
हुम्ला –सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यमिक विद्यालयले खुला रुपमा शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षा क्षेत्रका ब्यक्तिबाट राय, सुझाव र प्रतिक्रिया लिन यो कार्यक्रम विद्यालयले आयोजना गरेको हो।
अन्तरक्रिया कार्यक्रममा सिमकोट गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले सदरमुकामको पुरानो विद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए। शैक्षिक क्यालेण्डरअनुसार अगाडि बढ्न सके धरै कुरामा सुधार ल्याउन सकिने बताउदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले जनाए। पहिलो जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्ने यो विद्यालयका शैक्षिक अवस्था खस्कँदै जानु सकारात्मक नभएको उनको भनाइ थियो।
कार्यक्रम सिमकोट गाउँपालिका– ६ का वडा अध्यक्ष नन्द रावतले शिक्षकले मात्र शैक्षिक सुधार गर्न नसक्ने भएको कारण त्यसलाई अभिभावक, विद्यार्र्थी, सहयोगी निकाय, विद्यालय ब्यवस्थापन समिति सबै आ–आफ्नो स्थानमा लाग्नु पर्ने बताए। विद्यालयमा शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणदेखि अन्य आवश्यक संरचना ब्यवस्थापन गर्न पनि उत्तिक्कै आवश्यक रहने उनले बताए।
कार्यक्रममा सहभागीहरुले विद्यालयमा शैक्षिक सुधार ल्याउन आवश्यक रहेको र यसका लागि सरोकारवाला पक्षले पनि ध्यान दिन आवश्यक रहेको सुझाव दिएका थिए। बिशेष गरि हुम्लामा अभिभावकहरुले खासै आफ्ना सन्ततीको पठनपाठन प्रति चासो दिन नसकेको गुनासो पनि गरिएको थियो। अर्को कुरा विद्यालयसंग भएकै साधन श्रोतको अधिकतम प्रयोग गरेर शिक्षामा सुधार ल्याउनु पर्ने सुझाव दिनु भएको थियो। नितान्त रुपमा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।
पछिल्ला वर्षहरुमा उक्त विद्यालयको शैक्षिक अवस्था खस्कदै गएको टिका टिप्पण हुने गर्दै आएको छ। कार्यक्रम अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको भएपनि अभिभावकहरु उल्लेख्य रुपमा उपस्थित हुन नसकेको उनले दुःख दुःख ब्यक्त गरे। अभिभावकबाटै शिक्षा सुधारका लागि केही सुझाव आउला भन्ने आशा रहेको भएपनि त्यो पुरा हुन नसकेको उनको भनाइ थियो।
उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए। उनले विद्यालयको शैक्षिक सुधारका लागि जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने र शिक्षा क्षेत्रबारे जानकार ब्यक्तिहरुबाट आएका सुझावलाई अक्षरस विद्यालयले पालन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।