
काठमाडौँ – कडा खालको हृदयाघात हुँदा पनि आफैँ सवारी साधन चलाएर पूर्व युवराज पारस शाह अस्पताल पुगेको थाहा भएको छ।
आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका शाह असहज महसुस भएपछि आफैँ गाडी लिएर अस्पताल गएका हुन्। अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई कडा खालकै हृदयाघात भएको रहेछ। त्यति हुँदा पनि आफैँ गाडी लिएर अस्पताल आउनुभयो।’
उनलाई हृदयाघात भएको यो चौथोपटक हो।
अस्पताल पुगेपछि उनको उपचार डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिमले गरेको अस्पताल प्रशासनले देश सञ्चारलाई जानकारी दियो। उनको मुटुमा एन्जियोप्लास्टी गरेर स्टेन राखिएको छ।
अस्पतालका अनुसार शाहलाई मंगलबार सामान्य वार्डमा सारिएको छ। अहिलेकै गतिमा उनको स्वास्थ्यमा सुधार जारी रहे बुधबार डिस्चार्ज गर्ने तयारी अस्पतालको छ।