
चितवन– जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना हुने गरेको पाइएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन्।
त्यसमा बेलुका ६ देखि राति १२ बजेको समयमा धेरै दुर्घटना भएका हुन्। यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन्।
चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा सात सय ७२ सवारीसाधन संलग्न देखिन्छन्।
चालू आवको सुरूको चार महिनामा दुई सय ६१ दुर्घटना भएका थिए। पछिल्लो दुई महिनामा मात्रै दुई सय ४७ दुर्घटना भएको तथ्याङ्कले देखाएको छ।
शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन्।
यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनले बताए।
जिल्लामा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ। पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो। पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ।
शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ।
सवारी साधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक सय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एक सय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ।