
पोखरा –पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक कार्यक्रम हुने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन्।
कार्यक्रममा न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्रसमेत प्रदर्शन गरिनेछ।
२०४६ मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण भई सांगीतिक क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बालपन सम्झँदै पत्रकार सम्मेलनमा भने, ‘मैले किताबमा पढेका कुरालाई गीत बनाइहाल्थेँ !’
उनले बलभद्र कुँवरको वीरतामाथि लेखेको गीत गाएरै सुनाए। सँगै, उनले फ्रान्सेली राजा लुई १४ओैँ माथी तयार पारेको गीत पनि सुनाए।
न्यौपानेका सररर पानीघट्टमा, पूर्वैमा झ्याल राखे, रुन्छ नि मन किन रुँदैन जस्ता गीत चर्चित छन्। पोखरामा हुने उक्त कार्यक्रम प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।