरो जन्म कहिले भएको थियो! सायद, ईडेन गार्डेनको जिज्ञासामा ? कि कुरुक्षेत्रको गीतामा ? असलमा , पूर्वीय देशहरुमा मेरा अरु साथीहरुको हालखबर बुझ्दा उनीहरुको हालत पनि लगभग मेरै सरह पाउँछु।
म मेरा केही पीडाहरु सुनाउँछु। म आफैंमा निरीह छु। अनि यो प्रश्न गर्ने कुराको बीचमा अर्को प आएर अड्को थाप्छ। पैसा। खै किन जति जति पैसा उर्मिन्छ, म त्यति त्यति घाइते हुँदै जान्छु। त्यस्तै अर्को प पनि छ। पोजिसन। प्रश्न त्यति त्यति प्रभावकारी हुन्छ जति जति प्रश्न गर्नेको स्वर चर्को र सुनिने किसिमको हुन्छ। विडम्बना के छ जस जसको स्वर चर्को छ। ती प्राय चुप छन्। कारण के ? अर्को प ! पोलिटिक्स !
नेपालमा प्रश्न भएर जन्मिनु औचित्यहीन छ। जसरी नेपालमा युवा भएर बाँच्नु छ। जसरी उनीहरु छ्या नेपालमा किन जन्मिएछु भनेर धिक्कारछन्। त्यसरी नै म पनि बेला मौकामा आफ्नो अवस्थालाई धिक्कार्छु। तर धेरै जसो नेपाली युवा जस्तै देश छाडेर अस्ट्रेलिया, अमेरिका, जापान उड्ने सुविधा मलाई छैन। मैले त अब अस्तित्वमा आए पछि झेल्नै पऱ्यो। हुन त अमेरिकामा पनि प्रश्नको हालत बेटर भए पनि त्यसले पाउने उत्तर घाइते नै छ रे। कहीँ प्रश्न घाइते छन्। कहीँ उत्तर घाइते छन्। कहीँ लोकतन्त्र घाइते छ!
जीवित, स्वतन्त्र र चलायमान के छ ? अर्थतन्त्र ? त्यो त झन् घाइते छ।
उपकारी गुणी व्यक्ति निहुरिन्छन् निरन्तर
फलेको वृक्षको हाँगो न झुकेको कहाँ छ र ?
यो मीठो कविता लेख्ने कवि शिरोमणी ज्यूलाई सम्मानसाथ यो भनाइसँग मेरो गहिरो असहमति छ। यो भनाइ सात कक्षामा नैतिक शिक्षा पढाउँदा क्युट लाग्छ। वा, अहिले पनि जेन जीको भाषामा बुमरहरुले भरिएको फेसबुकमा पोष्ट गर्न ठीकै होला। तर , यथार्थमा यो भनाइ ठूलाले म प्रश्न भन्दा माथि छु भन्ने मानसिकता पोषण गर्नका लागि हो। जसरी , कम्युनिष्ठ पार्टीका नेता यो देशमा कमरेड होइन सुप्रिमो बन्छन् ,बा बन्छन्। अनि बाका अगाडि सब कार्यकर्ता श्रवणकुमार। बाहरु प्रश्न भन्दा माथि छन् जसरी भगवानहरु यथार्थ भन्दा पर छन्। हुनत दाईहरुसँग नै भाइहरु डराउने देश न हो यो।
ठूलालाई आदर गर। सम्मान गर। भनेको मान। उनीहरुको आज्ञा शिरोपर गर। ठूलाले कहिल्यै कुभलो चाहँदैनन्। जे सोच्छन् गर्छन् भन्छन् राम्रै गर्छन्। एकदम सही कुरा।
ठूला भन्दा नि डबल ठूलाहरुले राम्रै चाहेर होला देशको यो हालत भएको।
यहाँ भिष्म विवाह नगर्ने अधिकार तब पाउँछन् जब सान्तनु एलरेडी लभमा हुन्छन् त्यो पनि तीर्थ जाने उमेरमा। यहाँ भिष्महरुको वैयक्तिक विचार वा स्वतन्त्र सोच छैन। यदि सान्तनु तीर्थ जाने उमरे तीर्थ नै गएको भए र भीष्मले आफैँ म्यारिज इज नट माई थिङ भनेको भए , महाभारत त्यही सुरु हुन्थ्यो। यहाँ ठूलाले सानालाई आफ्नो न्यारेटिभ बेच्छन् नभए भिडाउँछन्। प्रश्च गर्न दिँदैनन्। सोच्न दिँदैनन्।
