भान्से, भेडा गोठालो, जोतार, विद्यार्थी नेता, शिक्षक अनि भेट्रान भलिबल कोच। कुमार राईले आफ्नो ५४ वर्षको यात्रामा पाएका प्रमोशन र उपाधि हुन् यी। उनको न्यू डायमण्ड एकेडेमी र उनलाई महिला भलिबल खेलाडी उत्पादन गर्ने फ्याक्ट्री भन्दा उनी मुस्कुराउँछन्।
बितेका झण्डै २० वर्षमा कुमार राई र उनको न्यू डायमण्ड एकेडेमीले यस्ता महिला खेलाडीलाई कोर्टमा उतारेको छ, जसले एकेडेमी मात्र होइन, देशका लागि पनि भलिबलमा अध्यायहरु थपिदिएका छन्। रमिला तण्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, ललिता नाथ तथा अहिले राष्ट्रिय टोलीमा खेलिरहेका सुमित्रा रेग्मी, प्रगती नाथजस्ता खेलाडी न्यू डायमण्डबाटै कोरिएका अध्याय हुन्।

भलिबल कोर्टमा प्रवेश गर्दै कुमार राई साथमा राष्ट्रिय महिला भलिबल टोलीकी सेटर प्रगती नाथ। तस्बिर: प्रभात खनाल/देश सञ्चार।
कुमार राईले भलिबल खेले तर ‘खत्रा’ भलिबल खेलाडी होइनन्। गाउँघरमा हुँदा स्कुलको र गाउँको कोर्टमा खेले र काठमाडौँ आएपछि आरआर क्याम्पसको कोर्टमा। स्थानीय तथा राष्ट्रिय स्तरको कुनै पनि खेल खेलेनन् तर त्यो स्तरका खेलाडी उत्पादन गर्ने बाटो कोरे। उनको सपना छ– अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडी उतार्ने।
कुमार राई नैकापको न्यू डायमण्ड आसपासै भेटिन्छन्। होस्टेलबाट निस्कन्छन्, आफ्ना छोरीहरुलाई चाहिने आवश्यक सामान किन्छन्। पाकेटमा पैसा भए तिर्छन् नत्र ‘पछि दिउँला है’ भन्दै उकालो लाग्छन्। टिन जोडजाड गरेर बनाएको ढोका उघार्छन् र अडिएर एक पटक दायाँतर्फ बन्दै गरेको होस्टेल हेर्छन् र लामो सास फर्दै कोर्टको एक कुनामा रहेको भान्सातिर लाग्छन्। सामान राख्छन् र लुगा फुकालेर आफ्नो काममा लाग्छन्। एक छेउमा थोरै जमिन खालि छ। जहाँ उनले सिजनमा हुने तरकारी रोपेका छन्। खुर्सानी, साग, मुला यस्तै-यस्तै। हाँस्दै भन्छन्, ‘नानीहरुले खुब मिठो मानेर खान्छन्।’

