काठमाडौँ– सबै उस्तै छन्, सेतै। शीरदेखि पाउसम्मै एउटै पहिरन छ। शीरको फेटा, शरीरको कमिज र धोती सबै सेतै पहिरनमा छन्, पुरुषहरू।
महिलाहरू पनि सबै उस्तै छन्, सैतै पहिरनमा। कसै–कसैले कलेजी रङ्गको चोली लगाएका छन्। बाँकी उस्तै शीरदेखि पाउसम्मै सेतै कपडाको पहिरनमा छन्।
उस्तै पहिरनमा देखिएका उनीहरू अरुभन्दा भिन्दै लाग्छन्। काठमाडौँ सहरका लागि यस्तो दृष्य भिन्न हो, केही विशेष दिनबाहेक। काठमाडौँको माइतीघरमा देखिएका उनीहरू पनि विशेष भएरै देखिएका हुन्।
६ दशक (२०२२ साल)देखिको पीडा बोकेर दाङका १२ मौजा (१२ ठाउँ)का स्वर्गद्वारी गुठीपीडितहरू आइतबारदेखि माइतीघरमा सरकार गुहारिरहेका छन्। करिब दुई दर्जनको संख्यामा रहेका उनीहरूले सिंहदरबारलाई आफ्नो पीडा सुनाइरहेका छन्।
र, भनिरहेका छन्– ‘हामीलाई न्याय देउ’।
न्याय माग्नेमा छिन् आशाकुमारी चौधरी पनि। ‘हाम्रो सबैको कथा, सबैको व्यथा उस्तै छ। त्यसैले पनि हामी हाम्रै उस्तै पहिरनमा छौँ’, उनले आफ्नो अवस्थाकाबारेमा भनिन्।

५१ वर्षमा लागेकी घोराही उपमहानगरपालिका–१४ झिँगौराकी आशाकुमारीका अब धेरै आशाहरू छैनन्। उमेर ढल्किँदै गर्दा एउटै कुराले भने उनलाई सताउने गर्छ– ‘आफूहरूले जस्तै छोरा–नातिले भोग्न नपरोस्।’
त्यसैले पनि उनी दाङमा एक महिना लामो आन्दोलन गरेर माइतीघरमा धर्ना दिन आएकी छिन्, अरू जस्तै। जिन्दगीको ५ दशकमा उनले भोग्न बाँकी के रह्यो र। अझै भोगिरहेकी छिन्।
मोही हक नपाउँदा उनले पानीको अभाव भोगिन्। बिजुलीविहीन रातहरू कटाउन बाध्य भइन्। किसानी उनको परिवार त्यसमा मलदेखि बिउसम्म पाउने अनुदानमै विभेद भोगिन्, बाजे–बुबाले जस्तै।
उनको बुबा–बाजे पुस्ताले जोतभोग गरेको जमिन् उही हो, अहिले आशाहरू बसिरहेका छन्। अर्को ठाउँमा खनजोत गर्न जमिन थिएन। अहिले पनि छैन।
सरकारी सुविधा पाउनका लागि जग्गाधनी पुर्जा (लालपुर्जा)चाहिन्छ। तर उनको बाजेले मोही हक पाए पनि आजसम्म लालपुर्जा हाता लागेको छैन। यसका कारण उनी सरकारी सेवा सुविधाबाट बञ्जित हुनुपरेको छ।

त्यसैले त उनलाई लाग्छ– ‘आफूले भोगेको जस्तै पछिको पुस्ताले भोग्न नपरोस्।’ लालपुर्जा पाएपछि अब छोरा नाति पुस्ताले आफूले पाएका यी उस्तै दु:ख पाउँदैनन् कि भन्ने उनलाई लाग्छ।
मोही हकको उक्त जग्गाको अहिले पनि उनको परिवारले प्यूठानमा रहेको स्वर्गद्वारी आश्रमलाई तिरो (अरुको जग्गा प्रयोग गरेपछि लाग्ने शुल्क) बुझाउनुपर्छ, जसरी हिजो उनको बाजे–बुबाले बुझाए।
उनको माइती पनि घर पनि एकै गाउँ हो। त्यसैले माइती र घरका दु:खका कथा फरक छैनन्। बुबा–बालेहरू त कमैयासमेत बसे। अहिले कानुनी रुपमा त्यसरी कमैया बस्न बञ्देज छ।
विवाहपछि उनले आफ्नो ससुरालाई भेट्न पाइनन्। मृत्यु भइसकेको थियो। तर ४ जना जेठाजुहरूले जग्गा प्रयोग गरेबापतको स्वर्गद्वारी आश्रमलाई परालदेखि तेल, चामल तिरोका रुपमा बुझाइरहे। अहिले पनि उनको परिवारले एक बिघा जग्गा प्रयोग गरेबापत खेतको ५ मुरी धान र बारीको ५ मुरी तोरी वर्षमा बुझाउनुपर्छ।
मोही हकको लालपुर्जा पाएको भए तिरो बुझाउनु पर्ने थिएन। उनको ससुरा बाजेले ११ बिघा जमिन मोहीमा पाएका हुन्। त्यसपछि छोराहरूको ५ जना परिवार र नाति पुस्ताको गरी अहिले २० घर परिवार पुगिसकेको छ।

उनीहरू सबै लालपुर्जाविहीन छन्। ‘हामीले प्रयोग गरेको जमिन मोहीमा पाएको जमिन हो। तर लालपुर्जा नपाउँदा अहिले पनि तिरो तिर्नुपर्छ। दु:ख हामीले गर्ने। उब्जनी अरुले खाने भइरहेको छ’, आशाले आफ्ना दु:ख सुनाइन्।
आशाका दुई छोरी र एक छोरा हुन्। दुई छोरीको विवाह भइसक्यो। छोरा अरुण खेति किसानी गर्छन्। त्यसबाहेक बाँकी समयमा पलम्बरको काम पनि उनी गर्छन्।
छोरा–बुहारीबाट एक नातिनी छिन्। छोरा नातिहरूको पनि जिन्दगी आफ्नो जस्तो पो हुने हो कि भन्ने चिन्ताले आफूलाई पिरोल्ने गरेको आशाले बताइन्। ‘सरकारले मोही हक पाएकालाई लालपुर्जा दिनेभर भनेको वर्षौँ भइसक्यो’, उनले भनिन् ‘तर लालपुर्जाको आशमा चार पुस्ताले समय कटाउनेबेला भइसक्यो। अझै पनि लालपुर्जा नपाइने हो कि। हाम्रो जस्तो छोरा नातिको अवस्था हुने हो कि भन्ने चिन्ता लाग्छ।’
तर एउटा अठोट भने यसपालि लिएर दाङबाट काठमाडौँसम्म आशा आएकी छिन्। उनी भन्छिन्– ‘अब लालपुर्जा पाउने ग्यारेन्टी नभएसम्म घर फर्किँदैनौँ।’
हप्ता–महिना जति दिन लागे पनि लालपुर्जा पाउने ग्यारेन्टी गरेर मात्र घर फर्किने उनले बताइन्। ‘पहिले पनि आन्दोलन भयो। दाङमा पनि हामीले जिल्ला प्रशासन कार्यालयमा दुई महिना लामो आन्दोलन गर्यौँ। अब यहाँ जति पनि आन्दोलन गर्न तयार छौँ’, उनले आफ्नो अठोट व्यक्त गरिन्।
तस्बिरहरू: बर्षा शाह

भर्खरै
लोकप्रिय






































































































































































































