
नेपालगन्ज – बाँकेमा ३६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको छ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार ६ देखि १० कक्षा पढ्ने ९ हजार ४७ र विद्यालय बाहिरका १० देखि १४ वर्षका २७ हजार ९ सय ३ गरी ३६ हजार ९ सय ५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको हो।
जिल्लाका आठ वटा पालिकालाई दुई चरणमा विभाजन गरेर एचपीभी खोप लगाउन सुरु गरिएको छ। माघ २२ देखि फाल्गुन ६ गतेसम्म खोप लगाइँदै छ।
पहिलो चरणमा आजदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ।
स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले पहिलो दिन नेपालगन्जमा २ हजार ७७ जनालाई खोप लगाएको जानकारी दिए। नेपालगन्जमा ९ हजार ३ सय १९ जनालाई खोप लगाउने लक्ष्य रहेको छ।
कोहलपुर नगरपालिकामा ७ हजार ४ सय ४८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिन आज एक हजार ५ सय ७४ जनालाई खोप लगाइएको छ। खजुरामा ५ हजार ८ सय ७२ मध्येमा ९ सय ३४ जना तथा जानकी गाउँपालिकामा एक हजार नौ सय ५० जनामध्ये पहिलो दिन ४ सय २९ जनालाई खोप लगाइएको छ।
यी चार पालिकामा २४ हजार ५ सय ८९ जनालाई खोप लगाइँदै छ। पहिलो दिन ५ हजार १४ जनालाई खोप लगाइएको छ। जुन २१ प्रतिशत हुन आउँछ।
दोस्रो चरणमा राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप लगाउने रणनीति बनाइएको छ। दोस्रो चरणमा १२ हजार ३ सय ६१ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारणमध्येमा पर्छ। प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने एक तथ्यांक रहेको छ।
एचपीभी खोप अभियानका लागि जिल्लामा ५ सय २४ वटा खोप केन्द्र बनाइएको छ। एक हजार ४८ जना स्वयंसेवक र ५ सय २४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भवितव्य केही हुन सक्ने भन्दै ४१ जना चिकित्सकलाई तयारी अवस्थामा राखिएको छ।