काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा कवि तथा संस्कृतिविद् तुलसी दिवसले आफ्नो ८ दशकभन्दा लामो जीवनका अनेकौँ पत्रहरूमात्र उक्काएनन्, आफूलाई मन परेका आफ्नै रचनाहरू पनि सुनाए।
जीवनमा कहिल्यै बिहे नगरेका तुलसी दिवसले जीवनकालमा आफ्नो धेरै जनासँग प्रेम रहेको पनि बताए। ‘त्यत्तिखेर लेखेका प्रेमपत्रहरू बाकसमा नभए पनि हृदयको बाकसमा भने सधैँ रहिरहँदो रहेछ,’ उनले भने।
२०३२ सालमै नेपाली लोककथाको संकलन निकालेका तुलसी दिवसले जिन्दगी ‘चाहेजस्तो’, ‘खोजेजस्तो’ र ‘इच्छा गरेजस्तो’ नहुने बताए। जिन्दगी योजनाभन्दा योजनाबिना नै अगाडि बढ्ने पनि उनले बताए। उनले आफ्नो जीवनबाट सिकेका र अनुभव गरेका अनेकौँ कथाहरूलाई सुन्दर शैलीमा देशसञ्चार चौतारीका क्रममा अभिव्यक्त पनि गरे। आफ्ना कतिपय सिकाइहरू उनले दार्शनिक रूपमा पनि देशसञ्चार सहकर्मीमाझ बाँडे।
उनले आफूले जहिले पनि कविता नलेख्ने र अहिलेसम्म पनि आफूले ४०/५० वर्षयता लेख्न चाहेको कविता लेख्न नसकेको बताए। इमान्दारी मानिसले पढ्नसक्ने सबैभन्दा ठूलो ज्ञान रहेको कवि दिवसले संवादका क्रममा बताए। ‘गल्ती लुकाउनै सकिँदैंन,’ उनले भने।
आशुकविलाई आफूले कविता भन्दा पनि बौलाहा भन्ने उनले बताए। जीवनका कतिपय विषयहरू हिसाबजसरी सरल नहुने पनि उनले बताए। जिन्दगी किताब पढेरभन्दा भोगेर बढी जानिने उनले संवादका क्रममा बताए।
भारतीय विख्यात कवि अमृता प्रितमसँग उनको नियमित पत्राचार हुने गरेको प्रसंग पनि उनले कोट्याए। कतिपयले अमृता र आफ्नो नाम पनि काट्ने उनले बताए। ‘उनी पनि मजस्तै अविवाहित थिए, हाम्रो भेटमा मानिसहरूले आँखा पनि लगाए, कुरा पनि काटे,’ उनले अन्तर्वार्ताका क्रममा बताए।
कवि तुलसी दिवस केही समय भारतमा ‘काउन्सिलर’ बनेर काम गरेका थिए। त्यस क्रममा आफूले भारतीय साहित्यकारहरूसँग गहिरो सम्बन्ध स्थापित गरेको पनि उनले बताए।
नेपालको सबैभन्दा कान्छो प्राज्ञ भनेर लोकसेवाको परीक्षामा प्रश्न बन्ने गरेका तुलसी दिवसले राजा महेन्द्र र राजा वीरेन्द्रलाई पनि उनीहरूकै आग्रहमा थुप्रै कविता सुनाएर स्मरण पनि देशसञ्चार चौतारीका क्रममा गरे।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ७३ जिल्ला घुमेर सांस्कृतिक सर्वेक्षण पनि गरेको उनले बताए। नेपालको विविधता र सांस्कृतिक फरकपना पनि उनले नेपाल घुमेका क्रममा भेटेका थिए।
अहिले पनि आफू कविता लेखिरहेको तर त्यो बेला लेख्ने कविता र अहिले लेख्ने कविता फरक रहेको उनले बताए। भलाकुसारीका क्रममा कवि तुलसी दिवसले उनले लेखेको कविता पनि सुनाएका थिए, देशसञ्चारकर्मीहरूमाझ।
पूरा भिडियो: