
टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको ‘आजका कविता’ सेसनमा कविद्वय श्यामल र विप्लव प्रतीकले विमर्श गरेका छन्।
कवि श्यामलले आजका कविता वर्तमानका मानिसहरूका चिन्ता, संघर्ष मनोभावना व्यक्त गर्ने चिज भएको औंल्याए। ‘आज भनेको महत्वपूर्ण चिज हो। हरेक लेखक कलाकारले उसकै समयको चिन्ता गर्छन्। तपाईंले जे ग्रहण गर्ने हो आजबाटै गर्नुपर्छ। हरेकले आफ्नै समयको कथा भन्ने हो,’ उनले भने।
श्यामल आजका कविताहरूसंग सन्तुष्ट छैनन्। भन्छन्, ‘नेपाली कविताले मैले सन्तुष्टि गर्ने गरी संवाद गरेको छैन। नेपाली कविताले आजलाई सम्बोधन गर्न बाँकी छ। आजका कवि अलि हलुका बढी हलुका धर्म नबुझी धार्मिक छन्।’
कवि प्रतीक भने कविता बिग्रनुको दोष हाम्रो शैक्षिक प्रणालीलाई दिन्छन्। यद्यपि आजका कविताहरूमा आश मार्न नहुने पनि बताउँछन्। ‘आश मार्नुपर्ने कारण छैन। सम्भावना छ। कविता कोहीसँग तुलना हुन्न,’ उनी भन्छन्, ‘मानवीय संवेदना, प्रेम, सम्बन्ध र संसारका जति पनि दर्शनभन्दा माथि उठेका चिज कवितालाई तुलना पनि गर्नुहुँदैन।’
कवि श्यामल हामीले लेख्ने गद्य कविताहरु गोपाल प्रसाद रिमाल, भूपि शेरचनभन्दा फरक लेख्न नसकिरहेको अडान राख्छन्। ‘कविताको आफ्नो भाषा हुन्छ। कवितालाई बोल्न दिनुहोस्। तर त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छन्।
कवि प्रतीक सेलिब्रेटी हुने लोभमा कविता लेख्ने हो भने नलेख्न सुझाउँछन्। भन्छन्, ‘कविता लामो साधनाको मार्ग हो।’
१६ वर्षको उमेरदेखि कविता लेख्ने थालेका प्रतीकले ८ वर्षसम्म १० डालो कविता लेखेको अनुभव सुनाए। ‘८ वर्षपछि बल्ल मेरो कविताले सेफ लिन थाल्यो। तर अहिले पनि म कवि हैन, मिडियम हो जस्तो लाग्छ। यो मेरो लडाईं हो जस्तो लाग्छ,’ उनी भने।
महोत्सव २६ गतेसम्म चल्नेछ।