
मुगु – कर्णाली करिडोर अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–२ र मुगुको खतेड गाउँपालिका– ८ को संगमस्थल झुगलामा १०५ मिटर लामो पक्की पुल निर्माण गरिने भएकाे छ।
पुल निर्माणपछि मुगुको पश्चिमी खतेड क्षेत्र हुँदै नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा तथा मुगुको सदरमुकाम गमगढी पुग्न करिब ५० देखि ६० किलोमिटर दूरी घट्ने निर्माण कम्पनीले जनाएको छ। हालको कर्णाली राजमार्गको तुलनामा यात्रुहरूको समय र खर्च बचत हुने विश्वास लिइएको छ।
पुल निर्माणको जिम्मेवारी कन्काई, कुशेश्वर, निशान जेभी काठमाडौँले पाएको छ। कम्पनीका निर्देशक जयराम घलेका अनुसार पुल निर्माणका लागि २०७८ मंसिर १४ गते सम्झौता गरिएको थियो भने २०८१ असोज १ गतेबाट काम सुरु गरिएको हो। तर पुलको डिजाइन पास गर्न अधिक समय लागेकाले निर्माण समय तालिका प्रभावित भएको छ।
निर्माण समयमै सम्पन्न गर्न २०८३ जेठ ३० गतेसम्म समय थपको माग गरिएको छ। पूर्वाधार विकास कार्यालयले यसअघि २०८१ चैतसम्म ४ महिनाको म्याद थप सिफारिस गरेको थियो। तर चैतपछिको समय थप स्वीकृत नभए पुल निर्माण कार्य अनिश्चित बन्न सक्ने निर्माण पक्षको भनाइ छ।
१६ करोडभन्दा बढीको लगानीमा निर्माणाधीन यो पुल सम्पन्न भएमा स्थानीय बासिन्दा र पर्यटकलाई कर्णाली करिडोर प्रयोग गर्न थप सजिलो हुनेछ।