
वीरगन्ज – राम्रो काममा लगाइदिने प्रलोभनमा पारी होटेलमा बेश्याबृत्तिमा लगाउने एक भारतीयसहित दुई जना वीरगन्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने ४५ बर्षका गिनीलाल गुप्ता र भारत विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ बस्ने ४० बर्षका जय प्रकाश साह रहेका छन्।
पक्राउ परेका दुबै जनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित होटलमा महिलालाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमाआएका ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले वीरगन्ज–१५ स्थित होटल स्मार्टबाट दुइ जना र न्यू शान्ति सैनिक होटलबाट दुइ जना गरी चार जना महिलाहरूको उद्धार गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए।पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।