क्षयरोगमुक्त पालिका अभियानको प्रभावकारिता, क्षयरोगमुक्त नेपालको यात्रा

क्षयरोगमुक्त पालिका अभियानको प्रभावकारिता, क्षयरोगमुक्त नेपालको यात्रा
+
-

क्षयरोग प्राचीनकालदेखि नै मानव समाजमा परिचित हुँदै आएता पनि २४ मार्च सन् १८८२ मा जर्मनका वैज्ञानिक डा.  रवर्टककले यस रोगको किटाणु पत्ता लगाएका थिए। सोही दिनलाई विश्व क्षयरोग दिवसको रुपमा सचेतनामूलक अभियानको रुपमा मनाउने गरिन्छ। यसपटकको विश्व क्षयरोग दिवसको नाराको रुपमा “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चिता आजको आवश्यकता” भन्ने रहेको छ।

क्षयरोग रोग एक प्रकारको सरुवा रोगमध्ये हावा र श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो। यो रोग माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस नामक सुक्ष्म किटाणुबाट लाग्दछ। उन्नाइसको शताब्दीमा विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा विश्वमा क्षयरोग जनस्वास्थ्य समस्याको रूपमा परिभाषित गरेपछि त्यसैअनुसार नेपालले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको स्थापना गरी सो केन्द्रमार्फत नेपालले क्षयरोग रोकथाम कार्यक्रमका विभिन्न खुड्किलाहरू पार गर्दै आएको छ।

सन् १९९६ देखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको उपचार विधि (डट्स विधि)मार्फत स्वास्थ्य संस्थाहरूबाट क्षयरोगको औषधि निःशुल्करूपमा हालसम्म बिरामीहरूलाई वितरण गर्दै आइरहेको छ। त्यसैगरी बहुऔषधि प्रतिरोधी प्रकारको क्षयरोग (Multi Drug therapy)को उपचार पनि भइरहेको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्लुएचओ-नेपाल, प्रदेश, स्थानीय तह र सम्बन्धित निकाय सबैको पहलमा क्षयरोगलाई सन् २०५० मा प्रति दश लाखमा एक जना क्षयरोगी हुने लक्ष्यको साथ क्षयरोग उन्मुलन कार्यक्रम घोषणा गरेको छ।

क्षयरोगसम्बन्धी केही तथ्य र तथ्यांकहरूः

– नेपालमा क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती रहँदै आएको छ।

– यो मृत्युको प्रमुख १० कारणहरूमध्ये एक हो। ग्लोबल प्रतिवेदन २०२४ अनुसार, सन् २०२३ मा नेपालमा अनुमानित ६८,००० जना टीबी संक्रमित र १६,००० मृत्यु भएका छन्।

– आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) मा कुल ४०,७७६ जना टीबी संक्रमित पहिचान गरिएको थियो, जसमा २३ प्रतिशत ६५ वर्षभन्दा माथिका वृद्ध नागरिकहरू थिए।

– औषधि प्रभावकारिता उपचारको सफलता दर ९२ प्रतिशत रहेको छ, जबकि मृत्यु दर ३.३ प्रतशत रहेको छ।

– नेपालमा औषधि प्रतिरोधी टीबी (DR-TB) को वार्षिक संक्रमण संख्या ३,००० अनुमान गरिएको छ।

– आर्थिक वर्ष – २०८०/८१ (२०२३/२४) मा कुल ७५६ (DR-TB) संक्रमित पहिचान गरिएका थिए, जसमा ६३३ जनालाई उपचारमा समावेश गरिएको थियो।

–  २००० देखि २०२३ सम्म करिब १० लाख जीवन जोगाउन सकिएको छ ।

– नेपालमा अनुमानित प्रत्येक दुईजना टीबी संक्रमितमध्ये एकजनालाई टीबी कार्यक्रमले भेटाउन सकेको छैन।

क्षयरोगमुक्त पालिका र नेपाल अभियान (TB-Free Palika/Nepal Initiative): क्षयरोग नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली सुदृढीकरण रणनीति, क्षयरोग अन्त्यको लागि END TB लक्ष्य हासिल गर्नका लागि तीव्र प्रयास स्वरूप नेपाल सरकारको नेतृत्वमा सञ्चालन भएको नवीनतम कार्यक्रमअन्तर्गत रहेको क्षयरोगमुक्त पालिका अभियान कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहलगायत सबैको सहकार्यमा क्षयरोग उन्मुलन गर्नु हो।

यो कार्यक्रम २०७८/७९ मा २५ नगरपालिका मा सुरु भएको थियो र पछि थप १०० नगरपालिकामा विस्तार भइ हाल १२५ नगरपालिकामा लागू गरिएको छ। यसले संघीय, प्रदेश र स्थानीय सरकारहरूबीचको सहकार्यलाई प्रतिबिम्बित गर्छ।

