
‘धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब। नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्। त्यसैले हामी सबैले आवाज उठाउनुपर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि! सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त। त्यो जनतालाई थाहा छ।’
‘मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ।’
‘आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्ठानेको? मैले पहिलो पटक प्रधानमन्त्री हुँदा फेरि एकचोटी दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको थिएँ।’
यी कोट गरिएका शब्दहनेपालका पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध दिएको अभिव्यक्ति हो। देशको बागडोर दुई पटक थामिसकेका पूर्वप्रधानमन्त्री दाहालले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति हो।
संयुक्त राष्ट्रसंघजस्तो विश्वमञ्चमा समेत सम्बोधन गरिसकेका उनले दिएको उक्त अभिव्यक्तिलाई सभ्य समाजमा सहज रुपमा लिन सकिन्छ? मर्यादित मान्न सकिन्छ? शिष्टाचारको मर्यादाभित्र पर्छ? कि नेपाली समाजले यस्ता अभिव्यक्तिलाई सहज रुपमा लिन सक्ने तहमा पुगेको हो? प्रश्न खडा भएको छ।
प्रचण्डको विषयमा कुरा गर्दा केहीलाई किन उनको विषयमा मात्र भन्ने लाग्न सक्छ। तर, आज हामी पुष्पकमल दाहालको अभिव्यक्तिमा केन्द्रित भएका छौं। किनभने, उनी देशको बागडोर सम्हालिसकेका व्यक्ति हुन्। उनी शिष्टता, मर्यादा र आत्मअनुशासनमा रहनुपर्छ।
सामान्यतया संसारभर, प्रधानमन्त्री वा उच्च पदमा आसीन व्यक्तिहरूको व्यवहार र अभिव्यक्ति उच्च स्तरको, शिष्टता, मर्यादा र नैतिकताको उदाहरण बन्ने गर्छ, जसले राष्ट्रलाई सकारात्मक दिशा दिन्छ र जनताको विश्वास जित्न मद्दत पुर्याउँछ।
तर, नेपालको राजनीतिलगायत सबै क्षेत्रका नेतृत्वकर्ताका लागि भने यो प्रश्न निकै महत्वपूर्ण छ र यसले राजनीति र सार्वजनिक वाक्यको मर्यादा र संस्कृतिबारे गहिरो प्रश्न उठाएको छ। हाम्रो देशमा यस्ता धेरै नेता छन्, जसको अभिव्यक्ति र व्यवहारले समाज र राष्ट्रलाई नै क्षति पुर् याएको छ।
सार्वजनिक मञ्चमा फरक विचार र आस्था राख्ने व्यक्तिले अरुको आलोचना गर्दा, खासगरी जब त्यसलाई सत्तोसराप वा अभद्रता रूपमा प्रस्तुत गरिन्छ। त्यो व्यवहार लोकतान्त्रिक मर्यादामा र सार्वजनिक शिष्टाचारमा अपेक्षा गर्न सकिँदैन। लोकतन्त्रमा, प्रत्येक व्यक्तिको विचार व्यक्त गर्ने स्वतन्त्रता छ।
र, यसका आधारमा आलोचना र संवाद गर्न सकिन्छ। तर, त्यहाँ शिष्टता, सम्मान र आदर्श पनि रहनुपर्छ। सत्तामा रहेका व्यक्ति, विशेष गरी पूर्वप्रधानमन्त्रीजस्ता उच्च पदमा रहेका नेताले स्वाभाविक रुपमै उदाहरणीय व्यवहार देखाउनुपर्छ। तर, उनले त्यसो गरेनन्। उनीबाट त्यस व्यवहारको अपेक्षा नेपाली जनताले गरेका थिएनन्।
आफ्नो आस्था विपरीतका विचार बोक्नेहरूलाई सत्तोसराप गर्नाले समाजमा नकारात्मकता फैलाउने र द्वन्द्वको वातावरण पैदा गर्न सक्छ। नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख हुनु सकारात्मक संकेत होइन। यसले नेताहरूको असहिष्णुता, हतास मानसिकता र अक्षमता देखाउँछ। नेताहरूलाई आफ्नो भाषण र क्रियाकलापमा सन्तुलित र शिष्ट बन्नु आवश्यक छ। विशेष गरी, जब सार्वजनिक मञ्चमा बोल्दै छन् भने त्यसले समाज र राष्ट्रको भविष्य र जनताको विश्वाससँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ।
