युवा लेखक पुरुषोत्तम बजगाईंकाे नविनतम् आख्यानात्मक पुस्तक ‘नीलो प्रेम’ सार्वजनिक भएकाे छ।
काठमाडौंमा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्रष्टा, समालोचक प्रा. डा. कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईं, लेखककी जीवनसाथी सुजाता चम्लागाईंलगायतले कृति विमोचन गरेका थिए।
‘नीलो प्रेम’ विशेषगरी किशोर–किशोरीका प्रेममा केन्द्रित जस्तो देखिए पनि यसमा सामाजिक, सांस्कृतिक, आर्थिक पक्षको समेत मिहीन ढंगले उजागर भएको समीक्षक घनेन्द्र ओझाले बताए। उनले ‘नीलो प्रेम’ आदर्श प्रेमको पक्षमा देखिएको भन्दै यो उपन्यास विषयका हिसाबले सबै उमेर समूहका पाठकका लागि उत्तिकै उपयुक्त रहेको सुनाए।
लेखक पुरुषोत्तम बजगाईंले आफूले देखे, सुनेका विषयलाई नै उपन्यासको रूप दिएको सुनाए। साहित्यकार राजुबाबु श्रेष्ठले आफूले कुनै समय अभिभावकत्व लिएका पुरुषोत्तमले यति सुन्दर कृति पढ्ने अवसर दिएकामा खुसी व्यक्त गरे।
प्रा. डा. कृष्णहरि बरालले उपन्यास लेखनका विविध सैद्धान्तिक पक्षको चर्चा गर्दै ‘नीलो प्रेम’ले उपन्यासका सीमा र मान्यतालाई आत्मसात् गरेको बताए।
उपन्यासलाई इन्डिगो इन्कले प्रकाशन गरेको हाे।

भर्खरै
लोकप्रिय






































































































































































































