
काठमाडौँ – सिर्जन (परिवर्तित नाम) भारतको उडिसा राज्यको भुवनेश्वरस्थित निजी विश्वविद्यालय कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा पढ्दै छन्।
तर अहिले उनी केआइआइटीमा पढिरहेका छैनन्। हप्ता दिन हुन लाग्यो उनले कलेज छाडेको। किनकि यस कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देही बुटवलकी प्रकृति लम्साल फागुन ४ गते मृत फेला परेपछि सिर्जन स्वदेश फर्किएका छन्, पीडाको भारी बोकेर।
सिर्जन आफै नेपाल फर्किएका होइनन्। कलेजले होस्टेलबाट निकालिदियो। त्यसपछि उनी फर्किन बाध्य भएका हुन्। ४ गते साँझ साढे ४ बजेतिर लम्साल मृत फेला परिन्। अर्को दिन ५ गते सिर्जनलाई कलेजले होस्टेलबाट निकाल्यो।
उनकै भाषामा भन्ने हो भने कलेजले कुकुरलाई भन्दा नि बढी दु:ख दिएर निकालेको थियो। ५ गतेको एकाबिहानै होस्टेलमा बसिरहेको समयमा एकाएक होस्टेलका वार्डेन आए। १० मिनेटमा झोला प्याक गर्न भने। र निस्कन भने।
तर किन? कहिलेसम्म निस्केन भन्ने सिर्जनलाई न भनिएको थियो न कुनै पेपर दिइएको थियो। तर निस्किहाल भनेपछि उनी ब्याग प्याक गरेर निस्किए। होस्टेलको गेटमा मात्र के आइपुगेका थिए– जहाँ उनले नसोचेको भोग्नुपर्यो।
सिर्जनलाई ६ जनाको केटाहरूको समूहले कुटपिट गरे। कुनै हतियार त थिएन, हात र लात्ती भने सिर्जनमाथि बर्सियो। घर निस्क भनेपछि ब्याग बोकेर निस्किएका उनलाई किन कुटियो त्यो पनि उनलाई थाहा छैन। तँ नेपाली होस् भन्दै कुटपिट गरेको उनले बताए।
सिर्जनलाई कुटपिट गर्नेबेला अन्य साथीहरूले छेक्न खोजे। छेक्न खोजेहरूमाथि पनि कुटपिट भयो। बाहिर कताबाट आएका बडिबिल्डर (ठूला ज्यान भएका)हरूले कुटपिट गरेको उनी बताउँछन्।
बाहिर उनी कुटिएपछि ज्यान जोगाउन भित्र कलेको इन्चार्जको कार्यकक्षमा पुगे। जहाँ सुरक्षित हुन्छु कि भन्ने सिर्जनलाई लागेको थियो। इन्चार्जको कार्यकक्ष पनि के सुरक्षित हुन्थ्यो र त्यहाँ त उनलाई सोफामा सुताएर घाँटी न्याकियो, आफ्नै शिक्षकका अगाडि।
‘बाहिर कुटिएपछि भित्र इन्चार्जकोमा गएपछि कुटपिट हुँदैन भन्दै भित्र गएँ। त्यहाँ टिचर (शिक्षक)का अगाडि हानियो। मलाई सोफामा सुताएर पनि हान्यो। घाँटी न्याक्यो’, उनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनमा भने।
सेतो ज्याकेट लगाएका। ज्याकेटसँग झुण्डिएको सेतै टोपीले आधि अनुहार छोपिने गरी शीर ढाकेका र मुखमा सेतै मास्क, कालो चस्माले आँखा छोपि हुलिया लुकाएर पत्रकार सम्मेलनमा केआइआइटीले दिएको पीडा उनले सुनाएका थिए।
बोल्दा पनि डरमा देखिएका उनी आफ्नो पीडालाई शब्दमा उतार्न सकिरहेका थिएनन्। ‘कुकुरलाई जसरी हानियो। हामी त मान्छे हो नि। कुकुरलाई पनि त्यसरी हानिँदैन होला’, उनले कुटपिटको ग्राफ शब्दमा नापे।
कोहीले लाठीले हानेको पनि उनले बताए। ‘केही नगरेर नर्मली होस्टेलबाट निस्कँदा लाठीले पनि हानियो। सुताएर हानियो। त्यस दिन त मलाई घाँटी चलाउन पनि निकै गाह्रो भयो’, सिर्जनले सुनाए।
सिर्जनले कलेज इन्चार्ज अगाडि विश्वविद्यालयका विरुद्धमा बोल्ने तँ होइनस् भन्दै कुटिएको बताए।
लम्सालको मृत्यु र त्यसपछि केआइआइटीमा उत्पन्न भएको विवादपछि कुटाइ खाने सिर्जन यहाँ देखाइएको एक पात्र हुन्। उस्तै अवस्था भोगेका धेरै नेपाली विद्यार्थी छन्। ब्याचलर बढ्दै गरेका २०–२२ वर्षका उनीहरूमाथि कलेजले कुन हदसम्म गिरेर व्यवहार गर्यो र गर्छ भन्नेमा अझै पनि उनीहरू आफ्नो परिचय खुलाएर पीडा सुनाउन नसक्नुले प्रष्ट हुन्छ।
शनिबार पत्रकार सम्मेलनमा आएका ११ जना विद्यार्थीहरू जसले आफ्नो परिचय थोरै पनि खुलाएन चाहेनन्। किनभने फेरि आफूहरू कलेजमा अध्ययन पूरा गर्न फर्कनुपर्छ र त्यहाँ जे पनि हुन सक्छ भन्ने त्रासमा छन्।
कलेजको बाहुबली रुपको अन्तर्य
लम्साल होस्टेलमा मृत भेटिएपछि फागनु ४ गते विद्यार्थीहरूले होस्टेल अगाडि शान्तिपूर्ण रुपमा घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
लम्साल होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। तर किन उनले आत्महत्या गरिन् भन्नेमा विभिन्न आशंकाहरू साथी विद्यार्थीहरूले गरे।
बुझ्दै जाँदा उनको पूर्व प्रेमीले मानसिक रुपमा टर्चर गरेको विद्यार्थीले बुझे। लम्साले आफ्नो पूर्व प्रेमीले गरेको मानसिक टर्चरका बारेमा कलेज प्रशासनलाई जानकारी गराएकी पनि थिइन्।
तर कलेज प्रशासनले उक्त घटनामा कुनै कारबाही गरेन। पूर्वप्रेमी पनि सोही कलेजमा पढ्ने हुन्।
लम्साल मृत भेटिएको दिन पनि उनले पूर्व प्रेमीसँग कुरा गरेको थाहा पाएको विद्यार्थीहरूले बताएका छन्।
उनी मृत भेटिएपछि विद्यार्थीहरूले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, छानबिन प्रहरीले गर्नुपर्ने र लम्साले जानकारी बनाउँदा पनि केही काम नगर्ने कलेजका जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरूले माग गरेका थिए।
विद्यार्थीको मागमा कलेज प्रशासनले कुनै वास्ता गरेन। साथै लम्सालको मोबाइल र ल्यापटमसमेत गायव पारिएको विद्यार्थीले थाहा पाए त्यसपछि विद्यार्थी थप आक्रशित भए, यहाँ थप गडबड गरिँदै छ भनेर।
शुक्रबार पत्रकार सम्मेलनमा घटनाबारे जानकारी गराउँदै नेपाल फर्किएका अर्का एक विद्यार्थी जीवनारायण (परिवर्तित नाम)ले भने– ‘प्रकृतिको मोबाइल र ल्यापटप कहाँ छ भन्दा कलेजले प्रहरीले लगेको भन्यो। प्रहरीले थाहा छैन भन्यो। त्यसपछि यहाँ गडबड हुँदै छ भन्ने हामीलाई लाग्यो।’
कलेज प्रशासनले लम्सालको घटनाबारे जानकारी भएका अन्य साथीहरूलाई होस्टेलमै थुन्यो। बाहिर निसक्न दिएन। जतिबेला ४ गतेको रातिको ११ बजिसकेको थियो। केआइआइटी युनिभर्सिटीका उपकलुपति, निर्देशक आएर विद्यार्थीलाई घटनाबारे सत्यतथ्य छानबनि गर्न सघाउने बताए पनि उनीहरूले व्यवहारमा देखाएका थिएनन्।
‘युनिभर्सिटीका उपकलुपति, निर्देशक आएर हामीसँग कुरा गरे। त्यसपछि फोन र ल्यापटप कहाँ छ भन्ने थाहा भएन। युनिभर्सीटीले प्रहरीसँग छ भन्यो। प्रहरीले हामीले कुनै सामान पाएका छैनौँ भन्यो’, घटनाबारे जानकारी गराउँदै जीवनारायणले भने, ‘तर ल्यापट र मोबाइल हेरेर आउँछु भनेर जानुभएको एक दिदीलाई पनि होस्टेलमै थुन्यो। त्यसपछि हामीले यहाँ केही भएको छ भनेर शंका लाग्यो।’
ल्यापटप, मोबाइल कोठामा हेर्न गएकालाई बाहिर आउन नदिएपछि बाहिर शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीहरू गएर अन्यलाई पनि होस्टेलबाट बाहिर निकाल्न सकेको उनले बताए।
४ गतेको रात त्यसै माग राख्दैमा बित्यो। ५ गते एकाबिहानै भने कलेजले बाहुबली देखायो। जहाँ प्रहरीलाई बल प्रयोग गर्न भन्यो। ‘अर्को दिन बिहान ५ बजेतिर हामीमाथि प्रहरीले बल प्रयोग गर्यो’, जीवनारायणले भने।
उनकाअनुसार रातभरको थकानले धेरै विद्यार्थी होस्टेल गएको अवस्थामा प्रहरीले थोरै विद्यार्थीमाथि लाठी चार्ज गर्यो। त्यसपछि कलेजको सेक्युरिटी गार्डले पनि विद्यार्थीमाथि कुटपिट गर्यो। जुन दृष्य सामाजिक सञ्जालबाट पनि बाहिरिएको थियो।
सामाजिक सञ्जालबाट बाहिएको भिडियो एक टुक्रा मात्र भएको नेपाल फर्किएका विद्यार्थीहरूले बताएका छन्। ‘त्यो भिडियो त एक टुक्रा मात्र हो। त्यहाँ बाहिरबाट गुण्डा ल्याएर बडी बिल्डर ल्याएर हामीमाथि कुटपिट गरियो’, जीवनारायणले भने।
कुटपिट भएपछि विद्यार्थीहरू होस्टल जान बाध्य भए। ‘हामीमाथि कुटपिट भएपछि केही गर्न सकेनौँ। त्यसपछि होस्टेलतिर जान बाध्य भयौँ’, उनले भने।
आन्दोलन गरेका विद्यार्थी कुटपिटपछि होस्टल जाँदै थिए। कैदीलाई जस्तो व्यवहार गरिँदै थियो। ‘हामी होस्टेलमा फर्किँदै गर्दाखेरी यता केटीहरूलाई होस्टेलभित्रबाट निकालिँदै थियो’, जीवनारायणले भने ‘त्यसपछि हामीलाई कैदीलाई जस्तो व्यवहार गरियो। तँ १० मिनेटमा निक्लिहाल्। हाम्रो देशमा नबस्। तेरो देशमा जा खेत खन् जस्ता व्यवहार गरियो।’
तँ निस्किहाल पनि गिज्याउँदै भनिएको विद्यार्थी बताउँछन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि तेरो देशको बजेटभन्दा यो विश्विद्यालयको बजेट धेरै छ। तँ घर गइहाल भन्ने जस्ता शब्द प्रयोग गरिएको देखिएको थियो।
जसको नेपालको संसद्देखि सडकसम्म विरोध भयो।
कलेज प्रशासनले कुटपिट गर्दै होस्टेलबाट ९० प्रतिशत नेपाली विद्यार्थीहरूलाई निकालेको विद्यार्थी दाबी गर्छन्।
उनीहरू यसअघि पनि आत्महत्याका घटना कलेजमा हुने तर एक होस्टेलदेखि अर्को होस्टेलमा थाहा नहुने बताउँछन्।