
झापा- २०७९ को संघीय निर्वाचनमा झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै कारण टिकट नपाएपछि एमाले छोडेका दुर्गा प्रसाई तिनै लिङदेनसंग अहिले नजिकिएका छन्।
एमालेसँगै चुनावी साँठगाँठ गरेर लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। प्रसाईं त्यो बेला एमालेको केन्द्रीय सदस्य थिए। उनले एमालेबाट झापा-३ मा पार्टीबाट टिकटको अपेक्षा राखेका थिए।
बुधबार राप्रपाले राजधानी काठमाडौँमा निकालेको मोटरसाइकल र्यालीमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ अभियानका संयोजक प्रसाईं पनि सहभागी भएका थिए।
लिङ्देन र प्रसाईं एकै ठाउँमा उभिएर हात हल्लाइरहेको दृश्यले दुवै जना एकदमै निकट भएको देख्न सकिन्छ।
लोकतन्त्रवादी शक्तिहरुविरुद्धको राजावादीहरूको आन्दोलनले उनीहरूलाई एक ठाउँमा ल्याएको हो। यद्धपि दुवैबीचको सम्बन्ध टिकाउ हुन्छ कि हुँदैन भनेर राजावादीहरूमै आशंका देखिएको छ।
टिकट नपाएको तिक्तताकै कारण एमाले छोडेर विगत दुई वर्षदेखि राजसंस्था फिर्ता ल्याउने अभियानमा लागेका प्रसाईं र त्यही नारा बोकेको राप्रपाबीच यसअघि समन्वयसमेत हुन सकेको थिएन।
२०७९ को निर्वाचनमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिने ठूलो धोको राखेका थिए। भोट माग्न सुरु गरिसकेको अवस्थामा एमालेले राप्रपासँग चुनावी एकता गर्दै अध्यक्ष लिङ्देनलाई सघाउने निर्णय गरेको थियो।
त्यसपछि आक्रोशित भएका प्रसाईं एमाले र राप्रपाका लिङ्देनविरुद्ध खरोरुपमा प्रस्तुत भएका थिए।
प्रसाईंलाई एमालेले निष्कासनको प्रक्रिया अगाडि बढाएपछि उनले एमाले छोड्ने घोषणा गरेका थिए।
उनलाई एमालेको प्रदेश कमिटीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रमा सिफारिस गरेको थियो।