वीरगञ्ज- सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित १३ वटा निजी अस्पताल बन्द गर्न मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहसहितको टोलीले अनुगमनको क्रममा मापदण्ड बिपरीत सञ्चालनमा रहेका उक्त अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् ।
टोलीले १४ वटा अस्पतालको अनुगमन गरेकोमा १३ वटालाई बन्द गर्न र एउटालाई १५ दिन भित्र मापदण्ड पूरा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुगमन गराएर सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

‘सिरहाको मिर्चैयामा १४ वटा निजी स्वास्थ्य संस्था अनुगमन गरिएको हो । जसमध्ये १३ वटालाई बन्द गर्ने र मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिन भित्र मापदण्ड पूरा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुगमन गराएर सञ्चालन गर्न निर्देशन दिएको छु’, उनले भने ।
मुख्यमन्त्री सिँहको अनुगमन टोली आएको जानकारी पाएपछि अनुमति बिना सञ्चालनमा रहेका स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू बिरामी छाडेर फरार भएका थिए ।
अनुगमनका क्रममा सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र उनीहरूका कुरुवालाई अस्पतालभित्र छाडेर बाहिरबाट सटर बन्द गरी फरार भएका थिए।

अनुगमनको क्रममा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनिक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होमलाई बन्द गराइएको हो ।
यस्तै मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिकलाई पनि बन्द गराइएको थियो ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































