काठमाडौँ- तीन महिनादेखि काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गएको पुस ७ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कारबाही परेपछि महानरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार रोकिएको छ। कर्मचारीको तलब रोकिएको छ भने विकास आयोजनाको रकम भुक्तानी पनि रोकिएको छ।
गुरागाईंमाथि अनधिकृत नक्सा पास गरेको भन्दै महानगरपालिकाले कारबाही गरेको थियो। काठमाडौँ २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाही भएको थियो।
कारबाही भएपछि अहिले कृषि विभागका प्रमुख नुरनिधि न्यौपानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ। निमित्तलाई आर्थिक अधिकार हुँदैन। आर्थिक अधिकारका लागि संघीय सरकारले अधिकार दिनुपर्छ।
तर संघीय सरकारले उनलाई आर्थिक अधिकार दिएको छैन। यसका कारण काठमाडौँ महानगरपालिका तीन महिनादेखि आर्थिक अधिकारविहीन छ। महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन वा निमित्तलाई आर्थिक अधिकार दिन पत्राचारसमेत गरिसकेको छ।
दुवै अनुरोध सरकारले अटेरी गर्दै महानगरका मेयर बालेन्द्र साह (बालेन)माथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ। गुरागाईँलाई हटाएपछि प्रमुख प्रशासकीय अधिकृत माग गर्दै महानगरले संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको पुस २४ गते नै हो।
पत्रमा गुरागाईँमाथि छानबिन भइरहेको र उनी विदामा बसेकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनिएको थियो। गुरागाईंलाई कारबाही गरेर उनीमाथि अनुसन्धानका लागि छानबिन समिति पनि महानगरले बनायो।
यो पनि– प्रमुख प्रशासकीय अधिकृत प्रकरण: सिंहदरबारको ‘दादागिरी’ कि बालेनको गल्ती?
छानबिन समितिले काम गरिरहेको भन्दै सरकारले महानगरको २४ पुसको पत्रमा छानबिन सकिसकेपछि मात्र निर्णय गर्ने बतायो। सामान्य प्रशासन मन्त्रालयले देशसञ्चारलाई भनेको थियो– ‘अहिले छानबिन समितिले काम गरिरहेको छ। छानबिन समितिले काम सकेपछिमात्र के गर्ने निर्णय हुन्छ।’
तर छानबिन समितिले अनुसन्धान नसक्दै ५ फागुनमा समितिको समय सकियो। मेयर साहले उक्त समितिको म्याद थप गर्न मानेनन् र समितिलाई निष्क्रिय बनाइदिए।
समितिलाई निष्क्रिय बनाएर शहरी व्यवस्थापन विभाग, कानुन र सार्वजनिक निर्माण विभागलाई राय बनाउन भनेर उनले उक्त राय सामान्य प्रशासन मन्त्रालयलाई पठाए। रायमा गुरागाईंले के गरे भन्ने प्रष्ट छैन।
फागुन १९ गते महानगरले राय पठाएपछि मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण बनाइदिन फागनु २२ गते महानरलाई पत्र पठाएको थियो। तर महानगरले गुरागाईंलाई काम गर्न दिन नसकिने भनेर सोही दिन नै मन्त्रालयलाई पत्र पठायो।
त्यसपछि महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषय रोकिएको छ।
बालेनसँग सरकारको प्रतिशोध

संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर मेयर बालेन साहमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ। मेयर बालेन र एमाले अध्यक्ष एवम् प्रधामन्त्री केपी शर्मा ओलीबीच बेलाबेला टकराव देखिँदै आएको छ।
एमाले र बालेनबीच टकरावले प्रमुख प्रशासकीय विवाद थप पेचिलो बनेको देखिन्छ। प्रधानमन्त्री एमाले अध्यक्ष ओली छन्। देशभर कर्मचारी व्यवस्थान गर्ने सामान्य प्रशासन मन्त्रालयमा एमालेकै राजकुमार गुप्ता छन्। उनीहरूले किन कर्मचारी पठाएका छैनन्? कुनै कारण बाहिर आएको छैन। यसले बालेनमाथि सरकारले प्रतिशोध साँधेको प्रष्ट देखिन्छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव प्रवक्ता कालीप्रसाद पराजुली महानगरमा कर्मचारी नपठाउनुको कुनै कारण नरहेको बताउँछन्। उनले मन्त्रालयले महानगरमा कर्मचारी पठाउनका लागि तयारी गरेको भए पनि मन्त्रीपरिषद्को विषय भएकाले अड्किएको बताए।
‘महानगरमा कर्मचारी नपठाउने कुनै कारण छैन। तयारी पनि भएको छ। तर कर्मचारी पठाउनका लागि मन्त्रीपरिषद्बाट निर्णय हुनुपर्ने भएकाले रोकिएको छ’, उनले देशसञ्चारसँग भने।
सरकारले चाहेमा कर्मचारी जतिबेला पनि पठाउन सक्छ। देशभरका अन्य पालिकामा प्रमुख प्रशासकीय अधिकृत पार्टी निकटकोसमेत नहुँदा सरुवा गर्न तयार हुने सरकार तीन महिनादेखि काठमाडौँ महानगरलाई अधिकारविहीन बनाइदिएको छ।
अराजक ‘मेयर’

बालेन्द्र साह (बालेन) एक नागरिकमात्र होइनन्, उनी सिङ्गो महानगरको अभिभावक हुन्। उनको लोकप्रियताले उनी सिङ्गो युवापुस्ताको आइडल पनि हुन्।
त्यही महानगरको अभिभावक, त्यही युवापुस्ताको आइडल बालेन भने बेलाबेलामा अराजकता देखाउँदै आएका छन्। वर्षदिन अघि सिंहदरबारमा आगोलगाइदिने अभिव्यक्ति दिएका उनै बालेनले सोमबार (चैत ११ गते) राति उस्तै अराजक अभिव्यक्ति दिए।
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उनले ‘सबैलाई टुकुचा खोलामा गाड्दिने’ बताए। उक्त अभिव्यक्ति मेयर बालेनकारुपमा नसुहाउने अभिव्यक्ति हो।
सरकारको दम्भले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब नपाएको भन्दै उनले भनेका थिए– ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु!’
कर्मचारीले सम्झाए बालेनलाई
काठमाडौँ महानगर र संघीय सरकारबीच टकरावलाई स्थानीय तह कर्मचारी युनियनले चासो देखाएका छन्। साथै कर्मचारीहरूले मेयर साहलाई सम्झाउँदै सामाजिक सञ्जालमा जुहारी नखेल्न पनि आग्रह गरेका छन्।
संघका अध्यक्ष नरबहादुर शाह नेतृत्वको टोलीले मंगलबार साहलाई ज्ञापनत्र बुझाउँदै महानगरमा नागरिकलाई सहजरुपमा सेवाप्रवाह गर्नसक्ने परिस्थिति निर्माण गर्न आग्रह गरेका छन्। संघले महानगर प्रशासनिक नेतृत्वविहीन भएको र यसले कार्यालयको दैनिक सेवा प्रभावित भएको, कर्मचारी र कामदारको तलब भत्ता एवं विकास निर्माणदेखि कार्यालय सामग्री खरिदको भुक्तानी रोकिएकोप्रति पनि चासो देखाएको छ।
संघले मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुँदा पनि सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु खेदजनक भएको बताएको छ। शासकीय प्रबन्धका विषयलाई जीत हार र स्वार्थसिद्धिको माध्यमका रूपमा लिइएकोमा आपत्ति जनाउँदै विवेकसम्मत निर्णयको आधारमा समस्या समाधानमा लाग्न माग समेत माग गरेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































