
काठमाडौँ – वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा विस्तार गरिएको जानकारी दिए।
अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ। उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताए।
प्रवक्ता डा. बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गरे।
उनले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताए।