
काठमाडौँ– ‘अब एयरपोर्ट कब्जा गर्नुपर्छ। एयरपोर्टको जाली तोडेर भित्र छिर्नुपर्छ’, चैत्र १५ गते राजसंस्थापधरले तीनकुनेमा गरेको आन्दोलनका समयमा फेसबुक पेजबाट लाइभ गर्दै भनिँदै थियो।
नभन्दै केही समयपछि त्रिभुवन विमानस्थबाहिर आगजनी गरियो। आगलागी हुँदा एयरपोर्ट बाहिरको घाँसे क्षेत्र जल्यो। भित्र जल्नबाट सुरक्षा संयन्त्रले बचायो।
आगलागीपछि नियन्त्रणमा नआउँदासम्म त्रिभुवन विमास्थल करिब एक घण्टा प्रभावित बन्यो। आगलागीबाट सिनामंगलमा रहेको हवाइ इन्धन डिपो जल्नबाट बचेको थियो।
डिपोमा आगलागी भएको भए? संसद्मा समेत चिन्ता व्यक्त भएको छ। सोमबार (चैत १८ गते)को संसद् बैठकमा जसपाका सांसद राजकिशोर यादवले चिन्ता व्यक्त गर्दै भने– ‘त्यो डिपोमा आगलागी भएको भए? ब्लाष्ट भएको भए? आज हामी कहाँ हुने थियौँ?’
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा एयरपोर्ट कब्जा गर्नुपर्छ भन्दै फेसबुक पेजबाट लाइभ हुँदै गर्दा दिनको ४ बजेको थियो। त्यसपछि केही समयमै आगलागी सुरु भएको थियो।
यतिबेलासम्म तीनकुनेमा प्रदर्शन भड्किसकेको थियो। लाठीचार्जबाट सुरु गर्दै प्रहरी कारबाहीलाई हवाई फायरसम्म पुर्याइसकेको थियो। प्रदर्शनकारीले घरमा तोडफोड, आगजनी सुरु गरिरहेका थिए।
प्रहरीसँगको झडपपछि तितरवितर भएको भीडलाई आस्वस्त पार्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र (हिरासतमा रहेका)ले फेसबुक पेजबाट लाइभ गर्दै आन्दोलन रोकिएको छैन भन्ने सन्देश दिइरहेका थिए।
‘के हेरिरा, यता आउनुस्। यता आउनुस्’, उनले समर्थकलाई भनिरहेको लाइभमै सुनिरहेको थियो। भीड प्रहरीसँग भड्किएपछि पार्टी कार्यालय, मिडिया हाउस, सवारी सधानमाथि आक्रममा उत्रिएको थियो। त्यही भीडले भाटभटेनीमा पनि लुटपाट सुरू गरेको थियो।
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १२८ जना घाइते भएका थिए। घाइतेमध्ये १३ जनाको अप्रेसन (शल्यक्रिया) गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदर्शनकारीले तीनकुनेको एक घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। अर्का एक जना सविन महर्जनको प्रहरीको गोली लागी मृत्यु भएको थियो।
तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४१ जनामाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
आन्दोलन भड्कनुको कारण के?
शान्तिपूर्ण हुने भनिएको आन्दोलन कसरी हिंसात्मक भयो? स्वतन्त्र छानबिन भइसकेको छैन। तर अहिले सरकारपक्ष र आन्दोलनपक्षले एकलेअर्को पक्षलाई आरोप लगाइरहेका छन्।
आन्दोलनरत पक्षले प्रहरी दमनका कारण हिंसा भड्किएको सरकारमाथि आरोप लगाएको छ भने प्रहरीले भने आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि बल प्रयोग गर्नु परेको बताएको छ।
आन्दोलनको स्वामित्व लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीले कार्यक्रमस्थलमै अश्रुग्यास प्रहार गर्दा, घरमाथिबाट लुकेर प्रदर्शनलाई भड्काउने काम गरेको भनिसकेको छ।
आन्दोलनको आयोजना गरेको राजसंस्था पुनर्स्थानाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि प्रहरीले कार्यक्रम बिथोल्ने गरी आफूहरूमाथि दमन गरेको भनेका छन्। पहिला प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक भएको उनले बताएका छन्।
तर प्रहरीले त्यो सुवेदीको कुरा मान्न तयार छैन। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले प्रहरीले पहिले दमन गर्ने भन्ने कुरै नहुने बताए।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको उनले देशसञ्चारसँग बताए। ‘उहाँहरू (प्रदर्शनकारी)ले तीनकुनेमा कार्यक्रम गर्ने भनेर जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुभएको थियो’, उनले भने, ‘तर तीनकुनेमा कार्यक्रम नगरी सुरक्षा घेरा तोड्दै ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो।’
