होटल तथा पर्यटन व्यवसायी खेम लकाइ कुनै समय दोलखाबाट ट्रक चढेर काठमाडौँ आएका थिए। सोल्टी होटलबाट सुरु भएको उनको यात्रा अहिले होटल व्यवस्थापनको पहिलो निजी कलेजको स्थापनाबाट होटल तथा अन्य पर्यटन क्षेत्रमा सक्रियतासँगै अघि बढिरहेको छ।
देशसञ्चार चौतारीका लागि उनले यसपटक सहकर्मीहरूका अनेकौँ प्रश्नहरूको मीठो शैलीमा उत्तर दिए। डिल्लीबजारस्थित विजय स्मारक विद्यालयबाट शैक्षिक अध्ययन अघि बढाएका उनी ढाकाटोपी लगाएरै स्कुल जाँदा कुनै बेला जोकको पात्र पनि बनेका थिए।
मीना पनेरू म्यामको प्रेरणाबाट आफू फस्ट बेन्चमा आइपुगेको र त्यसले आफ्नो यात्राले सहज मार्ग पाएको बताउँछन् उनी। एसएलसी पास हुनेबित्तिकै कानुन क्षेत्रमा इन्टर्नसिप गरे पनि उनले ६ महिनामै यो आफ्नो बाटो नभएको बुझे। त्यसपछि उनी होटल व्यवस्थापनको क्षेत्रमा अगाडि बढे।
सोल्टी होटलबाट औपचारिक काम सुरु गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। आफूलाई लागेका क्षेत्रमा खोजी गर्न रुचाउने खेम लकाइ आफ्नै रहरले हङकङ पनि पुगे। त्यहाँ अड्न नसकेपछि फेरि नेपाल फर्के र यहाँ नै संघर्ष गर्न थाले। नेपालमै रहँदा स्विट्जरल्यान्डमा पढ्न मौका पाएका खेमले त्यहाँ धेरै ज्ञान र अनुभव हासिल गरे। उनले स्विट्जरल्यान्डमा पाएको त्यही ज्ञान र अनुभवलाई अहिले नेपालमा प्रयोग गरिरहेका छन्।
स्विट्जरल्यान्डमा पाएको आफ्नो त्यही अनुभवकै कारण उनले नेपालमा पनि होटल व्यवस्थापन क्षेत्रको कलेज खोजे जुन अहिले गेट कलेजका रूपमा चिनिएको छ। नेपाली सांस्कृतिक रूपले नै अतिथि सत्कार गर्ने जाति भएको उल्लेख गर्दै उनले यही सम्पदालाई हामीले देशका लागि प्रयोग गर्नसक्ने उनले बताए।
आफ्नो पालामा शिक्षक एकदमै सम्मानित पेसा भएको तर अहिले राम्रोसँग पढ्लास् नत्र शिक्षक बन्लास् भन्ने अवस्था सिर्जना भएको उनले बताए। नेपाल सबै हिसाबले एकदमै राम्रो देश भए पनि यहाँका सम्पदा खासै सदुपयोग गर्न नसकिएको उनले बताए।
अहिले संसारमा मानिसले धनसम्पत्ति हासिल गरेको तर यो भागदौडमा वास्तविकता बिर्सिएको उनले बताए। त्यसैगरी उनले नेपालमा पहाडमा हिँड्नु र मूलको पानी खान पाउनु ध्यानबराबर भएको बताए।
नेपालमा मानिसहरूसँग सिप भएको र त्यसलाई समग्र विकासमा प्रयोग गर्न सकिने पनि उनले बताए। ‘अब गरिखाने शिक्षामा काम गर्नुपर्छ, शिक्षाले मानिसको जीविकामा फाइदा पुग्नुपर्छ,’ उनले अन्तर्वार्ताका क्रममा भने।
पूरा अन्तर्वार्ता: