
मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा मेलो कटाउँछन् ।
लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर(हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेको बताए।
“स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ,” उनले भने ।
नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहेका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताए। प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताए ।
“पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ, धेरै मान्छे र समय लाग्दथ्यो,” उनले भने, “अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।”
कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पुर्याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिए।
मध्यविन्दु –२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन् । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन् । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उनले बताए।
पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए। कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए।