
झापा- नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा राजनीतिक दुर्घटना हुनसक्ने संभावना बढेको बताएका छन्।
केही दिनदेखि झापामा रहेर समाजवादी मोर्चा तथा पार्टीको कामलाई निरन्तरता दिएका विप्लवले मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा राजनीतिक दुर्घटना बढेको बताएका हुन्।
उनले देशमा २०४७ सालतिर फर्किने र अझ अग्रगमनको बाटोमा जानुपर्छ भन्नेहरूको द्वन्द्व चर्किरहेका बेला त्यस्तो संभावना रहेको बताए।
उनले भने,’धेरै मान्छे राजतन्त्रको वकालत गरेर हिँडिरहेका छन्। यसरी पहिलाका दिनमा फर्किने र अग्रगमन चाहनेहरूबीच द्वन्द्व चर्किँदै गयो भने दुर्घटनाको संभावना देखिन्छ।’
राजतन्त्र पक्षधरहरूलाई अहिले विदेशी शक्तिहरू उचालेको उनको दाबी थियो। तर जनता गणतन्त्रबाट पछाडि फर्किन नचाहेको उनले बताए। उनले गणतन्त्रभन्दा पनि ‘नेतातन्त्र’बाट अगाडि बढ्न जनताले चाहेको उनले बताए।
उनले भने, ‘देशको भू-राजनीतिक परिस्थितिका कारण विदेशीहरूले यही बेला खेल्न मौका पाएका छन्। तर विदेशीले चाहँदैमा नेपालबाट गणतन्त्र जाँदैन।’
२०७२ सालमा जारी भएको संविधानले जनताको आवश्यकता तथा चाहनालाई पूरा गर्न नसकेकाले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। ‘यो संविधान अपूर्ण छ। जस्का कारण जनतामा वितृष्णा पैदा भएको छ। चाँडो सरकार ढल्ने परिपाटीलगायतबाट पार पाउन संविधानको बृहत संशोधन चाहिएको छ,’ उनले भने।
अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भयो भने अहिलेको भन्दा उन्नत व्यवस्था हुने विप्लवले बताए। उनले भने,’कम्तीमा सरकारले निश्चित समयसम्म काम गर्न पाउँछ।’
तर गणतान्त्रिक समाजवादमा नपुगुन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ छ।