वीरगञ्ज – संघीय सरकारका तीन जना मन्त्रीकाे उपस्थितिमा पर्साको पोखरिया नगरपालिकामा निर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरिएकाे छ। 
कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनिर्मित कार्यालयको उद्घाटन गरेका थिए। मन्त्री अधिकारीसहित संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको पनि कार्यक्रममा उपस्थिति थियो।
सोही कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेशकै खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल पनि सहभागी थिए।
सरकारले पर्सा जिल्लाको ग्रामीण भेगका जनतालाई सहज हुने भन्दै वीरगञ्जमा रहेको मालपोत तथा नापी कार्यालयको सेवा बिस्तार गर्दै पोखरियामा पनि कार्यालय स्थापना गरेको हो। पोखरियामा रहेको उक्त कार्यालयबाट पोखरिया नगरपालिका, छिपहरमाइ गाउँपालिका,कालिकामाइ,पकहा मैनपुर,बिन्द्वासिनी,धोबिनी र जगरनाथपुर गाउँपालिका गरी सात पालिकाको जग्गा जमिनसम्बन्धी कार्य हुनेछन्।

कार्यक्रममा उपस्थित भएका संघीय सरकारका सामान्य प्रशासनमन्त्री गुप्ता र कानुनमन्त्री चौरसिया पर्सा जिल्लाकै हुन्। यस्तै मधेस सरकारका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री क्षेत्री र खेलकुदमन्त्री जयसवाल पनि पर्साबाटै निर्वाचित भएर मन्त्री बनेका हुन्।यसमध्ये मन्त्री गुप्ता र क्षेत्रीको निर्वाचन क्षेत्रमै कार्यालय स्थापना भएको हो ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































