
काठमाडौँ – आइतबारदेखि नेपालको पूर्वी भागबाट छिटफुट वर्षा सुरू भएको छ। मौसमविद्को भाषामा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ।
शून्यदेखि १० मिलिमिटर वर्षालाई हल्का र १० देखि ५० मिलिमिटरलाई मध्यम वर्षा भनिन्छ। ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
विगत २४ घण्टामा वर्षा सुरु भएको पूर्वी नेपालमा छिटफुटरुपमा मात्र हल्कादेखि मध्यम वर्षा भयो। त्यो वर्षाले पनि पुरै पूर्वी नेपाललाई भिजाउन सकेन। पूर्वी नेपालको तराईका केही भू–भागमा मात्र।
वर्षा हुने मनसुनी वायु पश्चिमतिर देखिएको छैन। हाल देखिने सम्भावना पनि छैन। काठमाडौँ राजधानीसम्म मनसुनी वायु देखा परेको छ। सोमबार दिउँसोदेखि काठमाडौँ राजधानीलाई बादलले पुरै ढाकेको छ।
तर यो बादल पानी नबोकी डुलिरहेको छ। राजधानीमा मात्र होइन। यस्तै बादल कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा मात्र डुलिरहेको छ।
जसले कतै–कतै हल्लादेखि मध्यम वर्षा गराउन सक्छ। त्योभन्दा ठूलो वर्षा गराउने पानी यस बादलले बोकेको छैन। यही बादल पनि मंगलबार कम हुने पूर्वानुमान छ।
‘कोशी प्रदेशका तराईका जिल्ला, बागमती र गण्डकी प्रदेशमा मात्र अहिले पनि केही ठाउँमा वर्षा भएको छ। तर ठूलो छैन। हल्कादेखि मध्यम वर्षा हो’, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘भोलि (मंगलबार) यो पनि कम हुने देखिन्छ।’
यस मनसुनले हिमाली क्षेत्रमा हल्का हिमपात गराउने सम्भावना पनि छ।
किन पानी नबोकी डुलिरहेको छ बादल?
देशका सात प्रदेशमध्ये तीन प्रदेशमा मात्र डुलिरहेको यस बादलले पानी नबोक्नुको कारण पश्चिमी वायुसँग जोडिएको छ।
खडेरीले तिर्खाएको हिउँदयामलाई भिजाउन पश्चिमी बंङ्गालबाट उठिआएको वायुले मात्र सक्छ। हिउँदमा पानी पार्ने भनेको पश्चिमी वायु हो। त्यही वायु नेपाल नभित्रिँदा यो हिउँदयाम खडेरीमै सकिने सम्भावना छ।
अहिले तीन प्रदेशमा देखिएको पानीविहीन बादलमा पश्चिमबाट उठिआएको होइन। यो स्थानीय बादल हो। पश्चिमी बादलको यस पटक कम मात्रामा छ।
‘ठूलो पानी पर्नका लागि पश्चिम वायुको प्रभाव धेरै हुनुपर्छ। तर यस पटक देखिएको यो वायु पश्चिमी होइन। स्थानीय वायु हो। त्यसैले गर्दा पनि ठूलो पानी पर्ने अवस्था छैन’, मौसमविद् मानन्धरले भनिन्।
पश्चिमी वायुको प्रभाव पहिले पश्चिममा हुन्छ। पश्चिम नेपालाई भिजाएर मात्र उक्त वायु पूर्वतिर सर्छ।
तर यस पटकको हिउँदमा देखिएको वर्षा पूर्वमा देखापर्यो। यो पूर्णतया स्थानीय रुपमा विकास भएको वायु भएको मानन्धरले बताइन्।
अहिले पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा बादल न पानी खडेरीमै छ। मधेश प्रदेशमा त गर्मी सुरु भइसकेको छ। पानी नपरेपछि हिउँदेवाली यसै पनि सुकिगएको छ।
हिउँदमा यस वर्ष कम वर्षा हुने पूर्वमानुमान यसअघि नै भइसकेको छ। हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने गरेकोमा केही वर्षदेखि यो निरन्तर घटिरहेको छ।
यस वर्ष दिउँदमा कति पानी पर्छ भन्ने अनुमान भने गरिएको छैन।
गत वर्ष विस २०८० को हिउँदमा सरदर १२.५ मिलिमिटर मात्रै वर्षा भएको थियो। पूर्वानुमानअनुसार गत वर्षभन्दा यस वर्ष बढी खडेरी हुने भनिएको छ।