
काठमाडौँ– सरकारले ल्याएको अध्यादेश आज बस्न लागेको संसद्को दुवै सदनमा स्वीकृतिका लागि पेस नहुने भएको छ।
संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुवै बैठकमा अध्यादेश पेस नहुने जानकारी दिए।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले आजका बैठकमा अध्यादेश पेस गर्ने कार्यसूची सारिएको हो।
कानुनमन्त्री अजय चौरसियाले सभामुख र माथिल्लो सभाका अध्यक्षलाई भेटेर कार्यसूचीबाट अध्यादेश पारित गर्ने प्रस्ताव हटाउन आग्रह गरेका हुन्।
प्रतिनिधि सभाबाट अध्यादेश पारित हुने अवस्था रहे पनि राष्ट्रिय सभाबाट पारित गराउन जसपा निर्णायक बनेको छ।
जसपालाई मनाउन सत्ताधारी दलहरू लागिपरेका छन्। जसपालाई मधेश प्रदेशको मुख्यमन्त्री दिन सत्ताधारी दलहरू तयार रहे पनि जसपाले संघको स्वास्थ्य मन्त्रालयमा दाबी गरेकाले कुरा मिल्न सकेको छैन।