
मुगु –आगामी आर्थिक वर्षको बजेटमा ३० करोड रुपैयाँको स्रोत सुनिश्चित भएपछि गमगढी–नाक्चेलाग्ना सडक निर्माण परियोजनाले तीव्रता पाउने भएको छ। यस सडकले मुगु जिल्लाको मुख्य प्रशासनिक केन्द्र गमगढीलाई नाक्चेलाग्नासँग जोड्ने उद्देश्यसाथ स्थापना गरिएको हो।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गमगढी–नाक्चे लाग्ना सडक र गमगढी बृहद खानेपानी योजनाको लागि श्रोत सुनिश्चित गरी बहुबर्षीय परियोजनाको रूपमा राष्ट्रिय प्राथमिकतामा परेको जानकारी दिए।
उनले भने, ‘आफ्नो अथक प्रयासबाट बर्षौंदेखिको मुगाली जनताका साथै समग्र कर्णाली बासीको सपना पूरा भएको छ।’
भौतिक पूर्वााधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयले जनताको आवश्यकता र मागलाई ध्यानमा राखेर स्रोतको सुनिश्चितता गराएपछि यो परियोजना आगामी आर्थिक वर्षमा श्रोत सुनिश्चित भई बहुबर्षे परियोजनाको रूपमा सरकारको प्राथमिकतामा परेको उनले बताए।
उनले भने, ‘हरेक बर्षमा कनिका छरे झैंको बजेटले आबश्यक गति लिन नसक्दा ओझेलमा पर्दै आएको थियो।’
गमगढीबाट उत्तरी सीमा नाका नाक्चे लाग्नासम्म ९६ किलोमिटर लम्वाईको यस सडक कछुवाको गति झैं १८ वर्षको समय लगाएर गमगढीबाट छाईल बगरसम्म १७ किलोमिटर मात्र निर्माण भएको छ। बाँकी ७९ किलोमिटर सडक अलपत्र पर्दै आएको थियो।
गमगढी–नाक्चेलाग्ना सडक निर्माण परियोजनाका लागि ३० करोड र गमगढी बृहद खानेपानी निर्माण परियोजना लागि १० करोड बजेट सुनिश्चित भएको हो।

Oplus_131072