
हुम्ला – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य चौकीको प्रगति विवरणमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ। न्यूनतम सेवा मापनमा सबैभन्दा बढी अंक प्राप्त गरेर सिमकोट गाउँपालिकाका तीन वटा स्वस्थ्य चौकी उत्कृष्ट ठहरिएका हुन्।
जिल्लाभरका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको न्यूनतम सेवा मापदण्डमा सिमकोट गाउँपालिकाका तीन वटा पुराना स्वास्थ्य चौकी उत्कृष्ट तीनमा पर्न सफल भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
०८१/८२ मा सिमकोट गाउँपालिकाका स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुन सफल भएका हुन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकी ८६ प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको छ भने वडा नम्बर २ को ठेहे स्वास्थ्य चौकीले ८५ प्रतिशत अंक प्राप्त गरेर द्वितीय र वडा नम्बर ७ को डाँडाफया स्वास्थ्य चौकी ८४ प्रतिशत अंक प्राप्त गरेर तृतीय हुन सफल भएको उनले बताए।
यसको छनोटको मापन गरिएका सूचक ३८२ वटालाई तीन क्षेत्रमा विभाजन गरी छनोट गरिएको उनले बताए। जसमा सुशासन तथा व्यवस्थापनको ३० अंकका लागि स्वास्थ्य चौकीको सुशासन, मानव स्रोत, आर्थिक व्यवस्थापन, मेडिकल रेकर्ड, सूचना र गुणस्तर व्यवस्थापनमा विभाजन गरी मूल्यांकन गरिएको थियो।
त्यसैगरी क्लिनिकल सेवाअन्तर्गत ६० अंकभार दिएर बहिरंग सेवा, खोप वृद्धि अनुगमन, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय रोग, कुष्ठ रोग व्यवस्थापन, औषधि उपकरण, प्रसूति केन्द्र र ल्याब सेवाबारे अनुगमन गरेर अंकभार प्रदान गरिएको थियो।
त्यसैगरी, तेस्रो क्षेत्रमा सहयोग क्षेत्र व्यवस्थापनमा २० अंक दिएर औजार प्रशोधन निर्मलीकरण, सरसफाइ ऊर्जा, खानेपानी फोहोर मैला व्यवस्थापन र सुरक्षा संरक्षण र भण्डारणलगायत सूचकलाई अनुगमन गरेर अंक प्रदान गरिएको थियो।
सात वटै गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको न्यूनतम सेवा मापनको समीक्षा कार्यक्रममा उत्कृष्ट हुने स्वास्थ्य चौकीलाई सम्मान पनि गरिएको थियो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले काम गरेअनुसार प्रतिफल प्राप्त भएको र आगामी दिनमा पनि अझै सुधार गरेर अगाडि बढ्ने प्रेरणा मिलेको बताए। सिमकोटमा चार वटा स्वास्थ्य चौकी छन् भने जिल्लाभर २६ वटा स्वास्थ्य चौकी छन्।