असक्षम नेतृत्व
तीनकुने प्रदर्शनमा जे भयो, अहिले विभिन्न कोणबाट व्याख्या भएको देखिएको छ। प्रदर्शनकारीले सरकारले दमन गरेको र सरकारले प्रदर्शनकारीहरूले प्रदर्शन गर्न छाडेर हिंसात्मक गतिविधि गरेको भन्दै आइरहेका छन्।
दुवै पक्षको दुई कुरा आइरहँदा यसको स्वतन्त्र पुष्टिका लागि छानबिन गर्नुपर्छ। तर यहाँ प्रदर्शनका क्रममा नेतृत्व चुकेको देखिन्छ। आन्दोलनको नेतृत्व गरेका नेतृत्वकर्ताले जसरी समर्थकलाई उक्साए, त्यसरी सम्हाल्न नसक्दा यस्ता घटना हुन पुग्यो।
जुन प्रदर्शनकारीले दमकल, प्रेस र मानवअधिकारकर्मीमाथि गरेको आक्रमणले पुष्टि गर्छ। एम्बुलेन्स, दमकल, प्रेस, मानवअधिरकारवादीमाथि आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीतसमेत हो।
त्यसदिनको आन्दोलनको नेतृत्व गर्ने जिम्मा जनकमाण्डरका रुपमा दुर्गा प्रसाईंले गरेका थिए। उनीहरूले नेतृत्व गरेको आन्दोलन हिंसात्मक बन्दा प्रदर्शनकारीले १४ ठाउँमा आगो लागाएका थिए। प्रहरीको जानकारीअनुसार नौ ठाउँमा तोडफोड र एक ठाउँ भाटभटेनीमा लुटिपाट गरेका थिए। १५ वटा गाडीमा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए।
प्रसाईं स्वयं निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीमाथिसमेत उनले गाडी हुँइकाएर लगेको देखिन्छ। यसले पनि आन्दोलनको नेतृत्व गरेको व्यक्ति कति असक्षम रहेछन् भन्ने बुझ्न कठिन छैन।
प्रदर्शनकारीभन्दा बढी सरकारी नेतृत्व चुक्यो
आन्दोलनरत नेतृत्वकर्ताले जसरी आन्दोलनलाई सम्हाल्न सक्नुपर्ने थियो त्यो भएन। तर त्यो भन्दा बढी कमजोरी सरकारको देखिन्छ।
कार्यक्रम गर्न स्थान तोकेर उनीहरूलाई नै सम्हाल्न नसक्नु सरकारको अर्को दोष हो। कुन ठाउँमा कति मान्छे आउँछन्? उनीहरूको तयारी कस्तो छ भन्ने थाहा नपाउनु सरकारी गुप्तचरको अर्को कमजोरी देखिन्छ।
नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘सरकारले कार्यक्रम गर्न अनुमति दिने तर त्यही सरकारले सुरक्षा दिन नसक्ने त सरकारको सबैभन्दा ठूलो कमजोरी हो।’
प्रहरीले घरमाथिबाट अश्रुग्यास प्रहार गरेर अर्को गल्ती गरेको देखिन्छ। प्रहरीले घरमाथिबाट अश्रुग्यास प्रहार गरेको विषयमा प्रहरीले केही भनेको छैन। ‘घरमाथिबाट अश्रुग्यास हानिएको विषय अझै थाहा भएको छैन। हामीले अनुसन्धान गरिरहेका छौँ’, काठमाडौँ प्रहरी परिसरका प्रवक्ता बोहराले भने।
तर राष्ट्रिय मानव अधिकार आयोगले निजी घरबाट अश्रुग्यास प्रहार भएको देखिएको बताइसकेको छ। ‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवाससमेत प्रयोग गरी अश्रुग्यास प्रहार गरेको देखिएको छ’, १५ गते नै विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ।
सिंह पनि प्रहरीले कसैको घरमाथिबाट अश्रुग्यास हान्न नपाउने बताउँछन्। ‘प्रहरीको शान्ति सुरक्षा दिने काम हो’, उनले भने, ‘कसरी नागरिकसँग सौहार्दपूर्ण वातावरणमा काम गर्ने त्यो जान्नुपर्छ। कसैको घरमाथिबाट अश्रुग्यास हान्न पाइँदैन। गोलीले हानेर नागरिक मार्न पाइँदैन।’
१५ गतेका दिन प्रहरी अधिकारीबीच समेत समन्वय कमजोर देखिएको थियो। फिल्डमै भएका एक प्रहरी अधिकारीका अनुसार कम्युनिकेसन (सञ्चार)मा समस्या देखिएकाले पनि कतिपय घटना नहुनुपर्नेमा भएको हो।
एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको प्रहरीले समयमै उद्धार नगर्दा उनको जलेर मृत्यु भएको प्रहरीमाथि आरोप छ। फिल्डमै भएका प्रहरी अधिकारीलाई आगलागी भइरहेको समयमा भित्र मान्छे भएको र उद्धार गरिदिन आग्रह गरिए पनि वास्ता नगरेको पाइएको छ।
यस्तै, अर्का सविन महर्जनमाथि आन्दोलन सामान्य अवस्था रहेको समयमा गोली प्रहार भएको बताइएको छ।
पूर्व एआइजी सिंह तीनकुने घटनामा सरकारलाई दोषी देख्छन्। उनले यो घटना सामान्य नरहेको भन्दै छानबिन गर्नका लागि आयोग बनाउनुपर्ने बताए।