
नेपालको राजनीति लामो संघर्ष, परिवर्तन र उतार–चढावको कथासँग जोडिएको छ। यहाँको राजनीतिक इतिहास राजा–महाराजाको शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, सशस्त्र संघर्ष, गणतन्त्र स्थापनासम्म आइपुग्दा अनेकौं मोडबाट गुज्रिएको छ।
अहिले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, तर स्थिरता, सुशासन र आर्थिक समृद्धिको अपेक्षाअनुरूपको परिणाम भने हासिल हुन सकेको छैन।
नेपालको राजनीतिक इतिहास धेरै पुरानो छ। तर, आधुनिक नेपालको राजनीति पृथ्वीनारायण शाहले स–साना राज्य एकीकरण गरेपछि सुरु भएको मानिन्छ। उनी शासनमा आएपछि नेपाल एकीकरण भए तापनि वास्तविक रूपमा जनताले अधिकार भने पाएका थिएनन्। राजा नै सत्ताको केन्द्रमा थिए, र राजनीतिक संरचना शक्तिशाली व्यक्तिहरूको हातमा सीमित थियो।
वि.सं. १९०३ (सन् १८४६) मा कोतपर्वपछि जंगबहादुर राणाले सत्ता हातमा लिएर राणा शासनको सुरुवात गरे। यो शासन झण्डै १०४ वर्षसम्म रह्यो, जसले नेपाललाई बाहिरी संसारबाट अलग राख्यो। राणा शासनमा जनतालाई कुनै राजनीतिक अधिकार थिएन, मात्र राजपरिवार र राणा वर्गले शासन चलाउने व्यवस्था थियो।
वि.सं. २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिपछि राणा शासन अन्त्य भयो र नेपालमा संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको आधारशीला राखियो। तर, नेपालको राजनीतिक स्थायित्व अझै पनि सुनिश्चित हुन सकेन।
वि।सं। २०१५ मा नेपालमा पहिलो आमनिर्वाचन भयो, जसमा नेपाली कांग्रेसले बहुमत ल्यायो। तर, २०१७ सालमा राजा महेन्द्रले ‘शाही कू’ गर्दै प्रजातन्त्र समाप्त पारेर ‘पञ्चायती व्यवस्थाू’लागू गरे। पञ्चायती शासन प्रणालीमा कुनै राजनीतिक दललाई मान्यता दिइएन, र सत्ताको सम्पूर्ण शक्ति राजाकै हातमा रह्यो।
२०४६ सालमा भएको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो। २०५२ सालमा नेकपा (माओवादी) ले सशस्त्र आन्दोलन सुरु गर्यो, जसले मुलुकलाई दशक लामो गृहयुद्धमा धकेल्यो। अन्ततः २०६२र६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो, र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित भयो।
२०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो, जसले नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढायो। केही राजनीतिक उतार–चढावपछि २०७२ सालमा नेपालको नयाँ संविधान जारी भयो।
राजनीति भनेको केवल सत्ताको खेल मात्र होइन, यो मुलुक र नागरिकको भविष्यसँग जोडिएको विषय हो। त्यसैले, नेपाली राजनीतिलाई सही दिशामा लैजान सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैको सक्रिय भूमिका आवश्यक छ।
नेपालको वर्तमान राजनीति
नेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको छ, जहाँ तीन तहको सरकार (संघीय, प्रदेश, स्थानीय) सञ्चालनमा छन्। संविधानले जनतालाई अधिकार सम्पन्न बनाए पनि, राजनीतिक दलहरूबीचको विवाद, अस्थिरता र सत्ता समीकरणका कारण व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा अपेक्षित सुधार आउन सकेको छैन।
हाल नेपालको राजनीतिक अवस्था अस्थिर छ। सरकार बारम्बार परिवर्तन हुने प्रवृत्तिले विकासमा अवरोध पुर्याएको छ। राजनीतिक दलहरूबीच गम्भीर असहमति रहँदा नीति निर्माण प्रक्रियामा ढिलाइ भइरहेको छ।