विशेषतः स्थानीय तहहरूको स्वामित्वमा मात्र जनस्वास्थ्यसम्बन्धी क्रियाकलापहरु प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ भन्ने उदेश्यले पनि यस्ता खोजमुलक कार्यक्रम गरिएको सन्दर्भमा आफैले यसको प्राभावकारिता अध्यन गर्ने क्रमममा झापा जिल्लाका विगत ५ वर्षका तथ्यांकहरु र सरोकारवालासँगको प्रत्यक्ष्य अनुभव र सल्लाह सिफारिसको आधारमा पाइएका अवस्था, चुनौती र स्थानीय तहको हुनु पर्ने भूमिका प्रस्तुत गरिएको छ।

क्षयरोग आफैमा यस्तो अवसरवादी रोग हो, जसले कुनै न कुनै अवस्था र समयमा हामीलाई प्रभावित गर्न सक्छ। यसको समयमा निदान गरी उपचारमा ल्याउन सके पूर्ण निको हुन्छ र नेपालमा निःशुल्क र प्रभावकारी औषधिहरुबाट उपचार भइरहेको छ तर पनि धेरै चुनौती र अवस्थाहरु छन्। एक जना प्रतिनिधिमूलक बिरामी भन्छन्, ‘रोग पत्तालगाउँन धेरै खर्च गरे सवै तिर गए दुख धेरै पाइयो। अन्त्यमा रोग पत्ता लाग्यो, नजिकैको सरकारी स्वास्थ्य सस्थामा निःशुल्क औषधि खाँदै छु। अब निको हुँदै छ। म खुशी छु।’

अझै पनि रोग पहिचान गर्ने कार्यलाई समुदाय स्तरमा बुझाउन जरुरी छ र अझै नयाँ, सहज, छिटो, प्रभावकारी निदान विधि आवश्यक देखिन्छ। अर्का बिरामी दुःखेसो पोख्छन्, ‘काम गर्न वैदेशिक रोजगारीको लागि गएको उतै रोग भन्यो। अनि घर पठाइदियो। अहिले उपचार गर्दै छु।’

अझै पनि निदान भएका बिरामीहरुको पूर्ण उपचार गर्न शतप्रतिशत सफलता हासिल गर्न सकिएको छैन। एक जना स्वास्थ्यकर्मी भन्छन्, ‘दैनिक प्रत्यक्ष निगरानिमा लामो समयसम्म औसधि खुवाउन गाह्रो छ। औषधि खुवाउन उनीहरुको दैनिक रोजगारी, परिवारको जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ बिरामीको पोषणको व्यवस्थापन, चेतनाको अवस्था आदिले पनि गाह्रो बनाइरहेको हुन्छ र बिरामी बीचमा नै औषधि छोडने गर्छन्।’

शंकास्पद बिरामीहरूको सक्रिय खोजी अभियानकै रुपमा पनि गरेको देखिन्छ तर सबैले त्यसमा चासो देखाएको देखिँदैन एकजना स्वयंसेवक भन्छन्, ‘शंकास्पद लक्षण भएकालाई परीक्षण गर्न नमूना संकलन गर्न घरैमा जाँदा पनि गाली खाइन्छ कोही बेला ढोका लगाएर भाग्नु हुन्छ।’

एकातिर समुदाय स्तरसम्म सेवा प्रवाह गर्ने कार्य चुनौतीपूर्ण र खर्चिलो छ भने अर्कोतर्फ उपलब्ध सेवा पनि सहजै ग्रहण नगरेको अवस्था पनि छ। समुदायमा अझै पनि क्षयरोगसम्बन्धी लान्छना र विभेदको कारण उपचार गर्न गाह्रो भइरहेको अवस्था छ। एक जना स्वास्थ्यकर्मी भन्छन्,’हाम्रो पालिकाको बिरामी अर्को पालिकामा औषधि खाइरहेको रहेछ, निको भयो भनेर बीचमा नै पूरा अवधि नखाइ छोडेको रहेछ, अहिले पुनः बल्झियो उसलाई ग्राहो छ।’

स्थानीय तहको नीति कार्यक्रममा स्वास्थ्यका विषयहरु त्यति धेरै प्राथमिकतामा परेको देखिँदैन। जनस्तरमा पनि आवश्यक ज्ञान र चासो नभएको कारण अझ जनस्वास्थ्यका यस्ता विषयहरु, क्षयरोगविहीन नेपालजस्ता क्रियाकलापहरुको माग समुदाय स्तरबाटै आउन अझै धेरै समय लाग्छ। सोही कारण पनि होला खासै बजेटभित्र परेको देखिँदैन तर न्यायको सिद्धान्तमा पनि यस्ता कार्यहरु समेट्नु अपरिहार्य नै छ।

हाल सबैको प्रयास खोजमूलक क्रियाकलापहरुले गर्दा स्थानीय तहहरुमा पनि क्रमशः जनताको प्रत्यक्ष सरोकार भएको आधारभूत स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखी बजेटसमेत विनियोजन गर्न थालिएको छ। यो सकरात्मक पक्ष हो। एक जना जनप्रतिनिधि भन्छन्, ‘हामीले पहिले पहिले त सबै भौतिक मात्रै विकास हो जस्तो लाग्थ्यो। बाटो खाल्डो पुर्दापुर्दै बजेट सकिने रहेछ तर बल्ल कुरा बुझिँदै छ। जनता स्वस्थ र खुशी नभइ त विकासको के काम? हामीले स्वास्थ्यमा पनि बजेट कार्यक्रम ल्याउँदै छौँ। थोरै बजेटले पनि जनतालाई खुशी दिने भनेको स्वास्थ्य नै रहेछ।’

