
काठमाडौँ– ‘अध्यक्षज्यू, हिजोको प्रदर्शनले कत्तिको मनमुटु हल्लाएको छ?’ गएको फागुन २६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सञ्चारकर्मीको प्रश्न थियो।
अघिल्लो दिन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने समयमा काठमाडौँमा राजतन्त्रपक्षधरहरूले शक्ति प्रदर्शन गरेका थिए।
यही सन्दर्भमा प्रदर्शनको अर्को दिन काठमाडौँमा प्रचण्डलाई कत्तिको मनमुटु हल्लिएको छ भन्दै प्रश्न गरिएको थियो। उनले छोटो प्रतिकृया दिएका थिए– ‘केको मुटु हल्लिनु? यो प्रदर्शनले केही मनमुटु हल्लाएको छैन। केही भएको छैन।’
सशस्त्र युद्ध गरी सत्तामा आइपुगेका प्रचण्डलाई मुटु हल्लिएको छैन? डराउनु भएको छैन? भन्ने प्रश्न सोध्नु सायद उनलाई कमजोर प्रश्न जस्तो लाग्यो कि! त्यसैले उनले अगाडि भने– ‘केको डराउनु? त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन, यहाँ त अहिले?’
उनको उत्तरबाट प्रचण्ड सानातिना आन्दोलन, प्रदर्शन हुँदैमा राजतन्त्र फर्किँदै, डराउनु पर्दैन भन्ने दृढ देखिन्छन्।
तर राजतन्त्र पक्षधरहरूको प्रदर्शनबाट नडाराएका उनै प्रचण्ड राजतन्त्रकाविरुद्ध सडकमा उत्रदैँछन्।
पूर्वराजा शाह पोखराबाट काठमाडौँ फर्किँदै गर्दा राजतन्त्र पक्षधरहरूले त्रिभुवन विमानस्थलदेखि निर्लम निवाससम्म शक्ति प्रदर्शन गरेका थिए, गत फागुन २५ गते आइतबार।
शक्तिप्रदर्शनपूर्व गृहमन्त्रालयले करिब १० हजार मानिसको उपस्थिति हुने पूर्वानुमानलाई फेल गराउँदै २० हजार भन्दा बढीको सहभागितामा प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनले गणतन्त्रपक्षधर दलहरूलाई कत्तिको त्रसाएको छ? के राजतन्त्र फर्किने सम्भावना बढेको हो? प्रदर्शनपछि बहसले उचाइ लिएको छ। बहससँगै आन्दोलनका तिथिमितिहरू पनि सार्वजनिक भइरहेको छ।
अचम्म त के छ भने राजतन्त्रपक्षधरहरूको प्रदर्शनबाट नडराएका उनै प्रचण्ड अन्य दलभन्दा अगाडि नै राजतन्त्रविरुद्ध सडक प्रदर्शनमा जाँदैछन्।
प्रदर्शनको तयारीका लागि माओवादी केन्द्रले १२ फागुनमा सुरु भएको ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ आधा बाटोमै २४ फागुनमा स्थगित गरिसकेको छ। यद्यपि बिहीबार (चैत ७ गते)बाट अभियान सुरु हुँदैछ।
राजधानी काठमाडौँमा राजतन्त्रपक्षधरहरूले गरेको प्रदर्शन, स्ववियु निर्वाचन र संसद्मा भूमिका बढाउनुपर्नेलगायत कारण देखाउँदै माओवादीले अभियान रोकेको थियो।
अभियान रोकेर प्रचण्डले राजतन्त्रविरुद्ध सडक आन्दोलन घोषणा गरिसकेका छन्। १५ चैतमा प्रचण्ड नेतृत्वको माओवादीसहित नेकपा एकीकृत सजमावादी (नेकपा एस), नेकपा, नेसपा दलसम्मेलित ‘समाजवादी मोर्चा’ले काठमाडौँमा वृहत शक्ति प्रदर्शन गर्न लागेको छ।
प्रदर्शनमा एक लाख मानिस काठमाडौँमा उतार्ने मोर्चाको तयारी छ। वामपन्थीहरूलाई एक ठाउँ बनाउने उदेश्यसहित गठन भएको मोर्चाले वामपन्थीहरूलाई एक ठाउँ बनाउन त सकेको छैन। आफूहरू कमजोर भएको महसुस भएपछि एक ठाउँ उभिएर छलफल गर्ने एक थलो भएको मोर्चाले पछिल्लो पटक प्रदर्शनमा उत्रिन लागेको हो।