पुष्पकमल दाहालजस्ता नेता यदि फरक विचार र आस्था राख्ने व्यक्तिसँग असहमत छन् भने, त्यसको आलोचना गर्न सक्छन्। तर, त्यो आलोचना सत्तोसराप र अनावश्यक अपमानको तहमा हुनुहुन्न। यस्तो चरित्र समाजमा लामो समय टिक्न सक्दैन।
देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्वको शिष्टाचार र मर्यादायुक्त संवाद र विवेकपूर्ण आलोचनाले मात्र समाजमा स्वस्थ बहस र विकासको वातावरण सिर्जना गर्न सक्छ। समाजमा घृणालाई पक्षपोषण गर्ने यस्ता आवेशपूर्ण अभिव्यक्तिलाई सम्बन्धित राजनीतिक दलले समयमै निरुत्साहित गर्नुपर्छ। राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्छ।
नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कता–कता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि? भन्ने पनि लाग्न थालेको छ। नेताहरूले बुझ्नुपर्छ, पद भनेको अस्थायी कुरा हुन्। स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा पनि हो। यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ। एकै समयमा फरक–फरक बोलेर भ्रम छर्ने र भ्रमबाट सिर्जित भुमरीमा गरिने राजनीति क्षणिक लाभदायक त हुन्छ तर कालान्तरमा त्यही घातक सावित हुन्छ।
ऋनि मात्र नेपालजस्तो विविधतामा आधारित समाजमा सहिष्णुता र समानता प्रवद्र्धन गर्न मद्दत पुर् याउँछ, जसले अन्ततः शान्तिपूर्ण समाज निर्माणमा सघाउ पुर्याउँछ।
नेताको व्यवहार, शिष्टता र मर्यादा कस्तो हुनुपर्छ?
नैतिकता र इमान्दारीः आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा साँचो र इमान्दार व्यवहार गर्नुपर्छ। क्रियाकलाप र निर्णय जनताको हितमा हुनु आवश्यक छ। भ्रष्टाचार र स्वार्थी गतिविधिबाट टाढा रहनुपर्छ।
शिष्टता र आदर्श नेतृत्वः विचार व्यक्त गर्दा शब्द र कार्यबीचको सन्तुलन महत्त्वपूर्ण हुन्छ। सार्वजनिक मञ्चमा उनले शिष्ट र मर्यादित व्यवहार देखाउनुपर्छ। जसले देशको प्रतिष्ठा र सम्मान बढाउँछ। यसले जनताको विश्वास र सम्मान जित्न मद्दत पुर् याउँछ।
सहानुभूति र संवेदनशीलताः समाजका सबै वर्ग, धर्म, र क्षेत्रका नागरिकको समस्यामा संवेदनशील र सहानुभूतिपूर्ण दृष्टिकोण राख्नुपर्छ। कमजोर र विपन्न वर्गको पक्षमा आवाज उठाउनुपर्छ र समाजका सबै तहमा समानता र न्यायको सुनिश्चितताका लागि प्रतिबद्ध हुनुपर्छ।
समानता र सहिष्णुताः सबै नागरिकलाई समान हक र अवसरका लागि कार्य गर्नुपर्छ। कुनै जात, धर्म, वा वर्गको विभाजन नगरी सबैलाई समान व्यवहार गर्नुपर्छ। नेतृत्वले जहिले पनि समाजमा विविधताको सम्मान र समाजमा एकता प्रवद्र्धन गर्नुपर्छ।
दृष्टिकोण र दूरदृष्टिः राजनीतिक नेतृत्त्वका निर्णयले आजको समस्याको समाधान मात्रै होइन, भविष्यको दृष्टिकोण र दीर्घकालीन विकास योजनामा आधारित हुनुपर्छ। यसले देशलाई प्रगति र समृद्धिको दिशामा अगाडि बढाउँछ।
नेताको अभिव्यक्ति कस्तो हुन्छ?
