
झापा- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अध्यादेशमा आदेश आएको गैरआवासीय नेपालीलाई दिइने भिसाको प्रावधानप्रति असहमति जनाएका छन्।
सोमबार झापाको धुलाबारीमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री शर्माले उक्त प्रावधान संविधानको व्यवस्थासँग बाझिएको बताए।
संविधानको भाग दुईमा सार्क मुलुक बाहिर रहेका नेपालीलाई दिइने नागरिकता गैरआवासीय नागरिकता हुने भनिएकाले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान विल्कुल गलत भएको उनको तर्क थियो। ‘एकातर्फ नागरिकता दिने भन्ने अर्कोतर्फ भिसा दिने कुरा मिल्छ?,’ उनले भने।
उनले यस्ता गम्भीर कुरामा सरकारले ध्यान दिनुपर्ने बताए। उनले आफूले धेरै कुरा भन्न लागेको तर संयम भएर प्रस्तुत भइरहेको बताए।
अहिलेकै अवस्थामा सत्ता समीकरणका विषयमा नसोचिने तर प्रधानमन्त्री तथा मन्त्रीहरूले सच्चिनुपर्ने शर्माको भनाइ थियो।