मुगु – प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मुगु जिल्लामा रहेका चारवटा स्थानीय तहहरूमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिका उत्कृष्ट ठहरिएको हो।
माघ २५ गते आयोगले प्रारम्भिक नतिजा सार्वजनिक गर्दा सोरु गाउँपालिका पहिलो स्थानमा थियो। आयोगले पुनरावलोकनका लागि सात दिनको समय दिएको थियो। पुनर्मूल्याङ्कनपछि मुगुम कार्मारोङ्ग गाउँपालिकाले ६६.११ अंक ल्याउँदै पहिलो स्थान हासिल गर्योय। सोरु गाउँपालिकाले ६१.२० अंकसहित दोस्रो स्थान ओगट्यो भने छायाँनाथ रारा नगरपालिकाले ४३.२३ अंक प्राप्त गर्दै तेस्रो भयो। खत्याड गाउँपालिकाले ४२.१४ अंक ल्याएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकको आधारमा स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दै आएको छ। यही मूल्याङ्कनका आधारमा ०८२/८३ का लागि प्रदान दिइने ब्यबस्था छ।
जिल्ला समन्वय समिति, मुगुका प्रमुख मन्जन बहादुर कार्कीका अनुसार वैज्ञानिक मूल्याङ्कन प्रणाली अपनाइएकाले स्थानीय तहहरूले आफ्नो कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउनुपर्नेछ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) २०८०/८१ मा पनि मुगुम कार्मारोङ्ग गाउँपालिका अगाडि देखिएको छ। वित्तीय सुशासनको पाँचवटा सूचकमा गरिएको मूल्याङ्कनअनुसार मुगुम कार्मारोङ्गले ९१.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्योच। छायाँनाथ रारा नगरपालिकाले ९०.५ अंकसहित दोस्रो स्थान ओगट्यो भने सोरु गाउँपालिकाले ८३ अंक र खत्याड गाउँपालिकाले ८२ अंक प्राप्त गरेको छ।
त्यसैगरी, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) २०८०/८१ मा पनि मुगुम कार्मारोङ्ग गाउँपालिका नै पहिलो भएको छ। १० वटा सूचकमा गरिएको मूल्याङ्कनमा गाउँपालिकाले ८९ अंक प्राप्त गर्दै अग्रस्थान हासिल गर्याे। खत्याड गाउँपालिकाले ८५.५, छायाँनाथ रारा नगरपालिकाले ८४.२५, र सोरु गाउँपालिकाले ८१.२५ अंक प्राप्त गरेका छन्।
मुगुम् कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलका अनुसार पुनरावलोकनपछि प्राप्त नतिजाले गाउँपालिकाको उत्कृष्ट कार्य सम्पादन पुष्टि गरेको छ। ‘हामीले सम्पूर्ण सूचना समयमै उपलब्ध गराएका थियौँ। पुनर्मूल्याङ्कनपछि हाम्रो गाउँपालिका जिल्लाभरकै उत्कृष्ट भएको छ,’ उनले भने।

भर्खरै
लोकप्रिय






































































































































































