अभ्यासअघि वार्मअप गर्दै न्यू डायमण्डका खेलाडीहरु। तस्बिर: प्रभात खनाल/देश सञ्चार
उनी आफ्ना २५ जना छोरीहरुको पर्खाइमा हुन्छन्। छोरीहरुको स्कुल ३ बजे छुट्टी हुन्छ। उनीहरु साढे ३ बजेसम्म कोर्टमा आइसक्छन्। कोर्टको एक छेउमा बसेका राईलाई पालैपालो सबैले ढोग्छन्। भान्सामा अघि राईले ल्याएर आएको खानेकुरा खान्छन् र अभ्यास सुरु गर्छन्।
एकेडेमीकी सहायक प्रशिक्षक ललिता नाथले सबैलाई प्रशिक्षण गर्छिन्। राई एक छेउमा बसेर आफ्ना २५ जना छोरीहरुको अभ्यास हेर्छन्। बेलाबेलामा ‘यस्तो पाराले हुँदैन है नानीहरु’ भनेर डाको लगाइहाल्छन् र फेरि शान्त भएर उनीहरुको अभ्यास हेर्छन्।
कुमार राईले कहिल्यै हार खाएनन्। घरको सहयोगबिना आफ्नै र गुरुहरुको सहयोगले पढ्दा, बुवाले दिएको १ हजार रुपैयाँ लिएर काठमाण्डौँ आएर अलपत्र पर्दा, या खत्रा भलिबल खेलाडी जन्माउँछु भन्दै लाखौँ ऋिण लाग्दा। उनी कहिल्यै डगमगाएनन्। बस् उनले सपना देख्दै गए र त्यसमा जिउँदै गए।
…
सानो छँदा कुमार राईले घरमा धेरै पटक भात पकाए। उनी मुस्कुराउँदै भन्छन्, ‘मैले सानैदेखि घरमा भात पकाए। घरका ठूलामान्छे सबै काममा जान्थे। सानो भएका कारण म घरमा बसेर भात पकाउनु पर्थ्यो।’ नियम थियो– धेरै हिँडडुल गर्न नसक्ने केटाकेटीको काम घरमै बसेर भात पकाउने।
अलि ठूलो भएपछि उनले भेडा चराउने काम पाउन थाले। भेडा चराउने कामबाट उनको पदोन्नती तब भयो, जब उनी जोत्न सक्ने भए।
राईले त्यही गर्दै गए, जुन घरपिरवार र गाउँघरमा हुन्थ्यो र गर्नुपर्थ्यो। घर, आँगन, खेत, वनपाखाबाट फुत्त उम्किएर कतै टाढाको अनुभव गर्न न उनले मेसो पाएका थिए न परिवारले नै त्यो अवस्थाको सिर्जना गरिदिएको थियो।

कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
संखुवासभाको पाङमा, मालबासेमा जन्मेका उनलाई आफ्नो जन्म ठ्याक्कै कति सालमा भएको हो थाहा छैन। बुवा २०२६ साल भन्ने अनि आमा २०२४। उनले दुवैको कुरा नमानेर २०२७ साल मानेका छन्।
६ भाइबहिनी, बुवा ब्रिटिस आर्मी भए पनि आर्थिक अवस्था राम्रो हुन सकेको थिएन। अवस्था खराब नै रहनुमा राईहरूमा भविष्यप्रतिको सोच नहुनु र मोजमस्तीमा लाग्नु मान्छन् उनी।
अवस्था खराब नै भएपछि उनका बुवाले बसाइँ सर्ने निधो गरे र संखुवासभाकै माल्टामा सरे। त्यहाँ पनि उनको दैनिकी खेत, भेडा, गोरुसँग नै बित्थ्यो। न उनमा पढ्नु पर्छ भन्ने आयो न परिवारमा कसैले भने। बुवाआमाको एउटै भनाइ थियो– तैले हामीलाई हेर्नुपर्छ। उनलाई पनि लागेको थियो यही त मेरो कर्म।
एक दिन, भेडा चराउँदै छिमेकीकोमा पुगेका राईलाई छिमेकी काकीले भनिन्, ‘कान्छा तँ यो भेडाको पछि-पछि लागेर दिन बिताउन लागिस्, तँ भन्दा साना भाइबहिनीहरु पढ्न जान्छन्, तँ यो भेडाको पछि लागेर के हुन्छ होउ?’
‘उहाँ मेरो साथी ईश्वर श्रेष्ठको आमा। मैले उहाँलाई काकी भन्थे। उहाँको कुराले मेरो मन छोयो,’ उनले भने, ‘चर्दै गरेका भेडा छोडेर म दोडिँदै गएर काकीले भनेको कुरा बुवालाई सुनाए र भने म पनि पढ्न जान्छु।’
तेस्रो त्रैमासिक सकिइसकेको थियो। सरस्वती पूजा आउँदै थियो। बुवाले सँगै रहेकी आमालाई हेरे र कुमारतिर फर्केर भने ‘जान्छस् भने जा न त, सरस्वती पूजा आउँदै छ त्यसदिनबाट जा।’
‘त्यतिबेला म दौरा र जाँगे लगाउँथेँ,’ हाँस्दै उनले भने, ‘सरस्वती पूजाको दिन घनश्याम निरौला सरलाई भनेँ, म पनि पढ्छु, मलाई पनि पढाइदिनुस्। उहाँले सरस्वतीको पूजा गरिरहेकै ठाउँमा क, ख सिकाउनु भयो।’ ९ वर्षको उमेरमा उनको प्रारम्भिक शिक्षा माल्टाको सरस्वती निम्न माध्यामिक विद्यालयबाट भयो।

कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
उमेर ठूलो र परिपक्व भएका कारण उनी पढाइमा सधै अब्बल भए। ‘मैले क, ख, ग.., A, B, C लगायत सबै एकै दिनमा सिकेको हो,’ उनले भने, ‘पहिलो दिन स्कुल गएको साँझ बुवाले सबै सिकाइदिनु भएको थियो। त्यसपछि १ कक्षामा बाहेक म सबै कक्षामा प्रथम भएको थिएँ।’
राम्रो पढाइका कारण उनले ७ कक्षामा २४५ रुपैयाँ पुरस्कार पाए। घरबाट अब पढाउन सक्दैनौँ भनेर हात खडा गरिसकेको अवस्थामा त्यो २४५ रुपैयाँ लिएर पाङमा माने भञ्ज्याङको प्रस्तावित महेन्द्र माध्यमिक विद्यालयमा उनी भर्ना भए।
मुस्कुराउँदै उनी भन्छन्, ‘कक्षा ७ सम्म जाँदा त म पेज-पेज कण्ठ गरिदिन्थेँ। जुनै किताब हेर्यो कि यस्तो जाबो त के पढ्नु र भन्ने लाग्थ्यो।’
जुन आत्मविश्वासले पढाइलाई धक्का दिएको उनी मान्छन्। ‘आठ कक्षामा जाँदा पढ्नै छोडेँ’, उनले सम्झिए र भने, ‘घरबाट स्कुल पुग्न करिब १ घण्टा ३० मिनेट लाग्थ्यो, तर म स्कुल पुग्थेन। घरमा धेरै काम हुन्थ्यो, त्यो छल्न स्कुल जान्छु भन्थेँ तर बाटोमा खोला पर्थ्यो। त्यहाँ माछा मारेर बस्थेँ, चरा मारेर बस्थेँ।’
बिग्रिसकेको उनको पढाइ तब अलिकति भए पनि ट्रयाकमा आयो जब होमकुमार ढुंगानाले ‘यो केटो एकदमै ‘ब्रिलियन्ट’ छ भन्दै सदरमुकाम खाँदबारीको हिमाल माध्यामिक विद्यालयमा पुर्याए। हाँस्दै उनले भने, ‘त्यहाँको हेडसर जंगबहादुर प्रसाद ठाकुर एकदमै कडा मिजासको हुनुहन्थ्यो उहाँको डरले पनि पढेँ।’
…
एसएलसीको नतिजा आएको थिएन। एकदिन छिमेकी साथी ईश्वर आएर भने, ‘हेर कुमार यहाँ बसेर केही हुँदैन। तँ र म काठमाडौँ जानुपर्छ।’ उनलाई हुनपनि हो जस्तो लाग्यो। ‘गाउँमा वास्तवमै धेरै दु:खै दु:ख मात्र थियो। कुनै पनि ठाउँबाट सुख आउला भन्ने आशा नै थिएन,’ लामो सास फेर्दै उनले थपे, ‘हाम्रो खेत संसार (धेरै) थियो। झण्डै २५ पाथी धानको बिउ लाग्ने खेत र बारी पनि त्यत्तिकै।’
हातको अन्जुली देखाउँदै उनले थपे, ‘तर, उत्पादन भने यत्ति पनि नहुने। १० मुरी धान पनि नहुने। बेसाउन (किनेर खानु) पर्थ्यो। अब बेसाउने पैसा कहाँबाट आउनु?’
त्यो सबै काम कुमार राईले भोगेका थिए तर उपाए थाहा थिएन। त्यतिकैमा साथीले उनलाई भने, ‘तँलाई पढ्नु पर्छ भनेर कसैले भनेनन्। आफ्नै बलबुतामा १० कक्षासम्म पढिहालिस्। अब नयाँ केही गर्नका लागि काठमाडौँ जानुपर्छ।’ साथीले यो भन्दै गर्दा कुमार राईले मनमनै काठमाडौँ जाने सपना बुन्न थालिसकेका थिए।

कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
एक वर्षअघि नै एसएलसी दिएर पास भएका साथी ईश्वर कुमार राईलाई साथमै लिने भनेर १ वर्ष पर्खिएका थिए। राईलाई आफू पास हुन्छु भन्ने ढुक्क थियो। उनीहरुले पैसा जुटाउने योजना बनाए।
‘असार ९ गतेबाट रोप्न सुरु गरेको खेत साउनको १७ गतेतिर मैजारो (सकिनु) हुन्थ्यो। रातदिन खेत, आली र हिलो गरेर रोपेर सकाएँ। बुवाले खुसी हुँदै भन्नुभयो– ल कुमार तैले यसपाली राम्रो काम गरिस्,’ हाँस्दै उनले भने, ‘बुवालाई के थाहा मैले किन मेहनत गरिरहेको छु भन्ने।’
बुवाले उनलाई कपडा किन्नु भनेर एक हजार रुपैयाँ दिए। कुमार र उनका साथीको आइडियाले काम गर्यो। उनीहरुले योजना नै थियो टन्न काम गर्ने खुसी हुँदै बुवाले पैसा पक्कै दिनुहुन्छ। त्यही पैसा टिपेर भाग्ने।
एसएलसीको नतिजा आइसकेको थियो। कुमार राई पास भइसकेका थिए। हाँस्दै उनले भने, ‘पैसा पाउनबित्तिकै भाग भाइ भनेर सदरमुकाम खाँदबारीको तुम्लिङटार विमानस्थलमा पुगेर २४५ रुपैयाँको टिकट काटिहालेँ।’
घरमा बुवाले सोधे, ‘कपडा सिलाउन दिइस्?’ उनले बुवालाई झुट बोले। लुगा लिन बोलाएको छ भनेर जुनदिन भने त्यो दिन उनको जहाज काठमाडौँ उड्ने थियो। ‘म त त्यसदिन जाँगे र कट्टुमा काठमाडौँ आइपुगेको,’ हाँस्दै उनले भने, ‘घरबाट लुगा लिन जान्छु भनेर हिँडेको मान्छे पोको बोकेर हिँड्ने कुरा भएन।’ ईश्वर आफन्तकोमा लागे, उनी मित दाजु राजेन्द्र पोखरेलकोमा।

एभरेष्ट वुमन भलिबल लिगको खेलअघि खेलाडीहरुलाई प्रशिक्षण गराउँदै कुमार राई। उनी कर्णाली याक्स टीमका प्रशिक्षक थिए। तस्बिर: प्रभात खनाल/देश सञ्चार
२०४४ सालमा काठमाडौँ आएका उनी काठमाडौँ बसाइँ सम्झिँदा त्यति रमाउँदैनन्। आरआर क्याम्पसको पढाइ, पढाइभन्दा राजनीति धेरै, घरबाट बुवाले खर्चका लागि भनेर पठाउने पेन्सन, त्यसैमा रमाए उनी।
‘बुवाले पेन्सनबाट पठाएको १० हजार पनि एकपटक भोजपुरतिरको राईले खाइदियो। म ६ महिना भोकै बस्नु पर्यो। राजनीति तातिएको थियो,’ मलिन अनुहार लगाउँदै उनले भने, ‘२०४६ सालको आन्दोलनमा लागियो। राम्रो पढाइ जिन्दावाद र मुर्दावादको नाराले खाइदियो। अनेरास्ववियु भइटोपलियो। आर्थिक रुपमा तनावमा भएको बेला खानदिन्छु भन्यो, लाउन दिन्छु भन्यो, अरु के-के भन्यो। तातो न छारो।’
परिवर्तनपछिको ४८ सालको चुनावमा उनी गाउँ गए। उनलाई राजनीतिले यसरी छोइसकेको थियो परिवार आजित भइसकेका थिए। चुनाव सकिएपछि एक दिन बुवाले भने, ‘पढ्न जान्छु भनेर भनिस् ठीक छ कुमार, तेरा साथीहरु सबै जागिरे भएर, पैसा कमाएर गाउँ फर्कने भए, तँ चाहिँ केही न केहीको राजनीति गरेर फर्किइस्। घरको अवस्था यस्तो छ। राजनीति गरेर के पाउँछस् तैले?’
बुवाको त्यो खप्कीले उनको जिन्दगी अर्कैतिर मोडिदियो। ‘म पनि झ्वाँक्की मान्छे, छिमेकी काकीलाई भेट्न गएँ। जसले मलाई पढ्नु पर्छ भनेर सुरुमा भन्नु भएको थियो। एक हजार दिनु त भनेँ। त्यो बोकेर अब केही गर्छु भनेर काठमाडौँ फर्किएँ।’

कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
त्यसपछि उनी काठमाडौँको थानकोट बस्न थाले। ट्युसन पढाउन थाले। केही समयपछि उनीनजिकैको एक बोर्डिङ स्कुलमा शिक्षक भए। हाँस्दै उनी भने, ‘चक अनी डस्टर पढाउने मास्टर, त्यसपछि म अंग्रेजी शिक्षक भएँ।’
अंग्रेजी शिक्षकसँगै त्यहाँ उनी भलिबल कोच पनि भए। ‘भलिबल त म के छोड्न सक्थे र!,’ हाँस्दै उनी भन्छन्, ‘शिक्षक हुँदासम्म जति नै उतार चढाव भए पनि भलिबल छोडेको थिएन। यहाँ पनि भलिबल खेल्नु पर्छ भनियो। पहिला शिक्षकको टीम पनि बन्यो। पछि अभिभावकले विद्यार्थीको टीम पनि बनाउनु पर्छ भन्न थाले। उपत्यकाका लागि राम्रो बनेको थियो, हाम्रो ब्राइट फ्यूचरको टीम।’ यसै स्कुल र टीमले कताकता भलिबल प्रशिक्षणमा लाग्ने बिउ उनमा रोपिदिएको थियो।
उनले ६१ सालमा त्यो स्कुल छोडे। त्यसपछि अगाडि के? टुङ्गो थिएन। स्कुल खोल्ने वा विदेश जाने। एक दिन त्यही स्कुलमा सँगै काम गर्ने रुपेश खड्काले कुमारलाई भने स्कुल खोल्नु पर्छ सर। त्यसपछि अरु ५ जना जोडिएर नैकापमा २०६२ साल वैशाख ६ गतेबाट न्यू डायमण्ड बोर्डिङ स्कुल सुरु भयो। जसको प्रिन्सिपल कुमार राई भए। त्यहाँ उनले पहिलो वर्ष पुरुष भलिबल सुरु गरे।

न्यू डायमण्ड एकेडेमीको कोर्टमा अभ्यास खेल खेल्दै खेलाडीहरु। तस्बिर: प्रभात खनाल/देश सञ्चार
उनी भन्छन्, ‘पहिलो वर्ष ८० जना मात्र विद्यार्थी थिए। त्यसैले पुरुष भलिबल गर्यौँ। तर, भनेजस्तो केटाहरु नपाउने र उनीहरुमा अनुशासन पनि नहुने त्यसैले तर अर्को वर्षबाट महिला भलिबल गर्न थाल्यौँ।’
न्यू डायमण्ड एकेडेमी भनेर टिम बन्यो। उत्सुक हुँदै उनले भने, ‘सुरुका वर्षमा महिला टीम बनाउँदा अनुनय विनय गरेर, हजुर कि हजुर भनेर, शाखा-सन्तानलाई बिन्ती बिसाएर, ढोगेर बनाएको टीम थियो। जसबाट पछि रमिला तण्डुकार चम्किइन्। त्यतिबेला भलिबल महिलाले पनि खेल्ने भनेर अचम्म मान्थे।’
स्कुल प्रतियोगिता जित्ने भनेर सुरु गरेको टीमले विभिन्न प्रतियोगिता जित्दै गयो। त्यसपछि अब राष्ट्रिय प्रतियोगिता जित्नुपर्छ भनेर उनीले न्यू डायमण्ड स्पोर्टस क्लब खोले। सीमित व्यक्तिहरुको स्वामित्वमा रहेको र कम्पनीमा दर्ता भएको क्लब समाजिक क्लब नहुने भनेपछि २०७९ सालमा न्यू डायमण्ड युथ स्पोर्टस क्लब सुरु भयो, जुन प्रशासनमा दर्ता छ। जसले महिला भलिबलका प्रतियोगिताहरुमा जित्न बाँकी केही छैन।
‘म जुन उमेरदेखि स्कुल गएँ, त्यसबेलादेखि नै भलिबल खेल्न थालेको हुँ,’ उनले भने, ‘फालेका मोजामा कागज कोचेर बनाएको भकुण्डोबाट सुरु गरेका हौँ।’

एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण दिँदै कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
‘नाप्ने हुन्थेन। खेतका गरा अनुसारका कोर्ट हुन्थे। लौरोले घेरा लगाउने, बाँस गाड्ने र त्यसमा डोरी बाँधेर कापीको पाना बाजी खेल्थ्यौँ। पछि ५ पैसा, ४ आना (१ सुका), पचास पैसा र पछि १ रुपैयाँसम्मको बाजी खेलियो,’ हाँस्दै उनी भन्छन्, ‘त्यसमा म राजा हो।’
उनले ६ कक्षामा पुगेपछि मात्र भलिबल खेल्न पाए। त्ससपछि भलिबल कुनै न कुनै आकार प्रकारमा उनको जिन्दगीसँग जोडिएको छ।
कुमार राईको न्यू डायमण्ड एकेडेमी काठमाडौँको नैकापमा छ। उनले १० वर्षका लागि भाडामा लिएर भलिबल कोर्ट बनाएका छन्। कोर्टकै एक छेउमा खेलाडीहरुका लागि होस्टेल बन्दै छ। तर, अहिले एकेडेमीभन्दा करिब ५०० मिटर पूर्व एक घर भाडामा लिएर उनले खेलाडी राखेका छन्।

एकेडेमीको अहिलेको होस्टेल। तस्बिर: प्रभात खनाल/देश सञ्चार
उनी श्रीमती र छोरासहित २२ जना छोरीहरुसँगै बस्छन्। उनी आफ्ना सबै खेलाडीलाई छोरी नै भन्छन् र खेलाडीहरुले बुवा। अधिकांश खेलाडीको अवस्था आफ्नै बलबुतामा खेल्न सक्ने छैन। जो खेल्नमा रुचि राख्छ त्यसलाई होस्टलमा राख्छन्। नजिकैको पहिला आफैले सुरु गरेको न्यू डायमण्ड स्कुलमा पढ्न जान्छन् र बिहान-बेलुका एकेडेमीमा गएर ट्रेनिङ गर्छन्।
महिनाको १ लाख भाडा, खाना, स्कुल खर्च सबै कुमार राईले नै जोहो गर्दै आएका छन्।
बन्दै गरेका भवन देखाउँदै उनी भन्छन्, ‘यो भवन धेरै जना सहयोगी मनहरुले दिएर बनेको छ, यसले हाम्रा छोरीहरुलाई धेरै सहज बनाउँछ र हामीलाई आर्थिक रुपमा थोरै राहत।’

खेल मैदानको एक कुनामा बन्दै गरेको एकेडेमीको होस्टेल। तस्बिर: प्रभात खनाल/देश सञ्चार
उनी छोरीहरुलाई भलिबल सिकाउँछन्, त्योसँगै पढाइको महत्व पनि। उनी अनुशासन सिकाउँछन्, अनि दु:ख र मेहनतको महत्व पनि। ‘बालबच्चा अलिकति दु:खमा हुर्कियो भने त्यसले केही राम्रो गर्छ भन्ने मेरो बुवा-आमाको सोच हुन्थ्यो। मलाई लाग्छ त्यो कन्सेप्ट राम्रो हो,’ उनी भन्छन्। जुन उनले पनि गरेर, भोगेर आए।
क्लबको होस्टेलमा अहिले २२ छात्रा छन्। जसमा कोही राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने कोही त्यसको बाटोमा छन्। १५ जना आफ्नै खर्चमा भलिबल खेल्न सक्ने छैनन्। अर्थात् भनौँ, काठमाडौँमा बसेर पढ्न सक्ने पनि छैनन्। जसको सम्पूर्ण खर्च कुमार राईले नै गर्दै आएका छन्।

