
सिमकोट – पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमा सिमकोट गाउँपालिकाका ७३८ जना लक्षित किशोरीलाई खोप लगाइने भएको छ। जिल्लामा फागुन १८ गतेबाट सो अभियान सुरु हुनेछ।
जनप्रतिनिधि, प्रधानाध्यापक, सञ्चारकर्मी र अन्य सरोकारवाला पक्षलाई एचपिभी खोप अभियानबारे जानकारी दिने कार्य भएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।
सिमकोट गाउँपालिकाका १३ वटा खोप केन्द्र रहेका विद्यालय र पाँच वटा स्वास्थ्य संस्था ठेहे, बरगाउँ, डाँडाफया, स्याँडा स्वास्थ्य चौकी र माथिल्लो गाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लक्षित वर्गका किशोरीलाई खोप लगाइनेछ। जसमा कक्षा ६ देखि दशसम्म ७०४ र दशदेखि १४ वर्ष उमेरका ३४ जना किशोरी जो विद्यालयबाहिर छन्। उनीहरूलाई खोप लगाइनेछ।
यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षक छनोट गर्ने कार्य भइरहेको छ। यो अभियान जिल्लाकै लागि सिमकोट गाउँपालिकाको बालमन्दिर माविबाट सुरु हुनेछ। र, फागुन २९ गतेसम्म खोप लगाइनेछ।
नाम्खा गाउँपालिकामा भने पछि सञ्चालन हुनेछ। खोप सुरक्षित हुन्छ, खोप निःशुल्क पाइन्छ र खोपले जीवन रक्षा गर्छ भन्ने आदर्श बाक्यको स्लोगन पनि अभियानका क्रम प्रचार गर्ने पोष्टरमा राखिएको छ। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले यसलाई अभियानका रुपमा लागेर सहयोग गर्नुपर्ने बताए।
खोपविरुद्ध चालिएका हल्ला निराधार भएको भन्दै विद्यालयबाहिर रहेका किशोरीलाई खोजी–खोजी खोप लगाउने कार्यमा सवै लाग्नुपर्ने बताए। उपाध्यक्ष सुशीला रोकाया भामले राज्य ठूलो लगानी गरेर अभियान सञ्चालन गरिरहेको बेला स्थानीय स्तरमा पनि सवैको सहयोगको आवश्यक्ता रहने बताइन्।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने कार्य सकारात्मक रहेको उनको भनाइ छ। मानसरोवर नमुना माविका प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालय यो राष्ट्रिय अभियानमा सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा प्रमुख भण्डारीले खोपको अवस्थाका बारेज प्रस्तुतीकरण गरेका थिए।