वीरगञ्ज – वीरगञ्जको मुख्य सडक बिस्तारको लागि नापी गर्न डिभिजन सडक कर्यालय हेटौंडाले पत्राचार गरेको छ। सडक डिभिजनले नापी कार्यालय पर्सालाई पत्राचार गरी सडकको दायाँबायाँ २५–२५ मिटर नापी गरी रेखांकन गर्न भनेको छ।
वीरगञ्जको मुख्य सडक बिस्तारका लागि त्रिभुवन राजपथको गण्डक चोकदेखि पावरहाउस, घण्टाघर, बिर्ता, रजत जयन्ती चोक मितेरी पुलसम्मको सडकको दायाँबायाँ २५–२५ मिटर रेखांकन गरी सडक सम्पत्ति संरक्षण गर्ने कार्यमा सहयोग गर्न भन्दै डिभिजन सडकले नापी कार्यालय पर्सालाई पत्राचार गरेको हो।
सडक रेखांकनका लागि पत्राचार गरिएको भन्दै नापी कार्यालयले नै नापीको लागि समय निर्धारण गर्ने कार्यालयका इन्जिनियर रन्जित साहले जानकारी दिए।
वीरगञ्ज पथलैया ब्यापारिक मार्ग बिस्तार आयोजना हेरिरहेका उनले सडक बिस्तार गर्दा एक हजारदेखि १२ सय घर भत्किने जानकारी दिए।

सर्बोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ गर्दै अदालतले गत फागुन २८ गते मुद्दा खारेज गरेपछि सडक बिस्तारको बाटो खुलेको हो। सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनी विरोध गर्दै आएका थिए।
त्रिभुवन राजपथअन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म ६ लेन सडक निर्माण गर्न त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५र२५ मिटर विस्तार गरिसकेको छ।
अब गण्डकदेखि मितेरी पुलसम्मको सडक बिस्तार भएपछि व्यापारिक मार्ग विस्तार आयोजना पूरा हुने इन्जिनियर साहको भनाइ छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































