
वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिका-१ मा रहेको नवजन्म पुनःस्थापना केन्द्रमा ३७ वर्षीय प्रदिपप्रसाद मण्डलको कुटपिटबाट मत्यु भएको १० दिन बितिसक्दा पनि सञ्चालक अझै पक्राउ परेका छैनन्।
सुधार केन्द्रमा विवाद हुँदा गत फागुन २ गते राति कलैया-९ रामपुरका मण्डललाई सुधार केन्द्रमा रहेकाहरु र कर्मचारीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
कुटपिटपछि उपचारको लागि मण्डललाई कलैया सिटी अस्पताल लगिएको थियो। थप उपचारको लागि प्रादेशिक अस्पतालमा लगेपछि चिकित्सकले मण्डललाई मृत घोषित गरेका थिए।
कुटपिटमा संलग्न ७ जनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो। तर, सुधार केन्द्रका सञ्चालक भने अझै पनि कानुनी दायरामा आउन सकेका छैनन्।
केन्द्रका सञ्चालक साहेब मन्सुर घटना भएको १० दिन बित्दा पनि पक्राउ परेका छैनन्। गत माघ १५ गते मण्डललाई उनका परिवारले सुधार केन्द्रमा भर्ना गरेको थियो।
सुधार केन्द्रमै रहेकाहरुले कुटपिट गरी हत्या गरेको सिसिटिभीमा समेत भिडियो कैद भएको थियो। घटना भएपछि मृतकका परिवारजनले बारा प्रहरीमा ९ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
तीमध्ये कलैया–३ का १९ वर्षीय सरफराज मन्सुर, २९ वर्षीय तमन्ना अली, वडा नम्बर ४ का २२ वर्षीय निरज सरार्फ, वडा नम्बर ६ का २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरूण सरार्फ, १९ वर्षीय सागर गुप्ता र वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साहलाई पक्राउ गरी प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
केन्द्रका सञ्चालक मन्सुर र अन्य दुई जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।
घटनापछि मण्डलका परिवार र स्थानीयले सञ्चालकलाई पक्राउ गर्न माग गर्दै कलैयामा विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।