
पोखरा – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनशक्ति उत्पादमा राज्यले लगानी गरे पनि नेपालमै बसेर काम गर्ने परिस्थिति नभएकोमा चिन्ता व्यक्त गरेका छन्। राज्यले लगानी गरेर छात्रवृत्तिमा जनशक्ति उत्पादन गरे पनि यो देशमा नबस्ने चुनौती रहेको उनको भनाइ छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जनशक्ति उत्पादनमा कछुवा गतिमा काम भइरहेको बताए।
दक्ष जनशक्तिलाई बाधा व्यवधानसँगै मिलेर समाधान गर्दै देशमै सेवा गर्न तयार हुन उनको अनुरोध छ। ‘नेपालमै बस्ने परिस्थिति कसरी निर्माण गर्न सकिन्छ? देशमा बस्ने वातावरण कसरी बनाउन सकिन्छ हामी सहकार्य गर्न तयार छौँ,’ उनले भने।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको पश्चिमाञ्चचल क्षेत्रीय अस्पताल पोखराको स्तरोन्नतिमा कुनै कसर बाँकी नराख्ने मन्त्री पौडेलको दाबी छ।
देशमा पर्याप्त आर्थिक स्रोतबिना नै स्वास्थ्य क्षेत्र उकास्न लागिरहेको उनले सुनाए। उपचारात्मक मात्रै नभएर निरोधात्मक क्षेत्रमा अस्पतालले काम गर्नुपर्ने उनले बताए।
निरोधात्मक क्षेत्रमा काम गर्ने योजना बनाइरहेको उनले बताए। ‘समाजवाद स्वास्थ्यमा देखिन पर्छ। कसरी थोरै लगानीमा धेरै सेवा दिन सकिन्छ भनेर लाग्नुपर्छ,’ उनले भने।
स्वास्थ्य बिमामा नागरिकको लगानी आवश्यक रहेको उनले बताए। उनले भने, ‘नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्न यो सरकारले प्रयास गरिरहेको छ।’