
सुनाइमा समस्या हुने, कान कम सुन्ने वा नसुन्ने समस्या प्रायः बाहिरबाट देखिन्न। यो समस्या अदृश्य हुने भएकाले यसलाई अदृश्य अपाङ्गताका रुपमा लिइन्छ। यस्तो समस्या भएका व्यक्तिहरूले आफैंले यो समस्या भएको नभनेसम्म अरु मानिसलाई थाहा नै हुँदैन। यसको कारणले गर्दा सुनाइमा समस्या भएका व्यक्तिहरूसँग सञ्चार गर्न र सेवा प्रदान गर्न कठिनाइ हुन सक्छ।
यसै कुरालाई मध्यनजर गर्दै श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरूको संघ नेपाल) ले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जापान सुस्त श्रवण तथा पछि बहिरा महासंघ(जेनान्चो)र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नाक, कान घाँटी रोग विशेषज्ञसँग सहकार्य गरी सुनाइमा समस्या पहिचान गर्न प्रतीक चिन्ह “इयरमार्क” को विकास गरेको छ।
इयरमार्क के हो त?
सुनाइ क्षमतामा कमी भएका व्यक्तिहरुले विकास गरेको एउटा विशेष चिन्ह हो यो, जसले सुनाइमा समस्या भएका व्यक्तिहरूलाई पहिचान गर्न र सेवा प्रदायकहरूलाई सञ्चार सेवा सहजीकरण गर्न सहयोग पुर्याउँछ। यो चिन्हलाई सुनाइ क्षमतामा कमी भएका व्यक्तिहरु तथा सेवा प्रदायकहरू दुबै पक्षहरूले प्रयोग गर्न सक्छन्।
सुनाइ समस्या भएका व्यक्तिहरूले कसरी प्रयोग गर्न सक्छन्?
सुनाइ समस्या भएका व्यक्तिहरूलाई सञ्चार गर्न सहयोगको आवश्यकता हुने अवस्थामा यो इयरमार्क चिन्ह सेवा प्रदायकहरूलाई देखाउँछन्। इयरमार्कलाई व्याच वा कार्डको रुपमा प्रयोग गर्न सकिन्छ। इयरमार्क स्टिकरलाई व्यक्तिहरूले प्रयोग गर्ने विभिन्न प्रकारका सामानहरू, जस्तै स्वास्थ्थ परीक्षण किताब वा कार्ड, बैकको कार्ड, स्कुल कलेजको आइडी कार्ड, तथा अन्य व्यक्तिगत परिचयपत्र वा कार्डमा टास्न सकिन्छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले कसरी प्रयोग गर्न सक्छन्?
सेवा प्रदायकहरू, संघ/संस्था, अस्पताल, होटल/रेस्टुरेन्टहरुले यो चिन्ह प्रयोग गरेर सुनाइ समस्या भएका व्यक्तिहरूका लागि पहुँचयुक्त स्थानहरू, सञ्चार उपकरणहरू वा सामग्रीहरू र पहुँचयुक्त सेवाहरू दिन सक्ने जनशक्तिहरूको उपलब्धता भएको जानकारी गराउन सक्छन्। यो चिन्हलाई रिसेप्सन, काउन्टर वा अन्य देखिने ठाँउमा राख्न वा टाँस्न सकिन्छ।
इयरमार्कको प्रयोगले ल्याउने फाइदाहरू:
- समस्या पहिचान सजिलो बनाउनु:
इयरमार्क प्रयोगले सुनाइमा समस्या भएका व्यक्तिहरूलाई सजिलै चिन्न र उनीहरूको आवश्यकता अनुसार सेवा दिन सहयोग गर्छ। यसले उनीहरूलाई बेवास्ता भएको होइन, हेरचाह गरिएको महसुस गराउँछ।
- सञ्चार सुधार गर्नु:
सुनाइमा समस्या भएका व्यक्तिहरूसँग सञ्चार गर्दा सेवा प्रदायकहरूले स्पष्ट र सजिलो भाषा प्रयोग गर्न सक्छन्, महत्वपूर्ण जानकारीहरू लेखेर दिन सक्छन्, सञ्चार सहयोगका सामग्रीहरु वा सांकेतिक भाषा प्रयोग गर्न सक्छन्। यसले दुबै पक्षबीच समझदारी सुनिश्चित गर्छ।
- आत्मविश्वास बढाउनु:
सुनाइ समस्या भएका व्यक्तिहरूका लागि विशेष रूपमा चिन्ह लगाइएका ठाउँ वा सेवा पाउँदा उनीहरूलाई सजिलै र आत्मविश्वासका साथ काम गर्न मद्दत गर्छ।
- समावेशीता प्रवर्द्धन गर्नु:
इयरमार्क चिन्हको प्रयोगले सबैलाई एकै प्रकारको सेवा र सहयोग उपलब्ध गराउने वातावरण सिर्जना गर्न मद्दत गर्छ।
- सेवा प्राप्त गर्न सजिलो बनाउनु:
अस्पताल, विद्यालय, वा सार्वजनिक स्थानमा सञ्चार सहायता उपकरण वा सेवा रहेको भएमा इयरमार्क चिन्हको प्रयोगले ती सेवाहरूको पहुँच सजिलो बनाउँछ।
- सहयोगको भावना विकास गर्नु:
इयरमार्कको प्रयोगले सुनाइ समस्या भएका व्यक्तिहरूलाई एकआपसमा अपनत्व र सहयोगको भावना दिन्छ। यसले समाजमा उनीहरूको आवश्यकताप्रति जनचेतना पनि बढाउँछ।
- नीति निर्माणलाई सहयोग गर्नु:
इयरमार्क प्रतीकको प्रयोगले युएनसीआरपीडी (अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि) जस्ता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीतिहरूको पालना सुनिश्चित गर्छ। यसले संस्था वा संगठनहरूको जिम्मेवारी र प्रतिबद्धता बलियो बनाउँछ।
निष्कर्षमा इयरमार्क प्रतीकले सुनाइ समस्या भएका व्यक्तिहरूलाई नदेखिने अपाङ्गताका कारण सिर्जना हुने कठिनाइ कम गर्दै उनीहरूको अधिकार, सेवा पहुँच र सम्मानलाई सुनिश्चित गर्छ। यसले समाजलाई समावेशी र सहयोगी बनाउन मद्दत गर्दछ।
यो प्रतीक चिन्हलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा अन्य केही अस्पतालहरूमा प्रयोगमा ल्याइसकिएको छ। त्यसैले,सुनाइ समस्या भएका बिरामीहरूले टिकट काउन्टरमा आफ्नो सुनाई समस्याबारे जानकारी गराई, आफ्नो स्वास्थ्य परीक्षण वा ओपिडी कार्डमा यो चिन्हको छाप लगाउन अनुरोध गर्न सक्नुहुनेछ। यसले बिरामीहरूलाई स्वास्थ्य परीक्षण प्रक्रियामा पहुँचयुक्त सहयोग प्राप्त गर्न मद्दत गर्छ।