हाम्रो समाजमा केटाकेटीहरु भीष्मको कथा सुनेर वा त्यही कथा सिरियलमा हेरेर हुर्किन्छन्। केटाकेटी श्रवणकुमारका कथा पढ्छन्। र भक्तिभावमा लम्पसार हुने ट्रेनिङ पाउँछन्। हाम्रो समाजमा आफू बाहेक सब भगवान् हुन। जस्तै मातापिता भगवान् हुन्। गुरु भगवान् हुन्। अतिथि भगवान्। अनि नारी पनि भगवान् हुन , ए होइन होइन जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान् पनि खुखी हुन्छन् हो। ग्राहक देउता हुन्। यहाँ लगभग सब भगवान् हुन। मान्छे त कोइ पनि होइनन्। यहाँ जति जति भगवान् छन् त्यो भन्दा कम मान्छे होलान्।
सायद कथाले मागेर नै होला म अहिले अर्धमृत छु। हुन त प्रश्न गर्ने जागिर भएका पत्रकार चुप छन् यो देशमा। म कहाँको को हूँ र ? म त कसैले बोलिदिए जाग्छु। नत्र त म सधैँ निदाएको छु। ननिदाउँदा अचेतन ट्रान्समा हुन्छु।
र अघि भने जस्तै भगवानहरु प्रश्न भन्दा माथि हुन्छन्। यथार्थ भन्दा धेरै पर।
अस्ति म बिरामीलाई जगाइन् एउटी नानीले! घरमा कराउँदै थिइन्।
‘मान्छेहरु वर्ल्ड टुर जान्छन् तपाईंहरु मलाई जाबो एबीसी जान दिनु हुन्न ?’
उनकी माताश्री जवाफ फर्काउँछिन्।
‘जता गए नि बिहे गरेपछि आफ्नो बुडो सँगै जा। संसार घुमे पनि घुम। एबीसी घुमे पनि घुम।’
‘जाबो एबीसी जान म बिहे गर्नु ? र मलाई बिहे गर्न मन छैन रे ? म घुम्दै नघुम्नु ?’
महाभारत सुरु।
‘त्यस्तो कहाँ हुन्छ ? सबले बिहे गर्छन्। गर्नुपर्छ।’
‘यो तैँले के जाती के ती अङ्ग्रेजी फिल्म हेर्न छाड्दे है नानी।’
नानाभाती के के सिक्छे। पैला पैला महादेवले संसारको चक्कर लगाएर आइज भन्दा गणेशले मेरा लागि संसार भनेकै मेरा माता पिता हुन भनेर चक्कर लगाएका थिए।
त्यो आस्थाले महादेव कति खुसी भाथेँ।
पैला पैलाका छोरछोरी त्यस्ता भगवान् जस्ता हुन्थे।
अहिलेका जे कुरामा नि मुख मुखै लाग्छन्।
आमाबाको सम्मान गर्न नि जान्न पर्छ। बुझिस्?
हिपोक्रेसी मान्छेको रगतको प्रत्येक थोपामा मस्त बगेको छ।
बाँच्नलाई सायद हिपोक्रेसीमा चुर्लुम्मै डुब्नु पर्छ। अनि साथमा उदार प्रगतिशील हुनुको बर्को पनि ओड्नु पर्छ।
जसरी नेपालमा प्रोगिसिभ हुनुको नाटक पनि गर्नु पर्छ अनि लभ गर्नु अघि चिना हेरेर मात्र लभमा पर्नु पर्छ।
जिन्दगीमा म त त्यो जिसस हूँ? बिल्कुल निरीह ? शक्तिहीन ? अस्तित्वले क्रुसिफाइड। तर जिउँदो। विवश। सब हेरिरहेको। केही नगरीरहेको ? जीवन कर्तृवाच्य हो भने म कर्मवाच्य हुँ। जे भइरहेछ हुन दिइरहेछु ? तात्पर्य केही भइरहेको छैन !
