
मुगु – केही वर्षसम्म हराएको कपास खेती पुनः सुरु भएसँगै मुगुको सोरू गाउँपालिकामा कपडा उद्योग फस्टाउँदै गएको छ। सोरू गाउँपालिकाका ११ वटै वडाका ५३ स्थानमा कपास खेतीका फारम सञ्चालनमा छन्, जसले कपडा उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराइरहेका छन्।
यही आधारमा परिवर्तनशील साना किसान सहकारी संस्था लिमिटेडको नेतृत्वमा सोरू गाउँपालिका–८, तारापानीमा कपडा उद्योग सञ्चालनमा आएको हो।
उद्योगका सञ्चालक पदमहादुर मल्लका अनुसार यहाँ सिरक, डसना, सिरानी, तन्ना, पटुका, धोती, दौरा–सुरुवालको कपडा, गलबन्दी, प्याड, ब्याण्डेज, कोटको कपडा, टसीखादा जस्ता सामग्री उत्पादन भइरहेको छ।
‘कपास खेती फागुनदेखि जेठसम्म गरिन्छ भने असोजदेखि कात्तिकको अन्त्यसम्म संकलन र भण्डारण गरिन्छ’, मल्लले भने।
सहकारी संस्थाले प्रतिकेजी २ सय रुपैयाँका दरले सहकारीसँग आबद्द कृषकबाट कपास खरिद गर्ने व्यवस्था मिलाएको पनि उद्योग सञ्चालक मल्लले बताए।
हाल वार्षिक करिब ४ सय टन कपास उत्पादन भए पनि यसको मुख्य खपत मुगु जिल्लाभित्रै सीमित छ ।
जिल्ला बाहिरसम्म यातायातको सुविधा भए पनि गाडीमा सामान ढुवानी गराउँदा सामान थोरै जाने र ढुवानी खर्च बढी लाग्ने भएकाले नेपालमै उत्पादित सामान अन्य जिल्ला बाहिर माग भए पनि मुगु जिल्लामा उत्पादित सामानको व्यापार जिल्लामा नै खुम्च्याउनुपर्ने समस्या उद्योगसँग छ।
उद्योगमा हाल २२ जना कर्मचारी कार्यरत छन्, जसमा असहाय, अपाङ्ग र महिलालाई रोजगारीमा प्राथमिकता दिइएको यस उद्योगबाट उत्पादित समान लत्ता कपडा स्थानीय बासिन्दाहरूको माग बमोजिम जिल्लामै खपत हुँदै आएको छ।