झापा- झापाको बिर्तामोडमा १८औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। बिर्तामोडको मुक्तिचोकबाट प्रभातफेरी निकालिएको थियो।
हनुमान सेन्ट्रलबाट सुरु भएको प्रभातफेरी वान स्टप मल हुँदै इलाका प्रहरी कार्यालयसम्म पुगेपछि पुनः हनुमान सेन्ट्रलमै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बिर्तामोडका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग वा अपाङ्गता नभई एउटा अवस्था भएको बताउँदै यसबारे समाजमा सकारात्मक सोच बनाउनुपर्नेमा जोड दिए।
उनले अटिजम भएका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। साथै, महेन्द्ररत्न माविमा अटिजम भएका बालबालिकाको अध्ययनका लागि विशेष व्यवस्था मिलाइएको जानकारी गराए
महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलले अटिजम भएका बालबालिकालाई सुधार गर्न अभिभावकको स्वीकार्यता पहिलो सर्त भएको बताए। उनले हाल विद्यालयमा २७ जना अटिजम भएका विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै भौतिक सुविधाका लागि सरकारसँग अपिल गरे।
कार्यक्रम आयोजक न्याय र विकासका लागि सामाजिक सञ्जाल तथा अटिजम केयर सोसाइटी झापाका अध्यक्ष कुमार चुडालले अटिजम भएका बालबालिकाका अभिभावकलाई एकीकृत गर्ने कार्य भइरहेको बताए। उनले अभिभावकलाई अटिजमका लक्षणबारे सचेत रहनु पर्ने र लक्षण देखिएमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरे।
कार्यक्रममा मनकामना कलेज, आदर्श स्कुल अफ होटल म्यानेजमेन्ट, करुणा फाउण्डेशन, किण्डर बेल प्रिस्कूल, आयु चाइल्ड केयर सेन्टरका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नेकपा माओवादी केन्द्र बिर्तामोडका उपाध्यक्ष रञ्जन धमला, सामाजिक अभियन्ता विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