मेरा दुई हातमा जीवनका किला दुःख्ने गरी धसिएका छन् ! टाउकामा सञ्जयका आँखा खोपिएका छन्। र म हेरिरहेको हरपल जीवनको रौद्ररूप १ जीवन होस् या महाभारत आदर्श फगत आदर्श मात्र हुन्। धर्म केवल नामका मात्र हुन्। सत्य केवल देखाउनलाई हुन् ! र कृष्ण नेपोटिज्मका लागि हुन्। अर्जुनले गरे सब सही। कर्णले गरे सब गलत। भिष्म पितामह करपोरेटका ती कर्मचारी हुन् जसलाई सब सही गलत थाह छ। थाह छ जे भइरहेछ सब अन्याय भइरहेछ।
त्यही पनि यी राजीनामा दिने वाला छैनन् यो टक्सिक वर्क कल्चरबाट। साइड लिएर पनि न्युट्रल छन्। अनि छन्
युधिष्ठिर जो हरबखत सत्य सत्य भन्छन् र बोक्छन् हिपोक्रेसीको भीमकाम गण्डीब ? मेटाफर मिलेन तर केही छैन! प्रसाईंले भने जस्तै राजनीतिमा जसले राज्यको जुवा खेल्छ, उसैलाई सायद धर्मराज भनिन्छ। यी धर्मराज द्रौपदीलाई दुई दुई पटक दाउमा राख्न पछि पर्दैनन् ? ब्रो सुड एड्मिट ही ह्याज गट ग्याम्बलिङ एडिक्सन । दुर्योधनको तर्फबाट सकुनी खेल्ने भए हाम्रो तर्फबाट पनि अरु कोइ खेल्छन् भन्ने आँट समेत गर्दैनन्।
यदि यही कुरा कृष्णलाई सोध्ने हो भने उनी त्यही गर्छन् जे गर्न उनी माहिर छन्। कुरा घुमाउन। उनी भन्दा हुन्- यो जो भइरहेछ किन भइरहेछ भने यही भएर त्यो हुन्छ जो हुने वाला छ। यो त केवल सेटअप हो पार्थ। पन्चलाइन र रिजोलुसनको लागि। ब्रो ईट्स अल फर दि प्लट। सब कथाले मागेर हो।
सायद कथाले मागेर नै होला म अहिले अर्धमृत छु। हुन त प्रश्न गर्ने जागिर भएका पत्रकार चुप छन् यो देशमा। म कहाँको को हूँ र ? म त कसैले बोलिदिए जाग्छु। नत्र त म सधैँ निदाएको छु। ननिदाउँदा अचेतन ट्रान्समा हुन्छु।
अस्ति किर्तिपूर तिर गएको थुप्रो हल्ला खल्ला रहेछ। यो देशमा मान्छेहरुको क्रिकेट प्रति अर्कै नाशा छ। विकास, रोजगारी, शिक्षा , स्वस्थ्य र दिगदारीले ध्वस्त बनाएको यो देशलाई डाइभरजनलाई केही त चाहियो ! अष्ट्रेलियाले वर्ल्डकप जित्दा त्यहाको विमान स्थलमा धेरैलाई बाल थिएन। जबकि नेपाल वर्ल्डकप मात्र पुगोस्। आधा काठमाडौँ विमान स्थल पुग्छ। सायद, देश अनुसारको हैसियत र रोगहरु हुन्छन् !
त्यहाँ क्रिकेटलाई व्यवसायिक बनाउने कोसिस हुँदै रहेछ। कुरो ठीक हो। संसार महङ्गो छ। सबले त्यही अनुसारको तलब पाउनुपर्छ। टिमहरु करोडौँ, खेलाडीहरु लाखौँको भाउमा किनिए रे। भेरी गुड ! अनि झसङ मैले एउटा प्रसङ्ग सम्झिएँ। त्यहा पत्रकारलाई तलब नदिने करपोरेटका मालिकले करोडौँमा टिम किनेका छन् रे ! अनि आफ्ना अस्पतलाका कर्मचारीले तलब खोई भनेर घाँटी सुकाउँदासम्म नसुकेकाहरुको पनि टिम छ रे। पुजीवादी समाजमा करोडौँको टिम किन्न सक्ने मालिकले हजारौँ कर्मचारीको पेट चिसो पारिराख्नु क्युट नै हो ! आशा छ ती खेलाडीहरुले भने भनिएको पारिश्रमिक पाऊन् !
