वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार वीरगञ्जमा रहेको निजी अस्पतालहरुको अनुगमन गरेका छन् ।
उनले वीरगञ्जमा हाल संचालित विभिन्न निजी अस्पतालहरुमा पुगेर अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले अस्पतालले दिने सेवा सुविधा, नियम अनुसार बिरामीलाई अस्पतालबा उपलब्ध हुने छुट सुविधा,अस्पतालहरुको दर्ता, कानुन अनुसार संचालित रहे नरहेको बारेमा सोधपुछ गरेका थिए ।
उनले भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वाेत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताललगायत विभिन्न निजी अस्पतालहरुमा पुगि अनुगमन गरेका थिए ।
सोही क्रममा वीरगञ्ज महानगरपालिका- १५ प्रतिमा चोकस्थित सन्चालनमा रहेको नेपाल इन्डो हस्पिटल एन्ड आइ केयर सेन्टर अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका थिए ।
अस्पतालले अस्पताल एवम् स्वास्थ संस्था कानुन बमोजिम अस्पताल सेवा सन्चालन स्वीकृति नलिएको कगजातबाट देखिएकोले बन्द गर्न मुख्य मन्त्री सिंहले निर्देशन दिएको जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।साथै अस्पतालमा हाल उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न, नयाँ बिरामीको भर्ना एवम् उपचार पूर्ण रूपमा बन्द गर्न पनि पत्र काटिएको ठाकुरले बताए ।
मधेसमा थुप्रै अस्पताल तथा स्वास्थ संस्थाहरु बिना अनुमती गैरकानुनी रूपमा सन्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंह स्वयं अनुगमन गर्दै आएका छन् । यसअघि उनले प्रदेशको राजधानी जनकपुरमा पनि विभिन्न अस्पतालको अनुगमन गरी दर्ताबिना र मापदण्ड बिपरित सन्चालनमा रहेका आधा दर्जन भन्दा बढी अस्पताल बन्द गराइ सकेका छ्न् ।
यस्तै, मुख्यमन्त्री सिंहले वीरगञ्जका होटलहरुमा संचालित क्यासिनोहरुमा पनि अनुगमन गरेका थिए । उनले होटेल दियालो लर्ड्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका थिए ।
वीरगञ्जमा सन्चालनमा रहेका होटेलहरुमा गैरकानुनी रुपमा नेपालीहरुलाई जुवा खेलाउने गरेको स्थानीयहरुको गुनासो छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