नेपालको राजनीति अहिले पनि विभिन्न समस्याहरूको चपेटामा छ। राजनीतिक स्थायित्वको अभाव, भ्रष्टाचार, गुटबन्दी, वैदेशिक हस्तक्षेप, सुशासनको कमजोरी जस्ता कारणले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन कठिन भइरहेको छ।
सबैभन्दा ठूलो चुनौती भनेको राजनीतिक अस्थिरता नै हो। नेपालमा एक स्थिर सरकार टिक्ने सम्भावना निकै न्यून देखिन्छ, किनभने हरेक केही वर्षमा नयाँ सरकार बन्ने क्रम जारी छ। यसले दीर्घकालीन नीति निर्माण गर्न कठिनाइ उत्पन्न गरेको छ।
भ्रष्टाचार अर्को ठूलो समस्या हो। नेपालमा ठूला राजनीतिक नेताहरूदेखि साना प्रशासनिक कर्मचारीसम्म भ्रष्टाचारमा संलग्न देखिन्छन्। यसले कानुनी राज्य कमजोर बनाएको छ र नागरिकमा सरकारप्रति विश्वास घट्दै गएको छ।
सङ्घीयता कार्यान्वयनको चुनौती पनि देखिएको छ। प्रदेश सरकारहरू अझै पूर्णरूपमा प्रभावकारी हुन सकेका छैनन्। संघीय सरकारले आवश्यक स्रोतसाधन र अधिकार प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गरेको छ, जसका कारण यो प्रणाली अपेक्षाअनुसार सफल हुन सकेको छैन।
नेपालको भविष्य र सम्भावना
नेपालको राजनीतिक सुधारका लागि सबैभन्दा पहिलो कुरा भनेको स्थिर सरकारको स्थापना हो। मुलुकको दीर्घकालीन विकासका लागि दलीय सहमति र राजनीतिक स्थायित्व अपरिहार्य छ।
भ्रष्टाचार नियन्त्रण गर्नका लागि सशक्त कानुनी प्रणाली आवश्यक छ। निष्पक्ष न्यायपालिका, पारदर्शी प्रशासनिक संरचना, र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनु नेपालका लागि महत्त्वपूर्ण हुनेछ।
सङ्घीयताको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकारहरूलाई सशक्त बनाउनुपर्नेछ। तिनलाई स्रोतसाधन, जनशक्ति र आवश्यक कानुनी अधिकार प्रदान गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्छ।
अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नेपालले कूटनीतिक बुद्धिमत्ता अपनाउनु आवश्यक छ। नेपाल भारत र चीनजस्ता ठूला छिमेकी देशहरूको बीचमा रहेको संवेदनशील भूराजनीतिक अवस्थाबाट लाभ उठाउन सक्छ, तर यसका लागि बुद्धिमान् कूटनीतिक नीति आवश्यक छ।
नेपालको आर्थिक विकास को आधार कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा निर्भर छ। सरकारले यी क्षेत्रहरूमा लगानी वृद्धि गरेर रोजगारी सिर्जना गर्नुपर्छ। नेपाली युवा विदेशी भूमिमा श्रम गर्न बाध्य नहुन् भनेर देशभित्रै रोजगारका अवसर सिर्जना गर्नुपर्नेछ।
नेपालको राजनीति लामो संघर्ष र परिवर्तनको परिणामस्वरूप अहिलेको अवस्थामा आइपुगेको हो। तर, राजनीतिक अस्थिरता, भ्रष्टाचार, सुशासनको अभाव र दलीय स्वार्थहरूले मुलुकको समृद्धि रोकिएको छ। अब नेपाललाई अगाडि बढाउनका लागि स्थिरता, पारदर्शिता, जवाफदेहिता, र दीर्घकालीन योजना आवश्यक छ।
राजनीति भनेको केवल सत्ताको खेल मात्र होइन, यो मुलुक र नागरिकको भविष्यसँग जोडिएको विषय हो। त्यसैले, नेपाली राजनीतिलाई सही दिशामा लैजान सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैको सक्रिय भूमिका आवश्यक छ।
यदि सही नीति र सुधारका प्रयासहरू लागू गर्न सकियो भने, नेपालले भविष्यमा स्थिर, समृद्ध र लोकतान्त्रिक मुलुकको रूपमा आफूलाई स्थापित गर्न सक्छ। नेपालको राजनीतिक भविष्य अझै पनि सम्भावनायुक्त छ, तर त्यसका लागि दीर्घकालीन सोच, इमानदार नेतृत्व, र पारदर्शी शासन प्रणाली अवलम्बन गर्नु अनिवार्य छ।