बाल्यकालमा मान्छे जिज्ञासु हुन्छ। उसको निर्मल निश्चल मनमा थुप्रै प्रश्न र जिज्ञासाका नदीहरु बेप्रवाह बगिरहन्छन्। तर समाजलाई प्रश्न मन पर्दैन। स्तुती र लोकरिझ्याँइसँग अभ्यस्त समाज जब जब प्रश्नका पालुवा उम्रन्छन् तिनका घाटी यसरी निमोठ्छ कि ती फेरि उर्मन सक्दैनन्। जिज्ञासाका पालुवाले भरिका बाल मस्तिष्कहरु कर्मिक रुपमा बन्जर बन्छन्। प्रश्नका अविरिल नदीमा सामाज ड्याम लगाउँछ। नदीलाई पोखरी बनाउँछ। लेऊ जमाउँछ।
जिज्ञासा र प्रश्नकै कारण एडम र ईभ इडेन गार्डेनबाट निकालिए !
जुन सुकै ईश्वर हुन् ती प्रश्नभन्दा स्तुतीमा रमाउँछन्।
रत्ना पाठकको भनाइ सम्झन्छु !
‘सब अर्जुन दृष्टि भन्छन् तर अर्जुनको दृष्टि केवल त्यही चराको आँखाको गडिएकोले कति वरपरको सौन्दर्य छुट्यो होला ?’
कुरुक्षेत्र छ। भयङ्कर नरसंहार। जता ततै रगत्तै रगतको नदी।त्यसपछि अर्जुन। आफ्ना सारथी कृष्णलाई प्रश्न गर्छन्।
‘प्रभु यो जो म युद्ध गरिरहेको छु। धर्मयुद्धका नाममा जहाँ म आफ्नै दाजुभाइ माथि वाण बर्सिरहेछु। जहाँ जसले जसलाई मारे पनि भाइले भाइलाई नै मार्ने हो। रगतले रगतकै नास गर्ने हो। त्यो राज्यको के अर्थ जसको जग आफ्नै परिवारको लासमा उभिएको होस् ?’
त्यसपछि कृष्ण अर्जुन माथि गीता बर्साउँछन्। तिमी धर्मको साइडमा छौ भनेर फकाउँछन्।
असलमा प्रश्न जसले जसलाई जस्तो पनि गर्न सकिन्छ।
कृष्णको कुरुक्षेत्रमा बुद्धत्व र शान्तिका प्रश्न गर्न सकिन्छ ! बुद्धलाई धर्मयुद्ध गराउन सकिन्छ। मार्क्सलाई सोध्न सकिन्छ, ‘कामरेड बन्दुकको नालमा अडिएको शासन सत्ता कति दिगो हुन्छ ? जति दिगो डर हुन्छ ?
अरुनधति रोयका शब्द सापट मागेर आदिवासीहरु गान्धीलाई प्रश्न गर्न सक्छन् (संसारले मानेको तपाईं अनसन बस्दा पो विश्व रुन्छ ? हामी सधै भोकाहरु अनसन बस्दा कसले सुन्छ ? तपाईं प्रिभिलेज्ड हुनुहुन्थ्यो र पो अनसन बस्नु भो ? हामी आवाजविहीनहरु सुनिनलाई त बन्दुक पड्काउनै पर्छ ?
के सत्य र असत्यलाई सामान्यीकरण गर्न सकिन्छ ?
प्रश्न सबैलाई गर्न सकिन्छ। सबैले उत्तर दिन सक्दैनन्। उत्तर थाहा नभएर होइन, भोको पेटले, महङ्गीले, छोराछोरीको फिले मान्छेलाई मौन बनाउँछ। हजुर कति महान् बनाउँछ। सबैलाई नमस्कार गराउँछ। अनि थुप्रै वादहरु पढाउँछ।
जी हजुर वाद, हस् धन्यवादवाला वाद , हजुर कति महान् वाद, हजुर कति समाजसेवी वाद ? ह्याप्पी बर्थडेवाद ?
अनि , म बबुरो प्रश्न यो घनघोर निद्राबाट कहिले जाग्ने त ?
सायद, जब मान्छेले जगाउँछन् तब !