
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग थप आक्रमक भएका छन्। उनले युक्रेनविरुद्ध एकपछि अर्को कडा अभिव्यक्ति दिइरहेका छन्। केहीदिन अघि युक्रेनले युद्ध गरेर गल्ती गरेको भनेका ट्रम्पले बुधबार भने जेलेन्सकीलाई ‘तानसाह’कै उपमा दिए।
यो अभिव्यक्ति पछि दुई नेताबिचको दूरी थप बढेको छ। ट्रम्पको यो अभिब्यक्ति जेलेन्सकीले साउदी अरबमा भएको अमेरिका-रुस वार्तामा कीभलाई समावेश नगरिएकोमा जनाएको प्रतिकृयापछि आएको हो।
जेलेन्सकीले प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ‘मस्कोद्वारा सञ्चालित भ्रामक जानकारीको संसारमा बसिरहेको’ बताएका थिए। फ्लोरिडामा साउदी समर्थनमा आयोजित लगानी सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘जेलेन्स्की वास्तवमै एक मात्र कुरामा कुशल देखिए त्यो भनेको जो बाइडेनलाई सजिलै नचाउन सक्नु हो।’
उनले ‘तानसाह’ भनेपछि युरोपका नेताहरु भने असन्तुष्ट सुनिए। विशेष गरी जर्मन चान्सलर ओलाफ स्कोल्ज राष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधतालाई अस्वीकार गर्नु गलत भएको बताए। उनले यसले खतरा निम्त्याउने बताए।
त्यस्तै बेलायतका प्रधानमन्त्री सर कीयर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेर आफ्नो समर्थन स्पष्ट रूपमा व्यक्त गरेका छन्। डाउनिङ स्ट्रिटका प्रवक्ताले भने,’सर कीयरले राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनका प्रजातान्त्रिक रूपमा निर्वाचित नेता भनेर समर्थन जनाएका छन्।’
प्रवक्ताले भने ‘युद्धकालमा चुनाव स्थगित गर्नु पूर्ण रूपमा उचित हो, जस्तै दोस्रो विश्वयुद्धको समयमा बेलायतले गरेको थियो।’
जेलेन्स्कीको पाँच वर्षे कार्यकाल २०२४ को मे महिनामा समाप्त हुने तय थियो। तर, रूसले फेब्रुअरी २०२२ मा पूर्ण रूपमा हमला गरेपछि युक्रेनमा सैन्य कानुन लागू छ, जसका कारण चुनाव स्थगित अवस्थामा रहेको छ।
फ्लोरिडामा ट्रम्पले आफ्नो सम्बोधन गर्नुअघि सोही भाषा आफ्नो सामाजिक सञ्जाल ट्रुथमा पनि लेखेका थिए। उनले ट्रुथमा लेखेका थिए ‘उनी चुनाव गर्न अस्वीकार गर्छन्। उनी युक्रेनका वास्तविक सर्वेक्षणहरूमा निकै कमजोर छन्। जब प्रत्येक सहर ध्वस्त भइसकेको छ भने कसरी लोकप्रिय हुन सक्छ?’ ट्रम्पले भने। उनले युक्रेनबाट दुर्लभ खनिज ल्याउने आफ्ना योजनाको पनि उल्लेख गर्दै जेलेन्स्कीको सरकारलाई ‘सम्झौता तोडेको’ आरोप लगाए।
ट्रम्पको भनाइ ट्रुथ सोसलमा उनले लेखेको पोस्टसँग मेल खान्थ्यो, जहाँ उनले भनेका थिए, ‘जेलेन्स्कीले अत्यन्त खराब काम गरेका छन्, उनको देश ध्वस्त भइसकेको छ, र लाखौँले अनावश्यक रूपमा ज्यान गुमाएका छन्।’
मंगलबार अमेरिकी र रुसी अधिकारीहरूले रूसको पूर्ण आक्रमणपछि पहिलोपटक उच्चस्तरीय प्रत्यक्ष वार्ता गरेका थिए। अब चाँडै ट्रम्प र पुटिनबिच शिखर वार्ता हुन सक्ने दाबीसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्।