विवेकपूर्ण र सोच विचार गरेर बोलेकोः प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा अन्य कुनै नेताले कुनै पनि मञ्चमा बोल्दा विवेकपूर्ण र सोच विचार गरेर बोल्नुपर्छ। उनका शब्दले जनतालाई सही मार्गदर्शन दिनुपर्छ र नागरिकमा असमझदारी वा भ्रम उत्पन्न गर्नु हुँदैन।
सकारात्मक र प्रोत्साहनात्मकः नेताको अभिव्यक्ति सकारात्मक र प्रोत्साहनात्मक हुनुपर्छ। जनता र देशको भविष्यप्रति आशावादी र उत्साहित गर्ने भाषामा कुरा गर्नुपर्छ, जसले समाजमा आशा र प्रेरणा बढाउँछ।
सुसंस्कृत र शिष्टः प्रधानमन्त्री भइसकेको व्यक्तिको भाषाशैली शिष्ट र सुसंस्कृत हुनुपर्छ। उनको शब्दले समाजमा शान्ति र सद्भाव प्रवद्र्धन गर्नुपर्छ। र, आलोचना गर्दा पनि विरोधीको इज्जत राख्दै, शिष्ट र व्यावसायिक शैलीमा कुरा गर्नुपर्छ।
संवेदनशील र साँचोः नेताले जनताको भावनालाई बुझ्ने र त्यसको सम्मान गर्ने अभिव्यक्ति दिनुपर्छ। उनले वास्तविकता र सत्य बोल्नुपर्छ, झुट र प्रपगण्डाबाट टाढा रहनुपर्छ।
आलोचना र विवादबाट बच्नेः सार्वजनिक मञ्चमा पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री वा नेताले निरर्थक आलोचना र विवादबाट बच्नुपर्छ। उनले विचार–विमर्श र संवादलाई प्राथमिकता दिनुपर्छ र नागरिकको बीचमा विभाजन र द्वन्द्व सिर्जना गर्नुहुन्न।
एक राजनीतिक व्यक्तिले यी मानक पूरा गर्छ भने ऊ साँच्चै आदर्श नेता बन्न सक्छ। नेपालजस्ता लोकतान्त्रिक मुलुकमा यस्तो नेताको आवश्यकता झन् महत्वपूर्ण छ।
संक्षेपमा भन्नुपर्दा, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा ओहोदामा बसेकाहरूको व्यवहार र अभिव्यक्ति उच्चतम स्तरको शिष्टता, मर्यादा, र नैतिकताको उदाहरण बन्नेछ, जसले राष्ट्रलाई सकारात्मक दिशा दिन्छ र जनताको विश्वास जित्न मद्दत पुर् याउँछ।
आदर्श राजनीतिक व्यक्तिले मात्र समाज, राष्ट्र, र जनताको हितलाई प्राथमिकता दिने, नैतिकता, इमान्दारी र कर्तव्यनिष्ठको उच्च मानक पालना गर्ने व्यक्ति बुझिन्छ। यस्तो व्यक्तिले मात्र साँचो लोकतन्त्र, सुशासन र समृद्धिको नेतृत्व गर्न सक्छ। नेपाली नागरिकले त्यस्तो नेतृत्त्व खोजेका छन्। नेताले यी कुरा गम्भीरतासाथ मनन गरुन्। अन्यथा, त्यसको महँगो मूल्य चुकाउनु पर्नेछ।