दाङ शान्तिनगर गाउँपालिका- ७ बुराडाबरका ३५ वर्षीय पूर्णबहादुर डाँगी अमेरिकी सपना पछ्याउँदा -पछ्याउँदै अस्ताएका छन्। अमेरिकी सपना डाँगीको मनमा यसरी गडेको थियो कि उनले डेढ वर्षसम्म अनवरत अमेरिका पुग्ने प्रयास गरिरहे।
तर उनी अमेरिका नपुग्दै अफ्रिकी मुलुक घानामा अस्ताएका छन्। आइतबारसम्म परिवारको सम्पर्कमा रहेका उनी सोमबारदेखि सम्पर्कबाट टाढा भएका थिए। बिहीबार बिहानै उनको मृत्युको खबर परिवारले पाएको थियो।
अमेरिका पुग्न सहज छैन। अमेरिका पुगि डिपोर्ट (फर्काइएका) भएकाहरूकाअनुसार अवैधरुपमा अमेरिका छिर्न भयंकर कालहरूलाई जित्नुपर्छ। कालहरूलाई जिन्तेहरू अमेरिका पुग्छन्।
जित्न नसक्नेहरू डाँगी जस्तै कोठामा बसेकै समयमा मृत्युवरण गर्नुपर्छ। जङ्गलमा हिँड्दा-हिँड्दै ढल्नुपर्छ। समुद्रमा डुंगा पल्टिएर अस्ताउनुपर्छ। विभिन्न देशमा लुटेराबाट लुटिनुपर्छ।
अवैध रूपमा छिर्दा अनेक देशका सैनिकका गोलीबाट बच्नुपर्छ। कयौँ दिन-रात भोकै बस्ने मात्र होइन, कयौँ दूरी हिँडेर पार गर्नुपर्छ। अनिमात्र अमेरिका पुगिन्छ। अमेरिका पुगेर पनि जेल बस्नुपर्छ। भाग्यमा भरोसा गर्नेहरू भन्छन्- ‘भाग्य बलियो रहेछ भने अमेरिका बस्न अनुमति पाइन्छ। नत्र फर्कनुपर्छ।’
यस्तै जोखिम मोलेरै डाँगी अमेरिकी सपना बोकेर घरबाट निस्किएका हुन्। दलालको मीठो बचनमा उनले अमेरिकी सपना देखेका थिए। मेलेसिया हुँदा डेढ वर्षअघि उनी उतैबाट अमेरिका जान हिँडे।
रोजगारीका लागि मलेसियामा रहेका उनी हेभि ड्राइभर (सवारी चालक) थिए। परिवारिक स्रोतकाअनुसार उनले मलेसिया हुँदा ठिकै कमाइरहेका थिए। मलेसियामा कुन दलालको सपनामा उनी डुबे उतैबाट अमेरिका हानिए।
तर अमेरिका पुग्न उनी सफल भएनन्। आधिबाटो पुगेर घर फर्किए। घर फर्किएर महिनादिन जति उनी घरमा पनि बसे। तर फेरि करिब ३ महिना अघि उनी अमेरिकी सपना बोकेर घरबाट निस्किएका थिए। तर बिडम्बना उनको अमेरिकी सपना घानाको एक घरमा अस्ताएको छ।
शान्तिनगर गाउँपालिकाका- ७ का वडाध्यक्ष ताराबहादुर वलीले परिवारिक स्रोतलाई उदृत गर्दै घानाको अवस्थाबारे देशसञ्चारसँग बताएका छन्। उनकाअनुसार घानामा डाँगी कुनै एक घरमा बसेका थिए। त्यो पनि एक्लै। त्यस घरमा उनलाई खाने व्यवस्था थिएन। खाना खान अर्को ठाउँ केही टाढा जानुपर्थ्यो।
डाँगी सोमबारदेखि परिवारको सम्पर्कबाट हराएका थिए। त्यसपछि उनको खोजी गरिदिन परिवारले दलालाई आग्रह गरेका थिए। दलालले उनको अवस्थाबारे चार दिनपछि मात्र भन्यो- ‘पूर्णबहादुरको मृत्यु भयो।’ अमेरिका रहेका पूर्णबहादुरका सालाले मृत्युको खबर परिवारलाई गराएका थिए।
मृत्यु के कारणले भयो? भन्नेमा अनेक कुरा सुनिएको वडाध्यक्ष वलीले बताए। कतिपयले हृदयघात भएका कारण उनको मृत्यु भएको भनेका छन्। त्यसबाहेक पनि अन्य कुरा परिवारकहाँ आइपुगेको उनले बताए। ‘मृत्यु हुनुको कारण हृदयघात हो भनिएको छ। त्यसबाहेक पनि परिवारमा अन्य विभिन्न हल्ला पनि छ। के कारण हो ठ्याक्कै थाहा भएको छैन’, वलीले भने।
वडाध्यक्ष वली र डाँगीको परिवार एउटै गाउँले हुन्। पूर्णबादुरका ३ दाजुभाइहरू छन्। घानामा मृत्यु भएका पूर्णबहादुर माइला छोरा हुन्। उनको श्रीमति, एक छोरा र एक छोरी छन्। मृत्युको खबरपछि घरपरिवार विछिप्त छ।
करोड खाएको दलालले भन्छ- ‘शव ल्याउन सकिँदैन’
पूर्णबहादुर अमेरिका जान हिडेको डेढ वर्षमा दलालले लगभग करोड रुपैयाँ खाइसकेको छ। यति ठुलो रकम खाएर पनि दलाले उनलाई अमेरिका पर्याउन सकेन। पहिलो पटक असफल भएर फर्केका पूर्णबहादुरले फेरि पठाउँछु भन्दै पैसा खाएर अमेरिका हिँडाएको थियो।
यसबीचमा करोड रुपैयाँ दलालले खाइसकेको पारिवारिक स्रोतले बतायो। पूर्णबहादुरलाई दलालले अमेरिका त पुर्याउन सकेन। अहिले परिवारले उनको शव ल्याइदिन दललाई आग्रह गरेको छ। तर दलालले शव ल्याउन सकिने अवस्था नरहेको बताएको छ।
‘परिवारले शव ल्याइदिन एजेन्ट (दलाल)लाई भनेका छन्। तर एजेन्टले शव ल्याउन सकिँदैन भनेको छ’, वडाध्यक्ष वलीले भने। आफ्नै वडावासी मात्र होइन, छिमेकी भएपछि वडाध्यक्ष वली पनि कसरी शव ल्याउन सकिन्छ भनेर लागेका छन्।
उनले शव ल्याउनका लागि मानव अधिकार आयोग र विभिन्न नियोगसँग छलफल गरेको बताए। ‘वडाबासी, मेरै गाउँले भएकाले पनि यस घटनाले मलाई निकै दु:खी बनाएको छ। नघट्ने घटना घटिसक्यो अब शव कसरी ल्याउने होला पहल भइरहेको छ’, वडाध्यक्ष वलीले भने।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