प्रशिक्षण दिँदै कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
कुमार राई बितेका २० वर्षबारे सोच्दा लामो सास फेर्छन् र भन्छन्,’साँच्चै यो एकदमै अप्ठेरो थियो। मैले यही गर्छु नै भनेर गरेको होइन, यो सब हुँदै गयो।’
एकछिन रोकिएर उनले भने, ‘जसका लागि म नै धेरै मान्छेको निशानामा पर्नु पर्यो। काम गर, फलका आश नगर भन्ने भनाइ छ। त्यही सोचर यहाँसम्म म आइपुगेको छु। त्यो दु:ख गएको पनि छैन र त्यो अप्ठेरो अवस्था पनि छैन। जुन बितेका वर्षहरुमा टार्दै आएँ।’
उनी गर्व गर्दै भन्छन्, ‘न मसँग कुनै दिन पैसा थियो, न अहिले छ। तर पनि बच्चाहरुलाई शानदारका साथमा राखेको छु। तर, मलाई नै पुगिरहेको छ। अरुको जस्तो गाडीघोडा नहोला तर यी बच्चाहरुसँग एउटै टेबलमा बसेर हाँसीखुसी खानु र खुवाउनमा मलाई कहिल्यै दु:ख भएको छैन।’

अभ्यासअघि चिया र बिस्कुट खाँदै खेलाडीहरु। तस्बिर: प्रभात खनाल/देश सञ्चार
‘मैले ऋण गरेँ, सामान उधारो किनेँ, सरसापट गरेँ। अनि एकेडेमीका लागि खर्च गरेँ। एक समयमा मेरो ऋण ८० लाखसम्म पुगेको थियो। कतै हिँड्दा पनि डराइडराइ हिँड्नु पर्थ्यो। फोन बन्द गरेर बस्नु पर्थ्यो,’ एकछिन सम्झदै उनले भने, ‘पछि त उनीहरुले पनि आश मारिसकेका थिए। तर हाम्रो टीम बलियो हुँदै गयो। हामीले प्रतियोगिताहरु जित्दै गयौँ त्यसबाट पैसा आउँथ्यो। मनकारीहरुले सहयोग गर्नुहुन्थ्यो हामीले ऋण तिर्दै गयौँ।’
‘यो यात्रामा म कत्ति नडगमगाइ हिडेँ। त्यतिबेला मलाई भगवान पशुपतिनाथले साथदिनु भयो,’ उनले आकाशतिर हेरे, दुई हात टाउकोभन्दा माथि लगेर जोडे र भने, ‘भगवान ! हे शिवशंकर ! हे भोले ! हर-हर महादेव! यसले मेरो आत्मबल बलियो हुन्छ र भन्छ– बढ कुमार अघि बढ। यसकै कारण कुनै दिन विश्वकै लागि उम्दा खेलाडी जन्माउँछु भनेर हिँडेको म डगमगाएको छैन।’

राष्ट्रिय टोलीकी स्पाइकर सुमित्रा रेग्मीलाई प्रशिक्षण दिँदै कुमार राई। तस्बिर: प्रभात खनाल/देश सञ्चार
सामान्य स्कुलको प्रतियोगिता जिताउँछु भनेर सुरु गरेका उनको सपना अन्तराष्ट्रिय मञ्चमा आफ्ना खेलाडी उतार्ने छ।
‘हाम्रो खेलाडी युरोप अमेरिकाका ठूला लिगहरुमा बिकून्। त्यति गर्न सकेँभने मेरा लागि सगरमाथाको देश,’ कोर्टको दक्षिणतर्फको भित्तामा कोरिएको क्लबको लोगो देखाउँदै भने, ‘लोगोमा सगरमाथामाथि झण्डा छ नि त्यसको कल्पना त्यही हो। त्यो दिन टाढा छैन। तर त्यो यात्रा निकै अप्ठेरो छ। नजिक त छँदै छैन। शून्यबाट हामी यहाँसम्म आइपुगेका छौँ। त्यहाँसम्म पनि अवश्य पुग्ने छौँ।’