स्वास्थ्य सेवालगायत क्षयरोग नियन्त्रण, निदान, उपचार आदि कार्यमा धेरै सुधारहरु पनि भएका छन् तर पनि चुनौतीपूर्ण उपलब्धि हासिल गर्न प्रविधिसँगै सामुदायिक सहभागितालगायत केन्द्र, प्रदेश, स्थानीय, वडा तहसम्म र निजी साझेदारीमा मात्र सम्भव छ।

क्षयरोगमुक्त पालिका अभियानजस्ता क्रियाकलापहरू, अभियानहरू छिमेकी देश भारतमा पनि टीबीमुक्त पञ्चायत, चाइनामा टीबीमुक्त विद्यालयलगायतका नयाँ–नयाँ खोजमूलक नवीनतम प्रयासहरू संचालन भइरहेको पाइन्छ।

प्रभावकारी अध्ययनको लागि नमूनाको रुपमा छानिएको झापा जिल्लाको मेचीनगर नगरपालिकामा विगत ३ वर्षदेखि संचालनमा आएको नवीनतम खोजमूलक कार्यक्रम क्षयरोगमुक्त पालिका अभियानले पारेको प्रभावअन्तर्गत विगत ५ वर्षको र कार्यक्रम सुरु भएपछिको ३ वर्षको सूचकहरु अध्ययन विश्लेषण गर्दा रोग पत्ता लगाउने दर समग्र झापा जिल्लाको औषतभन्दा धेरै (१४० प्रति १ लाख) देखिएको, औषत उपचार सफलता दर समान देखिएको (९०प्रतिशत), रोग खोजी अभियान, एआई प्रविधिको प्रयोग गरी छातीको एक्सरेलगायत, स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्डको तयारी, समुदायको परिचालन र स्थानीय तहको अपनत्व र बजेट तथा नीति कार्यक्रमा समावेश गरेको, सहयोगात्मक कार्यहरु र वडा तहबाट समेत केही नवीनतम कार्यहरु थप गरेको पाइयो भने अझै समुदाय सशक्तीकरण र सुक्ष्म योजनाअनुसारको थप क्रियाकलापहरु सन्चालन गरी बिरामीमैत्री र दीर्घकालीन योजना बनाएर कार्य गर्नु पर्ने देखिन्छ ।

अध्ययनका क्रममा पाइएका केही अवस्थाहरुबाट पनि हामीले अहिले नै केही थप कार्य गर्नु पर्ने देखिन्छ। जसको फलस्वरुप सबै स्थानीय तहले जिम्मेवारी र अपनत्व लिएर क्षयरोगविहीन नेपालको बाटोमा अगाडि बढेमा लक्ष्य हासिल गर्न सकिन्छ।

यस्ता खोजमूलक नवीनतम कार्यहरु सबै पालिकाहरुमा उपलब्ध श्रोत साधनको अधिकतम परिचालन गरी कार्यान्वन गर्नु पर्ने देखिन्छ। जसले कार्यक्रममा थप बल पुग्छ र मार्गनिर्देश गर्दछ।

सबै तहको सरकारबाट जस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत अतिआवश्यक सशर्त कार्यक्रमहरु, औषधि सामग्रीको आपूर्ति, प्रविधिको प्रयोग, तालिम तथा सबै प्रदेश सरकारबाट महत्वका साथ कार्यक्रममा समावेश गरी गुणस्तर अनुगमन सुधार, समीक्षा, औषधि सामग्रीको सुनिश्चितता र आवश्यक थप बजेट र सबै स्थानीय तहबाट सुक्ष्म योजना तयार गरी दिगोरुपमा खोजमूलक र प्रभाव पर्ने परिणाममूखी क्रियाकलापहरु प्रत्येक सेवाग्राहीले महसुस गर्ने र सहज हुने किसिमको सेवा सञ्चालन गर्ने, जसले गर्दा बिरामीको समयमा पहिचान, उपचार गरी निको बनाउन र उपचारसँगै समुदायको सकारात्मक सहभागिता भएमा दिगो विकासको लक्ष्यहरु प्राप्त गर्न र क्षयरोगविहिन नेपालको परिकल्पनालाई साकार पार्न सकिनेछ र क्षयरोग दिवसको वास्तविक उपलब्धि हासिल गर्न सकिनेछ। सबै तहबाट सवैले सहयोग समन्वय र सहकार्य गरौं।

(श्रोत-स्वास्थ्य सेवाको २५ वर्षको अनुभव, जनस्वास्थ्य क्षेत्रको आफैंले अध्ययनको क्रममा पाइएका तथ्य र अन्य अध्ययनहरुमा आधारित क्षयरोगविहीन नेपालको परिकल्पनामा आधारित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?