
वीरगन्ज – विशेष अदालतमा प्रतिकूल बकपत्र गरेपछि घुस दिनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गराएको छ। अख्तियारले साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीलाई घुस दिने पर्साको पोखरिया नगरपालिका–२ बस्ने चन्दन कुमार मिश्रविरुद्ध मुद्दा दायर गराएको हो।
अख्तियारले बुधबार बिशेष अदालतमा मिश्रविरुद्ध ९९ हजार बिगोबमोजिम जरिवानासहित भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रबक्ता नरहरि घिमिरेले जानकारी दिए।
तत्कालीन प्रहरी निरीक्षक सुवेदीले मिश्रका भाइ प्रतिबादी रहेको साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी उनीसित ९९ हजार घुस लिएका थिए। घुस लिएको पुष्टि भएपछि अख्तियारले भदौ २७ गते तत्कालीन प्रहरी निरीक्षक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियोे।
घुस दिने मिश्रलाई भने अनुसन्धान अधिकृतलाई सहयोग गरेकोले सरकारी साक्षीको रुप अदालतमा पेश गरिएको थियो। तर अदालतमा मिश्रले भने आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेकाले उनीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारले जानकारी दिएको छ।