
मुगु – मुगु जिल्लाका हरिकृष्ण बिष्टले स्थानीय रूपमा पाइने डाले चुकबाट जुस उत्पादन गरी उल्लेखनीय सफलता हात पारेका छन्।
छायाँनाथ रारा नगरपालिका – ८ का स्थायी बासिन्दा बिष्टले बन–जङ्गलमा सहजै उपलब्ध हुने डाले चुकलाई व्यावसायिक रूपमा उपयोग गर्दै लाखौँ रूपैयाँ आम्दानी गर्न सफल भएका छन्।
पछिल्ला केही वर्षदेखि बढ्दो बेरोजगारी र आर्थिक समस्या समाधानमा बिष्टले उदाहरणीय कार्य गरेका छन्। उनी भन्छन्, ‘विदेशमा पसिना बगाउनुको सट्टा देशमै मेहनत गर्न सके राम्रो कमाई सम्भव छ। ‘हाल उनी वार्षिक ५ देखि ७ लाख रूपैयाँ घरमै बसेर कमाउँदै आएका छन्।
उनको ‘रारा जुस प्रोडक्सनू बाट उत्पादित डाले चुकको जुस नजिकैका बजार मात्र नभई काठमाडौं, पोखरा र नेपालगन्जमा पनि लोकप्रिय भएको छ। बिष्टका अनुसार, यो जुस स्वादिलो र स्वास्थ्यका लागि लाभदायक छ। यसले भिटामिन सी प्रदान गर्नुका साथै दम, खोकी, गिजा पाक्ने, र पिसाबसम्बन्धी रोगहरूमा समेत फाइदा पुर्याउँछ।
२०७० सालमा डाले चुक उत्पादन सुरू गरेका बिष्टले २०५९ सालमा युएनडीपी र आरसिडिसी जस्ता संस्थाबाट जुस उत्पादनसम्बन्धी तालिम लिएका थिए। तालिमपछिको अनुभवले उनलाई उद्यम सञ्चालनमा सहयोग पुर्यायो। अहिले उनी काठमाडौंमा आफ्ना तीन सन्तानलाई अध्ययन गराइरहेका छन्।
बिष्टका अनुसार, पर्यटकहरू डाले चुकको जुसलाई नासो र चिनोका रूपमा किन्ने गर्छन्। साथै, रारा, सल्लेरी, र गमगढी क्षेत्रका बजारमा यसको माग दिन प्रतिदिन बढिरहेको छ। हाल यो जुसको होलसेल मूल्य रु २५० र खुद्रा मूल्य रु ३०० रहेको छ।
उनको सफलताको कारण उनी प्रशिक्षकका रूपमा पनि सक्रिय छन्। विभिन्न संघ(संस्थाको सहयोगमा भारत र चीन भ्रमण गरेर थप ज्ञान हासिल गरेका बिष्टले हाल अन्य युवालाई उद्यमशीलताको प्रशिक्षण दिइरहेका छन्।
स्थानीय क्षेत्र जस्तै थार्पको रिम्रे, टोप्लाका बाबुकाँद, र मुगुमकार्मारोङमा डाले चुक प्रशस्त पाइने भएकोले अन्य धेरै युवा(युवती पनि यो व्यवसायको कारण आय आर्जन को माध्यम बनेको छ ।
तर, बिष्टले स्थानिय सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो पनि गरेका छन्। ‘यदि स्थानीय सरकारबाट सहयोग प्राप्त भए उद्यम अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिन्थ्यो,’ उनको भनाइ छ ।