४ चैत २०८०मा गठन भएको मोर्चाको यो पहिलो शक्ति प्रदर्शन हो। पूर्वराजासँग नडराएका दलहरूले शक्तिप्रदर्शन किन गर्नुपरेको? प्रचण्ड पटक–पटक फेरि आफै भन्दैछन्– ‘संघर्षबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको छ। त्यसकाविरुद्ध प्रदर्शन गर्नुपर्ने अवस्था आएको छ।’
२५ फागुनमा काठमाडौँमा भएको शक्ति प्रदर्शनबाट मात्र होइन, पूर्वराजा शाहसँग दलहरू तर्सिएको महिनादिन बढी भइसक्यो। ६ फागुनमा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शाहले अब बेला भइसक्यो भन्दै नागरिकलाई आफूलाई साथ दिन आह्वान गरेपछि दलहरू शाहकाविरुद्धमा खनिएका छन्।
दलका नेताहरूले पटक–पटक धम्कीसमेत दिइरहेका छन्। राजनीतिक गर्ने भए दल खोल्न, चुनावमा आउन आग्रह दलहरूको छ। होइन भने राज्यले दिएको सेवा सुविधा लिएर फेरि राजा बनिहाल्छु भन्ने गल्ति नगर्न दलका नेताहरूले भनिरहेका छन्।
पूर्वराजाको गतिविधिबाट झस्किएको छ सत्तारुढ दल
राजतन्त्र अन्त्य भएको दुई दशकमा पूर्वराजा शाहले अब आफूलाई सहयोग गर्न नागरिकलाई आह्वान गरेपछि दलहरू झस्किएका हुन्। संसद्का प्रतिपक्ष दलहरूको त सडक प्रदर्शन हुने मिति नै तोकिसकेको छ।
साथमा सत्तारुढ दलहरू पनि पूर्वराजा शाहको गतिविधिबाट झस्किएका छन्। उनको गतिविधिको पार्टी बैठकहरूमा छलफल चलिरहेको छ। सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमालेले पछिल्लो समय पूर्वराजाले गरेको छलफलाई गम्भीरताकासाथ लिएको छ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेको चैत ४ गते बसेको सचिवालय बैठकले पूर्वराजा शाहले सुनियोजित गतिविधि गरेको भन्दै प्रतिवाद गर्नेसम्मको चेतावनी दिएको छ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए– ‘लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भएको सुनियोजित गतिविधिका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ।’
जनताको बलमा स्थापना भएको लोकतन्त्रलाई उल्ट्याउने र पश्चगामितिर जाने कुरा सफल नहुने भन्दै उनले आवश्यक परे सडक संघर्षसम्म गर्ने एमाले तयार रहेको बताएका थिए।
‘राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने भएरै राजतन्त्रको अन्त्य भएको हो। जनताको फैसला उल्ट्याउने र पश्चगामितिर जाने कुरा सफल हुँदैन’, ज्ञवालीको भनाइ थियो, ‘अहिले जनतालाई जागृत गर्ने र आवश्यक परे त्यसकाविरुद्ध जनता उतार्ने विषय पनि बैठकमा छलफल भयो।’
सत्ता घटकको प्रमुख दल नेपाली काँग्रेसभित्र पनि पूर्वराजाको गतिविधिका विषयमा छलफल भइरहेको छ। चैत ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पूर्वराजाको गतिविधिका विषयमा छलफल भएको नेपाली काँग्रेसका प्रवक्त डा. प्रकाशशरण महतले बताए।
प्रतिपक्ष दलले पूर्वराजाकोविरुद्धमा सडक संघर्ष गर्न लागेकोमा काँग्रेसले स्वागत गरेको डा. महतले बताए। ‘हामी अहिले नै प्रदर्शनमा सहभागी हुने भने छैन। उहाँहरू (प्रतिपक्ष)ले गरेको निर्णय ठिक छ। भोलिको दिनमा काँग्रेस कसरी प्रस्तुत हुने विषय केन्द्रीय समितिले निर्णय गर्ला’, उनले भने।
जनताको अपेक्षा पूरा नभएको भए पनि पूरा गर्नका लागि जननिर्वाचित सरकारले नै काम गर्ने महतले बताए। ‘जनताबाट प्राप्त यस उपलब्धिको रक्षा गर्नेमा काँग्रेसको कुनै दुविधा छैन। निर्वाचित सरकारको कमीकमजोरी भए, जनअपेक्षा पूरा नभएको भए निर्वाचित सरकारको नै जनअपेक्षा पूरा गर्ने हो’, महतले भने।
सत्तारुढ दलहरूले पूर्वराजालाई फेरि गद्दीमा फर्किने सपना नदेख्न चेतावनी दिइरहेका छन्। चैत ३ गतेको संसद् बैठकमै नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पूर्वराजा शाहले वातावरण बिगार्न खोजे प्रतिपक्षसँगै सत्तापक्ष पनि सडकमा आउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
‘राजतन्त्र ल्याउने संघर्षकाकाविरुद्ध हामी फेरि सडकमा उत्रन नपरोस्। राजतन्त्रको विषयमा वौद्धिक विमर्श गर्नुस् ठिक छ’, उनले चेतावनी दिँदै भनेका थिए, ‘तर त्रास खडा गरेर वातावरण बिगार्न खोजिन्छ भने प्रतिपक्ष त गइसक्यो सत्ता पक्ष पनि सडकमा आउने दिन आउन सक्छ।’
पन्तले आमाको पेटबाट बच्चा जन्मिन सक्ने तर आमाको पेटबाट जन्मिएको बच्चालाई फेरि आमाको पेटमा पठाउन नसकिने भनेका थिए। पन्त प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका प्रभावशाली नेतासमेत हुन्।
ओली निकटकै नेताबाट पूर्वराजा र राजतन्त्र पक्षधरलाई दिइएको चेतावनीले एमाले पूर्वराजाको गतिविधिबाट झस्किएको भन्न सकिने अवस्था छ।
यस्तै काँग्रेसका अर्का प्रभावशाली नेता कृष्ण सिटौलाले पूर्वराजाले सर्वसाधारण जनतालाई भड्काउने काम गरिरहेको आरोप लगाएका थिए। चैत ४ गतेको राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा शाहलाई लोकतान्त्रिक प्रणालि अपनाएर राजनीतिमा आउन आग्रह गरेका थिए।
‘पूर्वराजाले म राजनीतिक खेलाडिका रुपमा मैदामा आए भन्न सक्नुपर्छ। मेरो नीति कार्यक्रम यो हो भनेर प्रस्तुत हुन सक्नुपर्छ’, उनले भनेका थिए, ‘तर राजा आउँछ है भनेर सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ यसले राम्रो गरेको छैन।’
राजतन्त्रपक्षधर पनि सडकमा
राजतन्त्रको वकालत गर्ने मुख्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजीविका भन्दा पनि राजतन्त्र स्थापनाको मुद्दा लिएर सडकमा निस्कने भएको छ। चैत ५ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो।
आगामी कार्यक्रमका लागि राप्रपाको आन्दोलन परिचालन मुल समितिको बैठक चेत १२ गते बस्दैछ। राजतन्त्रको वकालत गर्ने राप्रपा मात्र होइन। राप्रपाबाट फुटि बनेको राप्रपा नेपाललगायत अन्य समूहरु पनि राजतन्त्रको पक्षमा वकालत गर्दै आइरहेका छन्।
तर राजतन्त्रको वकालत गर्ने यी दल, समूहबीच मेलमिलाप छैन। को पूर्वराजा शाहको नजिक हुने भन्नेमा लडाइ यी पक्षधरहरूबीच पनि रहेको छ। जसले लामो समयदेखि मेलमिलाप भन्दा यी राजतन्त्र वकालतधारी पक्षहरूबीच मधभिन्नता रहँदै आएको छ।
राप्रपाले भने विचार मिल्ने दल र समूहसँग सहकार्य गर्ने भनेको छ।