
काठमाडौँ– नेपाली समाजको चित्रमा हेर्ने हो भने जुवा–तास खेल्ने भनेको चाडबाडमा हो। त्यो पनि दशैं र तिहारमा बढी। प्रहरीले परम्परादेखि नै चाडबाड लक्षित कार्यक्रम ल्याउँछ, जुन कार्यक्रममा जुवा–तास नियन्त्रण गर्ने पनि एक हुन्छ।
जुवा–तास खेल्नु कानुनत: अवैध हो। त्यसैले पनि हो चाडबाडमा घरमै रमाइलो गरेको समयमा कतिपय पक्राउ परेका घटनाहरू पनि सुनिन्छन्।
चाडबाडबाहेक अन्य समयमा जुवा खेल्नेहरू पनि छन्।
जुवा खेल्ने भनेपछि धेरै जना जम्मा हुने, पैसा फालाफाल गर्ने, अझ मदिरामा लठ्ठिएर रमाइलो गर्दै खेल्नेहरू हुन्छन् भन्ने जुवाडेको चित्र आउँछ। जुन दृष्यहरू नेपाली सिनेमाहरूमा देखाइएका छन्।
प्रहरीले जुवाको खालबाट पक्राउ गर्दा पैसाका बिटा (धेरै पैसा) बरामद नगरेको कमै हुन्छ। जुवाडे पक्राउ गर्दा उनीहरूको साथबाट हजारदेखि लाखसम्म बरामद भएकै हुन्छ।
तर देशको राजधानी काठमाडौँमा आइतबार प्रहरीले जुवाको खालबाट २३ जना पक्राउ गर्दा जुवा खेल्न प्रयोग गरिएको एक रुपैयाँ पनि नगद भेटाएन। न मदिरामा लट्ठिएका मानिस भेटायो, नत जुवा खेलका लागि प्रयोग गरिने तास वा अन्य कुनै सामान।

जुवाको खालबाट पक्राउ परेका भारतीयहरू।
प्रहरीले परम्परागत जुवाडेलाई मात खुवाउने नयाँ आवरणका जुवाडेलाई मात्र भेटायो। काठमाडौँको बूढानिलकण्ठ नगरपालिका– ३ गैरीगाउँबाट जुवा खेलेको आरोपमा २३ जनालाई आइतबार (माघ २७ गते) साँझ ५:३५ बजे प्रहरीले पक्राउ गर्यो।
२३ जना सबै भारतीय पुरुषहरू हुन्। उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गर्यो। बूढानिलकण्ठमा पूरै घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेल्ने र खेलाएको गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरूलाई पक्राउ गर्दा पनि प्रहरीले जुवा खेल्न प्रयोग गरिएको एक रुपैयाँ नगद नभेटाए पनि ल्यापटप र मोबाइल भने भेटायो। ‘उनीहरूको साथबाट मोबाइल, ल्यापट र आर्थिक कारोबार हिसाबकिताब गरेको नोटबुक भेटायौँ’, काठमाडौँ प्रहरी परिसरकार प्रहरी उपरीक्षक (एसपी) सूचना अधकारी अपिलराज बोहोराले पत्रकार सम्मेलनमा भने।
जुवाडेसँग न तास थियो, न पैसा। उनीहरू त कुनै प्रोफेसनल (व्यवासयिक) कम्पनीका कर्मचारी जस्ता थिए। चिटिक्क परेको घरभित्र ल्यापट, मोबाइल, डायरीसहित बसेका उनीहरू कामममा व्यस्त।
ल्यापटप, मोबाइल चलाइरहेका उनीहरू कसरी जुवाडे हुन सक्छन्? त्यो बूढानिलकण्ठको घरको छिमेकीलाई पनि शंका गर्ने ठाउँ थिएन। त्यसैले त वर्ष दिनदेखि एउटा घर पूरै भाडामा लिएर भारतबाट आएकाहरूले अवैध धन्दा चलाएर बस्न सके।
अवैध धन्दामा कति नेपाली ठगीए? अनुसन्धानपछि खुल्नेछ। तर अवैधरुपले ठुलो रकम करोबार भएको देखिएकाले ठगीनेहरू पनि धेरै रहेको हुन सक्ने प्रहरीको अनुमान छ।
नयाँ आवरणमा जुवा, वर्ष दिनमै ३ अर्ब १३ करोड करोबार
भारतबाट आएर नेपालमा अवैध बसेका उनीहरूले नयाँ आवरणमा जुवा खेलाएको तथ्य भेटिएको छ। उनीहरूले अनलाइनबाट जुवा खेलाउने र त्यसबाटै आर्थिक कारोबार गर्ने गरेको एसपी बोहोराले बताए।
अनलाइन जुवा खेलाएरै उनीहरूले वर्ष दिनमा ३ अर्ब १३ करोड बढीको कारोबार गरेको भेटिएको छ। ‘विगत वर्ष दिनदेखि नेपालमा बसेर अनलाइनमार्फत सट्टेबाजी गर्दै आएका तथ्य निजहरूले गरेको आर्थिक कारोबार गरेको नोट बुकबाट खुल्न आएको छ’, उनले भने।
यो कारोबार हाल देखिएको मात्र हो। उनीहरूले क्रिप्टो करेन्सीको पनि कारोबार गर्ने गरेको खुलेको छ। अहिले पनि बरामद गरिएको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार भएको देखिएको छ।

जुवा खेल्न प्रयोग गरिएको ल्यापट र मोबाइल साथमा अन्य बरामद गरिएका समान ।
यो अझै बढी हुन सक्ने एसपी बोहोराले बताए। ‘हामीले प्रारम्भिक अनुसन्धानबाट केही कारोबारको तथ्य भेटाएका छौँ। यो अझै बढी हुन सक्छ’, उनले भने, ‘क्रिप्टोसम्बन्धी विज्ञसँगको अनुसन्धानले त्यो खुलाउने छ।’
अनलाइन जुवा खेलाउनका लागि उनीहरूले ८८ वटा मोबाइल, १० थान ल्याप्टप प्रयोग भएको देखिएको छ। प्रहरीले सो मोबाइल र ल्याप्टपसहित ५० थान भारतीय सिम कार्ड, ९ थान भारतीय एटिएम, १५ जनाको आधार कार्ड र ७ थान हिसाबकिताब गरेको नोट बुक पनि बरामद गरेको छ।
जुवा खेलाउनका लागि वेवसाइट प्रयोग गरिने गरिएको थियो। ‘लोटस ३६५ स्पोर्ट डिजिटल’ (www.lotus.lotus365sport.digital) नामको वेवसाइटबाट जुवा खेलाउने र त्यसैबाट आर्थिक कारबार हुने गरेको एसपी बोहोराले बताए।
लोटस नामको उक्त वेव साइट अहिले पनि खुल्ने गर्छ। जुन वेवसाइटमा प्रवेश गरेपछि १८ वर्ष भन्दा माथिकालाई मात्र प्रयोग भनेर लेखिएको छ।

अवैध जुवा खेलाउन प्रयोग गरिएको वेवसाट खोल्दा देखिने पहिलो पेज।
बोहोराका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउनका लागि पहिले व्यक्तिको ह्वाटस् एपमा सम्पर्क गर्ने र त्यसपछि जुवामा सामेल गराउने गरेको देखिएको छ।
‘उक्त गेमिङ साइटकोबारेमा एजेण्टहरूको सम्पर्क नम्बरसहित विवरण राखी फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा विज्ञापन राखी प्रचारप्रसार गरेको पाइएको छ’, उनले भने।
तस्बिरहरू: बर्षा शाह/देशसञ्चार