
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको बताए।
उनले स्वास्थ्य बीमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने बताए।उनले कसैले उपचार नगरी उपचार गराएँ भनेर भुक्तानी लिन्छ भने उसको सम्बधन खारेज गर्ने बताए।
मन्त्री पौडेलले भने, ‘उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ। सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर हुनुहुन्छ। हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ। पैरवी गरिरहेका छौँ। यसले सकारात्मक नतिजा ल्याउँछ।’
मन्त्री पौडेलले राज्यले नागरिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व दुर्गम भेगमा पनि कसरी पूरा गर्ने भन्ने कुरामा सरकारले बढी जोड दिइरहेको बताए। उनले दक्ष जनशक्तिलाई स्वदेशमै कसरी राख्ने भन्ने चुनौती रहेको बताए।