झापा- सेवा क्यानडा इन्टरनेशनल एण्ड सेवाले झापाको कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच सेवा क्यानडाले स्वास्थ्य केन्द्रलाई उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।
कार्यक्रममा दाता संस्थाका केन्द्रीय अध्यक्ष छिवाङ कर्मा, झापा जिल्ला संयोजक पुनम सिंह राजवंशी, जिल्ला कार्यसमिति सदस्य हरिस गणेश, केन्द्रीय महासचिव सागर पनेरु लगायतले स्वास्थ्य केन्द्रलाई प्लान्ट हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी तथा कार्यक्रम अध्यक्षता व्यवस्थापन समिति अध्यक्ष रोमसोम राजवंशीले गरेका थिए ।
स्वास्थ्य केन्द्र अध्यक्ष राजवंशीले सेवा क्यानडाको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यस अक्सिजन प्लान्टले बिरामीहरूको उपचारमा महत्वपूर्ण टेवा पुग्नेछ । विगतमा अक्सिजन अभावका कारण धेरै कठिनाइ भोगेका थियौं । अब यो सुविधा पाएपछि उपचार सहज हुने विश्वास लिएका छौं ।”
गाउँपालिका अध्यक्ष राजवंशीले भने, “कोरोना महामारीको समयमा नै अक्सिजन प्लान्ट ल्याइएको भए पनि आवश्यक पूर्वाधार अभावले सञ्चालनमा ढिलाइ भएको थियो । अहिले संरचना तयार भएपछि प्लान्ट सञ्चालनमा आउन लागेको छ, जसले स्थानीय बिरामीहरूलाई सहज सेवा उपलब्ध गराउनेछ ।”
सेवा क्यानडा इन्टरनेशनलले नेपालका विभिन्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक सामग्री तथा पूर्वाधार उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रति घण्टा २०० लिटर अक्सिजन उत्पादन क्षमता भएको प्लान्ट हस्तान्तरण गरिएको हो । प्लान्ट सञ्चालनमा आएपछि स्थानीय बिरामीहरूलाई बाहिरबाट अक्सिजन सिलिन्डर ल्याउनु पर्ने बाध्यता हट्नेछ ।
स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले सेवा क्यानडाको योगदानप्रति आभार व्यक्त गर्दै भने, “स्वास्थ्य सेवाको सुधारका लागि यस्ता सहयोगहरू महत्त्वपूर्ण छन् । आगामी दिनमा स्वास्थ्य केन्द्रलाई अझ सुदृढ बनाउन स्थानीय सरकार, गैरसरकारी संस्थाहरू र समुदायबीच सहकार्य आवश्यक छ ।”
कार्यक्रममा सेवा क्यानडाका प्रतिनिधिहरू, कचनकवल गाउँपालिकाका पदाधिकारीहरू, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उपस्थिति थियो । उपस्थित अतिथिहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको सेवा क्यानडालाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरे ।
यसअघि संस्थाले केन्द्रलाई मिनी भेन्टिलेटर, पोर्टेबल युएसजी लगायतका अन्य स्वास्थ्य सामग्रीसमेत प्रदान गरिसकेको छ ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































