
वीरगन्ज- अफिमसहित बाराबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रदेश २-००३ प १६१४ नम्बरको स्कुटी चालक मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ५४ बर्षका सूर्यबहादुर मोक्तान र स्कुटी पछाडि सवार जिल्ला मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने ४५ बर्षका भीमबहादुर मोक्तान छन्।
मंगलबार बिहान जीतपुर सिमरा उप-महानगरपालिका-१ पथलैया चोकस्थित दुबै जना सवार स्कुटी रोक्न खोज्दा उनीहरू फरार भएका थिए। प्रहरीले पछ्याउँदै वडा नम्बर-२ सूर्य नेपाल अगाडि फेला पारी चेकजाँच गर्दा स्कुटीको डिक्कीभित्रबाट १३ किलो अफिम बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
अफिमसहित उनीहरुको साथबाट नगद १ लाख ३३ हजार ६५५ पनि बरामद गरिएको उनले बताए ।
यसैगरी जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज चोक स्थित हेटौडाबाट वीरगञ्ज तर्फ जाँदै गरेको बा.प्र.०२-०४४ प ६७५५ नम्बरको मोटरसाइकलबाट २१ किलो र नम्बर नखुलेको मोटरसाइकलबाट ५५ किलो नौ सय ग्राम गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ । दुबै मोटरसाइकल चालक भने फरार भएका थिए ।